प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बहुप्रतिक्षित 'बेल्ट एण्ड रोड इनिसीएटिभ' 'बीआरआई' मा हस्ताक्षर भएको छ। बीआरआई 'फेर्मवर्क' मा सहमती जुटेपछि समझदारीमा हस्ताक्षर सम्भव भएको हो।
बेइजिङमा फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवालले जानकारी दिए।
उनकाअनुसार बीआरआई फ्रेमवर्क नेपालको हकमा लागु गर्दा त्यो 'एड' अन्तर्गतको फ्रेमवर्कमा परियोजनालाई अगाडि बढाउने गरी दुई देशबीचमा सहमति भएको हो।
'एड' भन्ने बित्तिकै हामीले विकासको सहायता भनेर बुझ्ने जानकार बताउछन। यस प्रकारको विकासको सहायतामा त्यहाँ कहीँ पनि अप्ठ्यारा सर्त राखिएका वाणिज्यिक दर, बजार ब्याजदर राखिएका ऋणहरू चाहिँ नपर्ने जानकार बताउछन।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जानुअघि अन्तिम समयसम्म दुई सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच बीआरआई कार्यान्वयन फ्रेमवर्कबारे सहमति जुट्न सकेको थिएन। नेपाली कांग्रेसका नेताहरूले चीनसँग थप ऋण लिने कुरामा सहमत हुन नसकिने बताउँदै आएका थिए। त्यही विषयमा दुई दलहरू सहमत भएपछि चीनलाई त्यसबारे प्रस्ताव पठाइएको बताइएको थियो।
बिआरआई फ्रेमवर्क अन्तर्गत के कस्ता सहमति र सम्झौता भए भन्नेबारे सरकारबाट आधिकारिक धारणा बाहिर आएको छैन। तर एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा 'बीआरआई फ्रेमवर्क'अन्तर्गत कुनकुन परियोजना परेका छन् भनेर उल्लेख गरेका छन्।
उनका अनुसार यसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक परियोजना, किमाथाङ्का–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौँ सीमापार रेलमार्ग, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौँ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्यूजीअम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स रहेका छन्।
दुई देशका अधिकारीहरूबीच हस्ताक्षर भएको 'बीआरआई कोअपरेशन फ्रेमवर्क'मा उल्लिखित १० वटा परियोजनालाई प्राथमिकता दिने भनेर दस्ताबेजले परिभाषित गर्न खोजेको बताइएको छ।
नेपालका प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षी ली चियाङबीच मङ्गलवार बेइजिङमा वार्ता भएपछि उनीहरूको उपस्थितिमा दुई देशका अधिकारीहरूले आर्थिक सहकार्य, व्यापार प्रवर्धन र भौतिक संरचना निर्माणलगायतका विभिन्न नौ वटा सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
ती सहमति पत्रमा आर्थिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता, टोखा-छहरे सुरुङका लागि लेटर अफ एक्सचेन्ज, व्यापार प्रवर्धन सहकार्यसम्बन्धी समझदारीपत्र, नेपालबाट चीन निर्यातका लागि राँगाभैँसीको मासुको ‘थर्मल’ प्रशोधनका लागि आवश्यक तत्त्वसम्बन्धी प्रोटोकल सम्झौता, विकास योजना (सन् २०२४-२०२९) बारे समझदारीपत्र, रकम सहयोगसम्बन्धी लेटर अफ एक्सचेन्ज, वसन्तपुरस्थति नौतले दरबारको पुनर्निर्माण सम्पन्न भएको प्रमाणपत्र हस्तान्तरण, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र, सार्वजनिक प्रसारक नेपाल टेलिभिजन र चाइनिज मिडिया ग्रूपबीच समझदारीपत्र रहेका छन्।
यिनीहरूका शीर्षकमा 'बेल्ट एन्ड रोड इनिशटिभ' (बीआरआई) उल्लेख गरिएको थिएन। तर दुई देशले बुधवार गरेको बीआरआई कोअपरेशन फ्रेमवर्कभित्र यी माथिका केही परियोजना पनि उल्लेख छन्।