जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं : सरोकारवालाहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 01:06:13 PM मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरूले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनका लागि हातेमालो गर्नु पर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा सरोकारवालाहरूले अब सबैको हातेमालो र समन्वयले मात्रै वित्तिीय क्षेत्रको जोखिमपूर्ण सम्पत्ति व्यवस्थापन हुन सक्ने धारणा राखेका हुन् ।

उक्त अवसरमा अर्थमन्त्रालयका सहसचिव नारायण प्रसाद रिजालले वित्तीय क्षेत्र सुधारका लागि सबै निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले अर्थमन्त्रालयले वित्तीय सुधार रणनीति बनाएर अगाडि बढ्न तयारी गरेको बताउँदै त्यसमा लागि सल्लाह सुझाव दिन पनि आग्रह गरे । 

उनले बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह भएको कर्जा कुन क्षेत्रमा प्रयोग भएको छ भन्ने विषयको प्रभावकारी नियमन नहुँदा पनि समस्या सृजना भएको धारणा राखे ।

‘अहिले देखिएको समस्या तत्कालको मात्रै होइन, वर्षौंअघिका कर्जा डिफल्ट छन्, जुन प्रयोजनमा कर्जा लिएको छ सोहि प्रयोजनमा प्रयोग भएको छ कि छैन भनेर समीक्षा गर्न आवश्यक छ, नियामकले पनि नियमन कति प्रभावकारी भयो भन्ने विषयमा आत्मसमीक्षा गर्न आवश्यक छ’, उनले भने ।

यस्तै, उनले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको रकम निकासा प्रक्रियामा रहेको पनि जानकारी दिए । सृजना भइसकेको दायित्व सरकारले चाँडै भुक्तानी गर्ने उनले प्रतिवद्धता गरे । उनले बैंकको ऋण तिर्दिनँ भन्ने व्यक्ति तथा समूहलाई पनि कानूनी कारवाहीमा ल्याउनु पर्ने बताए । ‘प्रणालीलाई नै असर गर्ने गरी ऋणीलाई भड्काउने काम गर्नु हुँदैन । नियतवस बैंकको ऋण तिर्दिनँ भन्नेलाई कानूनी कारवाहीमा ल्याउनु पर्छ’ उनले भने ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पनि अहिले खराब कर्जाको स्थिति देखेर डराउनु पर्ने अवस्था नरहेको धारणा राखे । राष्ट्र बैंकको बैंक तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख समेत रहेका पौडेलले अहिले निर्माण तथा उद्योग क्षेत्रमा नकारात्मक वृद्धिदर रहेकोले बैंकिङ क्षेत्रमा पनि असर परेको र त्यस क्षेत्रमा सुधार आउने वित्तिकै बैंकिङ क्षेत्र पनि चलायमान हुने धारणा राखे ।

उनले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेकै हो भने अतिरिक्त पूँजीको गृहकार्य गर्न सकिने व्यवस्था रहेको पनि सुनाए । उनले ऋणपत्र जारी गरेर पनि पूँजी कोषमा सहजता ल्याउन सकिने बताए । अर्थतन्त्रमा देखिएको चुनौती सम्बोधन गर्नका लागि सबै ठाउँबाट पहल हुन सकेमा समस्याको समाधान गर्न  सकिो धारणा उनले राखे ।

त्यसैगरी, नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बढ्दै गएको खराब कर्जाले अर्थतन्त्रमा ठूलो समस्या सृजना गरिरहेको बताए ।‘राष्ट्र बैंकले ५ प्रतिशतभन्दा कम हुनु पर्ने व्यवस्थाले बैंकरलाई दबाब छ, बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा बढी हुन सक्छ’ उनले भने, ‘खराब कर्जा अझै पनि बढ्न सक्छ, यसले अर्थतन्त्रमा धेरै असर गर्छ ।’ 

उनले इक्विटीभन्दा पनि रिजर्व बढाउनतर्फ बैंकले ध्यान दिनु पर्ने बताए । यस्तै, पूर्व बैंकर तथा अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले औपचारिक प्रणालीबाट अर्थतन्त्र चलिरहेको छ भन्ने कुरामा आफू आशंकित भएको धारणा राखे । ऋणीले ऋण लिने बेला सबै कागजात नपढ्दा पनि समस्या भइरहेको सृजना भइरहेको उनले अनुभव सुनाए ।

उनले बैंकको बोर्ड र व्यवस्थापन बीच प्रोफेसनल सम्बन्ध नहुनु पनि अर्को समस्या रहेको सुनाए । बैंकका सञ्चालकहरू व्यवस्थापकहरुमा निर्भर हुँदा पनि केही समस्याहरू देखा परेको बताए ।  नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले पनि स्थिर विनिमय दरले मौद्रिक नीतिले गर्ने कमजोरीलाई रोकेको सुनाए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved