अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार गठन भएलगत्तै नेपालको पूँजीबजार क्षेत्र उत्साहित भएको बताएका छन्।
नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले भने, ‘सरकार गठनको एक महिना भयो होला, पूँजीबजार उत्साहित भएको छ’, उनले भने, ‘घरजग्गा कारोबारमा सुधार देखिएको छ।’
मन्त्री पौडेलले सरकार गठनको यो छोटो अवधि अर्थतन्त्रमा सकारात्मक संकेत मिलेको पनि बताए। ‘राजस्व परिचालन सकारात्मक संकेत देखिएका छन्। राजस्व २० प्रतिशतले वृद्धि भएको छ’, उनले भने, ‘पूँजीगत खर्च नौ गुणाले बढेको छ।’मन्त्री पौडेलले नेकपा(एमाले) र नेपाली कांग्रेसको सहयात्रा आउँदो निर्वाचनसम्म हुने पनि बताए।
‘यो सरकारले राजनीतिक र नीतिगत स्थिरता कायम गर्छ। आर्थिक समस्या समाधान हुन्छ’, उनले भने, ‘देश बुझेको र देशको भविष्य बुझेको व्यक्तिले सरकारको नेतृत्व गरेका छन्। बलियो सरकार, स्थिर नीति र समक्ष नेतृत्व छ, यी तीन कुराले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।’
वर्तमान सरकारले सबै प्रकारका निराश अन्त्य गर्ने मन्त्री पौडेलको भनाइ थियो। ‘सबैमा आशा र विश्वास जगाउने सरकारको प्राथमिकता छ’, उनले भने, ‘निजी क्षेत्रमा निराशा र चिन्ता छ, त्यसलाई पनि चिर्न चाहन्छौं । हाम्रा समस्या समाधान हुन्छन्। निजी क्षेत्र गतिशील ढंगले अगाडि बढ्छ।’
मौद्रिक नीतिले लिएको सकारात्मक व्यवस्थाको प्रभाव अर्थतन्त्रमा परिरहेको पनि मन्त्री पौडेलले बताए।