उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाब भएको भन्ने गलत प्रचार गरिएको बताएका छन् ।
आइतबार कला परिषद्मा आयोजित फोटो प्रदर्शनी अवलोकन पश्चात् सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरूमा कुनै सत्यता नभएको बताए । उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिन लायक समेत नभएको उल्लेख गरे । उनले गलत प्रचार गर्नेहरूले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानु बाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताए ।
उनले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको उल्लेख गरे । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएर सन् २०१६, २०१८ र २०२४ मा गरेको चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको जिकिर गरे । उनले भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको भन्दै त्यसले नेपालको दीर्घकालीन विकास सहयोग पुग्ने बताए ।
उनले भने ‘प्रधानमन्त्री र मेरोबिचमा दूरी बढेको भन्ने समाचारहरू प्रतिक्रिया दिन लायक होइनन् । यो विषयमा सच्याई सानो अंश पनि छैन । दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानु मात्रै हो । गलत समाचारले कसैलाई पनि फाइदा गर्दैन । प्रधानमन्त्रीको यस पटकको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको छ । सन २०१६,२०१८ र २०२४ को चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएका छन् । भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको छ । नेपालको दीर्घकालीन विकासको लागि प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण छ ।’
सञ्चारकर्मीहरूले गरेका मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारका काम सम्बन्धित प्रश्नमा अर्थमन्त्रीले अर्थतन्त्रमा रहेका समस्याका चाङलाई एक–एक गरी पन्छ्याउँदै अगाडि बढिरहेको बताए । उनले सरोकारवालाहरूसँग समन्वय र सुझावसहित सरकार अर्थतन्त्र सुधारमा लागेको बताए । उनले पछिल्लो चार महिनामा सरकारले केही उल्लेख्य कामहरु गरेको दाबी गरे ।
उनले नीतिगत रुपमा रहेका अन्योल र दुबिधालाई धेरै हदसम्म स्पष्ट गरेको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दा पछिल्लो समय अर्थतन्त्रले गति लिन थालेको बताए । उनले बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन सफल भएको पनि बताए । उनले गत वर्ष चार महिनाको अवधिमा ३ प्रतिशत मात्रै राजश्व वृद्धि रहेकोमा यो वर्ष चार महिनामा अहिले १७ प्रतिशतले राजश्व वृद्धि भएको बताए ।