नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ सरकार बनेपछि बजारको चहलपहल ह्वात्तै बढेको बताएका छन्। शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा राख्दा एकाएक निजी क्षेत्रमा देखिएको उत्साहमा ब्रेक लाग्ने बताए ।
उनले भने, ‘यस्तो गल्ती नगरियोस, निजी क्षेत्रलाई कस्ने तर्साउने गर्दा प्राप्त उपलब्धि पनि गुम्ने खतरा हुन सक्छ।’
उनले अगाढि भने, ‘लचिलो मौद्रिक नीतिले अलिकति सुधार ल्याउँदा निजी क्षेत्रलाई नै उत्साहित बनाइदिएको छ, दिगो आर्थिक विकास हासिल गर्न यो एउटा खुड्किलो हुन सक्छ।’
नेपालमा सम्भावना छैन भन्ने भास्य बनाउन खोजिएको भन्दै उनले नेपालमा केही हुँदैन भन्ने भास्यलाई सबैले समयमै चिरेर अगाडि बढ्नु पर्ने पनि बताए ।
त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सर्वसाधारण लगानीकर्ताको लगानीलाई प्रोत्साहन गर्ने जिम्मेवारी राज्य भएको त्यसको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताए।
उनले भने,‘ऐन नियम बनाउने भनेको नियमन गर्ने हो, नियन्त्रण गर्ने प्रयास गरिएको छ,पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भित्र उद्योगीलाई जबर्जस्त हुल्ने प्रयास गरिएको छ, यसले भोलिको दिनमा व्यवसायलार्य कहाँ पुर्याउँछ भन्ने टुंगो छैन।’
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले चार वर्षदेखि अर्थतन्त्र शिथिल रहेको अवस्थामा नयाँ आर्थिक वर्षमा पूँजीबजारले नयाँ इतिहास रचेको तथा आर्थिक सुधार पनि हुँदै गएको संकेत गरेको बताए ।
उनले भने, ‘अहिले एक महिनामै शेयर बजारबाट ५ अर्ब रुपैयाँ राजस्व बढेको छ, यो एउटा सानो उत्साह हो,त्यसलाई रोक्ने छेक्ने काम नहोस् ,निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्दा मात्र अर्थतन्त्रमा सुधार आउँछ।’
यस्तै, नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भगिरथ सापकोटाले अहिले औद्योगिक क्षेत्रमा जुनखालको अन्योलता देखिएको छ, त्यसलाई चिरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताए ।
साथै साना व्यवसायीलाई पनि साथमा लिएर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको भन्दै उनले थोरै शेयर बजार बढ्दा कोहि सडकमा कराउन थालेको त कोहि सदनमा कराउन थालेको बताए ।