नेपालले पछिल्लो आठ महिनामा ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले सोयाबिन र सूर्यमुखी तेल गरी ५५ अर्ब ९२ करोड रुपैयाँ बराबरको तेल निर्यात गरेको हो। विदेशी कच्चा पदार्थ आयात गरी मुलुकमै प्रशोधन गरेर निर्यात गर्नाले मूल्य अभिवृद्धि भएका कारण निर्यातको परिमाण उल्लेख्य रुपमा बढेको विभागले जनाएको छ।
नेपालले सो अवधिमा ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ बराबरको सोयाबिन तेल र ७ अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल निर्यात गरेको छ। यस्तै, पाँच अर्ब ८३ करोडको अलैंची र चार अर्ब ३२ करोडको कार्पेट पनि निर्यात भएका छन्।
यद्यपि, कुल वैदेशिक व्यापारमा नेपाल अझै ठूलो घाटामा रहेको देखिएको छ। चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले १३ खर्ब ३ अर्ब बराबरको व्यापार गर्दा ९ खर्ब ८७ अर्बको घाटा बेहोरेको छ। ११ खर्ब ४५ अर्बको वस्तु आयात गरिए पनि निर्यात भने एक खर्ब ५८ अर्ब रुपैयाँमा सीमित भएको छ।
विशेषगरी भारतसँगको व्यापार घाटा उच्च छ। आठ महिनामा भारतबाट ६ खर्ब ८८ अर्बको आयात हुँदा मात्र १ खर्ब २५ अर्बको निर्यात भएको छ। चीनसँगको व्यापार घाटा पनि २१ अर्ब ७० करोड पुगेको छ। अर्जेन्टिना, युक्रेन, युएई, अस्ट्रेलिया लगायत मुलुकहरुसँग पनि घाटा कायम छ भने अफगानिस्तान, डेनमार्क, रसिया, माल्दिभ्स जस्ता ३४ मुलुकसँग भने नेपाल नाफामा रहेको छ।
त्यस्तै, सो अवधिमा नेपालले ७८ अर्बको डिजेल, ४२ अर्बको पेट्रोल, ४१ अर्बको एलपी ग्यास र २१ अर्ब ९१ करोड बराबरको १४ लाख स्मार्टफोन आयात गरेको छ।