उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएकाले सरकारले हस्तक्षेप नगर्ने बताएका छन् ।
मंगलबार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) कार्यसमितिसँगको अन्तक्रियाको क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । ‘सरकारका नीति र वित्त नीतिको गति अनुसार मौद्रिक नीति ल्याउनेमा केन्द्रीय बैंक सचेत रहन्छ भन्नेमा हामी स्पष्ट छौं’, पौडेलले भने, ‘सरकारको लक्ष्यअनुसार नै मौद्रिक नीति आउने भएकाले हस्तक्षेप गर्नै पर्दैन ।’
अहिले अर्थतन्त्रका केही सूचक सकारात्मक रहेको र केही नकारात्मक रहेको उनले बताए । ‘नकारात्मक सूचकलाई सकारात्मक बनाउन र उत्पादन तथा उत्पादकत्व बढाउन बैंकिङ क्षेत्रमा रहेको अधिक तरलताको उच्च उपयोग गर्ने सरकारको तयारी छ’ अर्थमन्त्री पौडेलले भने ।
अहिले राजस्व परिचालन चुनौतीपूर्ण अवस्थामा रहेको उनको भनाइ छ । ‘लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन’ उनले भने, ‘राजस्व भनेको उत्पादन, उत्पादकत्व र निजी क्षेत्रको मनोबलसँग जोडिएको कुरा हो, सरकारले गर्नुपर्ने धेरै काम छन्, हामी सचेततापूर्वक अघि बढ्छौं ।’
शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको उनको भनाइ छ । ‘अहिले माग घटेको अवस्था छ, माग नबढ्दा निजी क्षेत्रले उत्पादन बढाउन सकेको छैन’ उनले भने, ‘विगतमा अनुकूल अवस्थामा उद्योगी व्यवसायीले लगानी बढाए, उनीहरुको एक खालको प्रक्षेपण थियो, नाफा कमाउँछु, कर तिर्छु भनेर अगाडि बढे तर लगातार माग घट्दा साँवा ब्याजसमेत तिर्न नसक्ने जोखिम भयो ।’