नेपाली युवा उद्यमी मञ्चले ७ औं राष्ट्रिय नेतृत्व सम्मेलन आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए।
कार्यक्रममा सांसद वासुदेव घिमिरे, तुलसी चौधरी, तिलोत्तमाका मेयर रामकृष्ण खांड, नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) का सदस्यहरू, लुम्बिनी प्रदेश एफएनसीसीआई अध्यक्ष तथा विभिन्न संघसंस्थाका अध्यक्ष, सरकारी अधिकारी, कर्पोरेट तथा प्रतिष्ठित उद्योगी तथा व्यक्तित्वहरुको उपस्थिति थियो।
नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाका अध्यक्ष ऋषव ओझाको अध्यक्षता र विशिष्ट अतिथि र नेपाली युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशल सुन्दर श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पोखरा च्याप्टरलाई सबैभन्दा बढी सहभागी भएको र काठमाडौं च्याप्टरका सन्दीप शर्मालाई पहिलो दर्ता गर्ने व्यक्तिको रुपमा सम्मान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा राष्ट्रिय दोस्रो उपाध्यक्ष निविता प्रधानले धन्यवाद ज्ञापन गरेका थिए भने रुपन्देही च्याप्टरका दोस्रो उपाध्यक्ष तथा कार्यक्रम संयोजक अनिशक सौधनले समापन मन्तव्य दिएका थिए । कार्यक्रममा देशभरका १४ वटा शाखाका १२० कार्यकारी समिति सदस्यहरूले भाग लिएको आयोजकले बताएको छ ।