आन्तरिक राजस्व विभागले राजस्व संकलनमा वृद्धि गरेको छ।
विभागले सार्वजनिक गरेको पछिल्लो केहि महिना यता राजस्व संकलनमा वृद्धि भएको हो ।
चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा आन्तरिक राजस्व विभागले कुल ४ खर्ब ४८ अर्ब राजस्व संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली ४ खर्ब ८ अर्ब रुपैयाँ थियो ।
गत वर्षभन्दा चालू आवको यो अवधिसम्म ४० अर्बले राजस्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए । आयकर (भाडा र व्याजसमेत) बाट २ खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धि कर (आन्तरिक) बाट १ खर्ब १२ अर्ब र अन्तःशुल्कबाट ९५ अर्ब संकलन भएको छ ।
महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट ८ अर्ब रुपैयाँ राजस्व उठेको छ । हालसम्म कुल लक्ष्यमा राजस्व असुली ७८.५ प्रतिशत रहेको विभागले बताएको छ । चालू आवकोअन्तिम महिना असार अन्तिमसम्म लक्ष्य भेट्ने गरी राजस्व संकलनमा तीव्रता दिने उनले बताए ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले राजस्व संकलनमा तीव्रता दिन निर्देशन दिएअनुसार विभाग सक्रिय भएको उनको भनाइ छ । गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा वृद्धि भए पनि सरकारले चालू आवमा निर्धारण गरेको महत्त्वाकांक्षी लक्ष्य भने भेट्न सकेको छैन ।
राजस्व संकलनमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको योगदान करिब ४० प्रतिशत छ । यो कार्यालयले १ खर्ब ७५ अर्ब राजस्व उठाएको छ । ठूला करदाता कार्यालयको लक्ष्य २ खर्ब ३८ अर्ब रुपैयाँ थियो । वार्षिक १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर उठाउँछ ।
१ अर्बभन्दा बढीको कारोबार गर्ने करदाता सङ्ख्या ५४५ छन् । कोरोना महामारीसहित विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व संकललनमा कमी आए पनि चालू आवको पछिल्लो अवधिमा अर्थतन्त्रमा आएको सुधारका कारण राजस्व संकलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउँछन् ।
यस्तै अन्त : शुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा सरकारले पूँजीगत खर्च बढाएका कारण पनि राजस्व संकलनमा सकारात्मक प्रभाव परेको उनले बताए ।
तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आव २०८०/०८१ मा समग्रमा ४३ प्रतिशतको महत्त्वाकांक्षी राजस्व वृद्धिको लक्ष्य निर्धारण गरेका थिए । कुल लक्ष्यमध्ये कर प्रशासनका प्रमुख दुई निकाय आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई ५०/५० प्रतिशत राजस्वको लक्ष्य दिइएको हुन्छ ।
लक्ष्यअनुसार राजस्व संकलन नभएपछि मध्यावधि समीक्षामार्फत डा महतले १२ खर्ब २ अर्बको लक्ष्य निर्धारण गरेका थिए । तर, आर्थिक वर्षको अन्तिम महिनासम्म लक्ष्यभन्दा धेरै कम अर्थात १० प्रतिशत हाराहारी मात्र राजस्व संकलन हुन सकेको छ ।अपेक्षित रूपमा राजस्व संकलन हुन नसक्दा बाह्य सूचकको तुलनामा मुलुकको अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन सकेको छैन ।