विश्व व्यापारमा नेपालको हिस्सा अत्यन्त नाजुक रहेको छ ।
नेपालले अन्तरराष्ट्रिय व्यापारबाट लाभ लिनका लागि विश्व व्यापार सङ्गठन (डब्लूटीओ) को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अपेक्षित लाभ लिन भने सकेको छैन ।नेपाल डब्लूटीओमा सन् २००४ मा १४७ औं सदस्य बनेको हो।
विश्व व्यापारमा नेपालको हिस्सा नगण्य रहेको पाइएको छ । अन्तरराष्ट्रिय व्यापार केन्द्र (आईटीसी) को तथ्यांकले विश्व व्यापारमा नेपालको आयात–निर्यातको हिस्सा ०.१ प्रतिशतसमेत पुग्न नसकेको देखाएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा आईटीसीको तथ्यांक विश्लेषण गर्दै विश्व व्यापारमा नेपालको स्थान निकै तल रहेको देखाएको छ । जसअनुसार सन् २०२३ मा विश्वको कुल निर्यात व्यापारमा नेपालको हिस्सा ०.००५ प्रतिशत छ । त्यस्तै, विश्व व्यापारको कुल आयातमा नेपालको हिस्सा ०.०४३ प्रतिशत छ ।
कार्यालयका अनुसार आईटीसीले विश्व व्यापारमा देशीय स्थानसमेत विश्लेषण गर्ने गरेको छ । जसअनुसार सन् २०२३ मा विश्वको कुल निर्यात व्यापारमा नेपाल १५३औं स्थानमा छ । त्यस्तै, विश्व व्यापारको कुल आयातमा नेपाल ११४औं स्थानमा छ ।
केन्द्रका अनुसार नेपालबाट विदेशी मुलुकमा फलाम तथा फलामका उत्पादनहरू, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामानहरू निर्यात् हुने गर्दछन् । यसका अतिरिक्त उनी फेल्टका उत्पादन, पामतेल, चिया, पस्मिना सल, कुकुर बिरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन पनि निर्यात हुने गर्दछन् ।
विश्व बजारमा नेपालको व्यापारमा पहुँच हुन नसक्दा र आयातमुखी व्यवसाय बढ्दो क्रममा रहेकाले व्यापार घाटा बढ्दो क्रममा छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ थियो ।
नेपालले १७० मुलुकसँग व्यापार गर्दै आएको छ । सबैभन्दा धेरै व्यापार भारतसँग हुन्छ ।निर्यात सम्भाव्यता भएका राष्ट्रसँग द्धिपक्षीय व्यापार तथा लगानी सम्झौता गर्न सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था लगायत सरोकारवालाको सहभागितालाई अर्थपूर्ण बनाउन जरुरी रहेको अर्थविदहरु बताउँछन् ।