दशैंको मुखमा भारतले दियो नेपालका खानेतेल व्यवसायीलाई खुसीको खबर !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2024 | 11:18:38 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले करिब तीन वर्षपछि खानेतेलको आयातमा भन्सार महसुल बढाउने निर्णय गरेपछि नेपालका व्यवसायीमा खुसीयाली छाएको छ।

भारतले शुक्रबारदेखि लागू हुनेगरी तेलको आयातमा भन्सार महशुल बढाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

भारतले अर्धप्रशोधित पाम, सोयाबिन र सूर्यमुखी तेलको आयातमा भन्सार महशुल शून्यबाट २० प्रतिशत पुरयाएको छ। अर्धप्रशोधितमा कृषि पूर्वाधार शुल्क पनि लाग्ने भएकाले अब यस्तो तेल आयातमा भारतले २७.५ प्रतिशत भन्सार महसुल उठाउने छ। त्यस्तै प्रशोधितमा १२.५ प्रतिशतले बढाएर ३२.५ प्रतिशत पुरयाइएको छ ।

भारतले प्रशोधित तेलको आयातमा भन्सार शुल्क बढाए पनि नेपाली उद्योगले  दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता(साफ्टा) को नीतिअनुसार शून्य भन्सारमा खानेतेल भारत निकासी गर्न पाउँछन्। 

नेपालका उद्योगहरुले तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्र्याएर प्रशोधन गरि भारत निकासी गर्दै आएका छन्। नेपालका उद्योगहरुले राम्रो परिमाणमा भारतमा तेल निर्यात गरेपनि सन् २०२१ को सेप्टेम्बरमा भारतले तेल आयातमा लाग्ने भन्सार शून्य बनाएपछि नेपालको निर्यात क्रमश : घट्दै गएको थियो। 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार नेपालले आर्थिक वर्ष २०७७/०७८ मा ५३ अर्ब ६५ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात गरेको थियो भने २ अर्ब २४ करोडको सूर्यमुखी तेल निर्यात गरेको थियो। त्यस्तै २०७८/०७९ मा ४८ अर्बको भटमासको तेल र ४१ अर्बको पाम तेल निर्यात भएको थियो।  तर अघिल्लो वर्ष २०७९/८० मा आइपुग्दा पाम तेलको निर्यात ६ अर्ब र भटमासको ९० करोडमा सीमित भएको थियो। 

नेपाली उद्योगले युक्रेन, इन्डोनेशिया र मलेशियाबाट अर्धप्रशोधित सूर्यमुखी, भटमास, पाम आयल नेपाल भित्र्याएर त्यसलाई प्रशोधित गरेर नेपालको माग पूर्तिसँगै भारत निर्यात गर्दै आएका छन्।  अर्धप्रशोधित तेल आयात गर्दा नेपालमा १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर(भ्याट) तिर्नुपर्ने हुन्छ।

तर निर्यात गर्दा निर्यात बापत तिरेको पैसा उद्योगले फिर्ता पाउने हुँदा ५ प्रतिशत वस्तु तथा सेवा कर मात्रै तिरे पुग्ने भएकाले भारतले आयातमा भन्सार बढाउँदा त्यसको प्रत्यक्ष लाभ नेपाली उद्योगलाई हुँदै आएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved