नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (एनपीएल) आठ प्रतिशतसम्म जान सक्ने बताएका छन् ।
साथै उनले ऋण तिर्दैनौं, तिर्नु हुँदैन जस्ता गलत अभियान चल्दा पनि सरकारले सुनेको नसुन्यै गरेको बताए ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले केही प्राविधिक कारणका बीच गलत अभियानले पनि बैंकहरुको लगानी उठ्न कठिनाइ भएको बताए ।
उनले भने, ‘बैंकहरुको लगानी उठ्न नसक्नुमा सरकार पनि जिम्मेवार छ । ऋण तिर्दैनौं, तिर्न हुँदैन जस्ता गलत अभियान चल्दै गर्दा सरकारले सुनेको नसुन्यै गर्यो । यसले गलत मनसाय बोकेका र ऋण तिर्न नपरे हुन्थ्यो भन्नेहरूलाई आत्मबल मिल्यो । कतै ऋण मिनाहा हुन्छ कि तिर्न पर्दैन कि भन्ने मनोभावले पनि काम गरेको देखिन्छ ।’
दुई वटा अन्तरराष्ट्रिय विमानस्थल बन्दैगर्दा पोखरा र भैरहवा क्षेत्रका होटलहरुमा ठूलो लगानी गर्दा पनि बैङ्कहरूको पैसा फसेको उनको भनाइ थियो । साथै उनले हाल बैंक तथा वित्तीय संस्थाको औसत एनपीएल दर ४ प्रतिशत हाराहारी रहेकोमा अझ केही बढेर ७९८ प्रतिशतसम्म पुग्न सक्ने खतरा रहेको बताए ।
हाल श्रीलंकाको एनपीएल दर १३ प्रतिशत रहेकोको आधारमा यसलाई नेपालले मध्यम मान्नुपर्ने पनि उनले बताए ।