न पैसा आउने, न सेयर पाईने, लकडाउनमा नाममात्रैको लागि सेयरबजार कसका लागि खुलाउने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 26, 2020 | 07:17:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले शेयर कारोबार सुचारु राख्नु पर्ने आशयको एउटा निर्णय गरेसँगै लकडाउनमा सेयर कारोबार कति सम्भव छ भन्नेबारे जनचाँसो बढेको छ। अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा बसेको बैठकले लकडाउनको बेला पनि धितोपत्र सहितका विभिन्न सेवालाई निरन्तरता दिन गरेको निर्णयले बित्त तथा पुँजीबजार वृत्तमा बहस सुरु भएको छ। 

अनलाइन कारोबार प्रणालीमा घरमै बसेर सेयर कारोबार गर्न सकिन्छ भन्ने बुझाईले अर्थमन्त्री खतिवडाबाट यस्तो निर्णय भएको  हुनसक्ने धेरैको बुझाई छ। अनलाइन कारोबार प्रणालीबारे अर्थमन्त्री खतिवडालाई गलत ब्रिफिङ भएकाले सेयरबजार खुला राख्ने निर्णय भएको हुनसक्ने धेरैको अनुमान छ। तर घरमै बसेर अनलाइनबाट कारोबार गर्न सम्भव छ तर सेटलमेन्ट गर्न असम्भव छ।  

यो भनेको बैंकको काउन्टर खुला रहने तर चेक नै नसाटिने अवस्था जस्तै हो। अहिले लकडाउन जस्तो विषम परिस्तिथिमा सेयर कारोबार खुला रहँदा सेयर बेच्नेले पैसा नपाउने, किन्नेले सेयर नपाउने अवस्था हुने निश्चित छ।  

आजको दिनमा अनलाइन कारोबारको अवस्थालाई हेर्ने हो भने सामान्य समयमा हुने सेयर कारोबारको लागि ब्रोकरको कार्यलय पुग्नुको बिकल्प छैन। यदि अर्थमन्त्रालयको निर्णय मानेर सेयर कारोबार खुला गरियो भने कोरोनाबाट बच्न गरिएको लकडाउनमा  सेयरका लगानीकर्ता, ब्रोकरका कर्मचारी, मर्चेन्ट बैंकरका कर्मचारी, सिडीएस, नेप्से, धितोपत्र बोर्ड, आरटिएस लगायतका कार्यलयमा काम गर्ने कर्मचारी शारीरिक रुपमै कार्यलय उपस्तिथी हुनुको विकल्प छैन। 

अनलाइनबाट खरिद र बिक्रि आदेश मात्र हुने अवस्था छ। सेयर खरिद गर्नेले खरिद आदेश दिएपछि त्यसको सेटलमेन्ट हुनलाई उसले आफुले खरिद गरेको सेयर बराबरको भुक्तानी गर्नुपर्छ। यसका लागि लगानीकर्ता स्वयम् चेक बुक बोकेर ब्रोकर कार्यलय नै पुग्नुपर्ने बाध्यता छ। यसका लागि ब्रोकर कार्यलयमा कर्मचारीको उपस्तिथी अनिवार्य छ। 

सेयर खरिद गर्नेले भुक्तानी गरेपछि सेयर बिक्रि गर्नेले आजका दिनमा पनि सेयर बिक्रि आदेश पश्चात बुझाउनुपर्ने फर्म डीआइएस स्लिप ब्रोकर कार्यलय नै पुगेर बुझाउनुपर्ने बाध्यता छ। उसले बुझाएको डीआइएस स्लिप कार्यन्वयन गर्न आरटिएस तथा डिपी कार्यलय पनि खुला हुनुपर्ने अवस्था छ। अनलाइनबाट आजको दिनमा डीआइएस स्लिप सेटलमेन्ट नहुने अवस्था छ। 

सेयर कारोबार ठुलो होइन, सेटलमेन्ट महत्त्वपूर्ण 

फोनबाट पनि सेयर खरिद तथा बिक्रिको आदेश कार्यन्वयन हुने हिजोको अवस्था र अहिलेको अनलाइन उस्तै हो। खरिद र बिक्रि आदेश बाहेक सेटलमेन्टका सबै काम गर्न ब्रोकर लगायतका सम्बन्धित कार्यलयमा शारीरिक रुपमा नै उपस्तिथी हुनुपर्ने आजको बाध्यता हो। डिम्याट इन्टिग्रेसन नभएको अनलाइनमा बैंक इन्टिग्रेशन होला भन्नु आजको अनलाइनमा दिवास्वप्न मात्र हो। 

नेप्सेको अनलाइन नाम मात्रको 

सम्भवत अर्थमन्त्री खतिवडाले नेप्सेको अनलाइन भारत र अमेरिकाको जस्तो होला भन्ने सोच्नु भएको होला तर नेप्सेको अनलाइन नाम मात्रको हो भन्दा गलत हुँदैन। 

अवस्था सामान्य हुँदापनि सेयर बेचेपछि पैसा लिन ब्रोकर कार्यलयमै पुग्नुपर्छ। त्यो पनि सेयर बेचेको चौथो दिनसम्मपनि चेक पाउन मुस्किल छ। यस्तो विषम परिस्थिमा सेयर बेचेपछि उसले कति दिनमा पैसा पाउला ?

सामान्य अवस्था हुँदा सेयर किन्नेले पनि चौथो दिनमा आफ्नो खातामा सेयर नपाएको अवस्थामा लकडाउनमा सम्बन्धित कार्यलय बन्द हुँदा कति दिनमा सेयर पाउला ?

अर्कोतर्फ अवस्था सामान्य हुँदा आफूसंग नभएको सेयर बेच्दा धेरै लगानीकर्ता क्लोज आउट ९सेयर बेचेको कुल रकमको २० प्रतिशत जरीवाना मा परेका धेरै घटना छन। यदि अनलाइनलाई मात्र बिश्वास गरेर छाड्ने हो भने क्लोज आउटको समस्या कति बढ्ला रु यसको जिम्मेवारी कसले लिने ?

नामको अनलाइन कारोबार प्रणालीमा कारोबार अर्थात खरिद र बिक्रि आदेश अनलाइनबाट सम्भव भएपनि  सेटलमेन्टका लागि सम्बन्धित कार्यालयका कर्मचारी अनिवार्य रुपमा कार्यलय उपस्तिथ हुनुनै पर्छ। तसर्थ, लकडाउनको बेला सेयरबजार खुला गर्नु भनेको सरकारले जनताको जीवन भन्दा सरकारको खातामा जम्मा हुने केहि लाख कमिसनको मोह राख्नु बाहेक दोस्रो केहि हुन् सक्दैन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved