देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल आयातमा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शतप्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट ४६ करोड ७७ लाख रुपैयाँका ३ हजार ५७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए । चालू आवको साउनमा भने ९४ करोड ४८ लाख रुपैयाँका ७ हजार १५० थान मोटरसाइकल आयात भएका थिए ।
उक्त कार्यालयका अनुसार गत आर्थिक वर्षको साउन महिनामा २० करोड ६० लाख रुपैयाँका १२७ थान जिप र कार आयात भएका थिए भने चालू आवको सोही अवधिमा १४ करोड ४४ लाख रुपैयाँको ७६ थान मात्र जिप र कार आयात गरिएको छ ।
भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छूट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए ।
गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । चालू आवको सोही अवधिमा भने ८८ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको छ ।