करदातालाई उचित ढंगले कर तिर्न प्रेरित गरौं : अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2024 | 06:53:48 PM मा प्रकाशित

laxmi sunrise bank

अर्थमन्त्री वर्षमान पुन अनन्तले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन् ।

चालु आर्थिक वर्षको अन्तिम महिनामा राजस्व संकलन बढाउने उद्देश्यले कर र राजस्व प्रशासनसँग सम्बन्धित सिनियर कर्मचारीहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर उनले सामूहिक निर्देशन दिएका हुन् । ‘करदातालाई अनुचित ढंगले दबाब दिने होइन उचित ढंगले कर तिर्न प्रेरित गरौं’, उनले भने, ‘राज्य करदाताको अभिभावक पनि हो । ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।’ 

मन्त्री पुनले असल नियतले काम गर्ने करदाताका जायज गुनासा सुन्न र कानूनले मिलेसम्म सम्बोधन गर्न पनि अनुरोध गरे । तर, अनुचित र गलत प्रवृत्तिको संरक्षण गर्न नसकिने उनले स्पष्ट गरे । खराब प्रवृत्तिसँग राज्यले राज्यकै रुपमा प्रस्तुत हुनुपर्नेमा सचेत गराए ।

 ‘कडाई गर्नुपर्ने ठाउँमा कडाई र खुकुलो गर्नुपर्नेमा खुकुलो गर्नुपर्छ’, उनले भने, ‘राम्रा करदातासँग असल र मैत्रीपूर्ण व्यवहार गर्नुस् । कर छल्ने गलत प्रवृत्तिसँग भने राज्यले राज्यकै रुपमा प्रस्तुत हुनुपर्छ ।’ 

‘तपाईंहरु सबैलाई म भन्न चाहन्छु कि सेवाग्राहीका काममा ढिलासुस्ती नगरौं’, उनले भने, ‘आफू पनि सेवाग्राही भएर एकपटक सोच्नुस कि सेवाप्रवाहमा ढिला हुँदा कस्तो महसुस गर्नुहुन्छ ।’ 

फरक प्रसंगमा उनले चालु आर्थिक वर्षको बजेटमा श्रोतको अनुमान वस्तुवादी नभएकाले राजस्व संकलनको लक्ष्य भेटाउन कठिन रहेको औंल्याए । बजेटमार्फत निर्धारण गरिएका राजस्वसहित अन्य श्रोतहरुका अनुमान नमिल्दा आममानिसमा बजेटप्रतिको विश्वसनियता नरहने अवस्था आएकाले यसपटक सच्याउन खोजिएको बताए ।

‘विगतदेखि नै हाम्रो बजेट र श्रोतको अनुमान मिल्ने गरेको छैन । त्यसले बजेट निर्माणमै गम्भीर प्रश्न उठेको थियो’, उनले भने, ‘यसपटक हामीले मानिसहरुले पत्याउने गरी यथार्थपरक रुपमा बजेट र श्रोतको लक्ष्य निर्धारण गरेका छौं । बजेटको आकार र राजस्व संकलनको लक्ष्य वस्तुगत रुपले नजिक ल्याएका छौं ।’ 

मन्त्री पुनले चालु आर्थिक वर्षमा सरकार आफैंले निर्धारण गरेका लक्ष्यको एक चौथाई श्रोत पनि जुटाउन नसक्नु गम्भीर विषय भएकाले यसपटक सच्याउने प्रयास गरिएको स्पष्ट गरे । ‘अरुलाई ढाँट्न सकिन्छ । आफैंलाई ढाँट्न सकिँदैन । आर्थिक वर्ष सकिनै लाग्दा हामीमाथि सबैले प्रश्न गर्छन् । जवाफ दिन हामीले आफूलाई तयार राख्नैपर्छ ।’ 

त्यस क्रममा अर्थसचिव मधुकुमार मरासिनी र राजस्व सचिव डा. रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षको अन्तिम महिना असारमा बक्यौता असुलीलाई तीव्रता दिन निर्देशन दिए । उनीहरुले चालु आर्थिक वर्षको राजस्व संकलनको अन्तिम लक्ष्य भेट्न अधिकतम प्रयास गर्नुपर्ने बताए ।

गत वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार भएको अवस्थामा राजस्व संकलन सन्तोषजनक हुन नसक्नुको कारणबारे समीक्षा हुने सचिवद्वयको भनाइ थियो ।  कार्यक्रममा आन्तरिक राजस्व विभागका प्रमुख शिवलाल तिवारी र भन्सार विभाग प्रमुख ढुण्डीप्रसाद निरौलाले राजस्व संकलनको अवस्था, चुनौती र सम्भावनाबारे प्रस्तुति राखेका थिए ।

छलफलमा मन्त्रालयका विभागीय प्रमुखहरु दुवै विभागका महानिर्देशक, उपमहानिर्देशक र निर्देशकहरु, काठमाडौंस्थित कार्यालय प्रमुखहरु, कर र राजस्व प्रशासनका अधिकृतहरु उपस्थित थिए । उपत्यकाबाहिरका कार्यालय प्रमुखहरु भर्चुअल माध्यमबाट सहभागी थिए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved