सम्पादकीय : मत किन्न बोरा-बोरामा गाउँ पुगेको पैसा लोकतन्त्रका लागि अभिसाप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 11:21:58 AM मा प्रकाशित

laxmi  sunrise bank

यही मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उठेका राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले मतदातालाई पैसा दिएर भोट माग्ने र माग्न लगाउने क्रम तीव्र देखिएको छ । बिजपाटीको सम्पादकीय टीमले १३ जिल्लाको ग्राउण्ड जिरो रिपोर्टिङ गरिरहँदा ठाउँठाउँमा पैसाको लेनदेन भएको पत्ता लगाएको छ ।

सामाजिक सञ्जाल टिकटकमा भाइरल 'भेलुबाजे'ले आफूलाई एमालेका उम्मेदवार सूर्य थापाले २ हजार दिएर भोट माग्न लगाएको सार्वजनिक गरिसके । सार्वजनिक नभएका तर पैसा दिएर मत मागेको लाखौँ घटना बाहिर आउन सकेका छैनन् ।

चुनावी रिपोर्टिङका क्रममा त्यस्ता कुनै पनि निर्वाचन क्षेत्र भेटिएनन् जहाँ पैसाले मत किन्ने प्रयास उम्मेदवारले गरेका नहुन् । मतदाताको भनाइ र प्रतिस्पर्धी उम्मेदवारले गरेका दाबीहरूले अर्बौंको लेनदेन भइसकेको देखाउँछन् । अहिले यससँग सम्बन्धित कतिपय तथ्यहरू सार्वजनिक गर्नु निर्वाचन आचारसंहिता प्रतिकूल हुने भएकाले ती प्रमाणहरू बिजपाटीले निर्वाचनपछि थप सार्वजनिक गर्दै जानेछ ।

हामी पुगेको क्षेत्रमध्ये सबैभन्दा बढी पैसा बाँडिएको नवलपरासी क्षेत्र नम्बर १ मा हो । विवादित डलर अरबपति विनोद चौधरीका 'कन्ट्याक्ट पर्सन'हरूले मतदातालाई बाँड्न झोलामा पैसा बोकेर हिंडिरहेको दृश्य लोकतन्त्रकै लागि अत्यासलाग्दो विषय हो । यो क्रम मौन अवधिमा अझ बढ्ने देखिन्छ ।

चौधरीका प्रतिस्पर्धी त्रिपाठी भने पैसा भन्दा बढी राजनीतिक लबिङमा लागेका छन् । उनले कांग्रेस र माओवादीको असन्तुष्ट भोट आफूतिर तान्न भेटघाटमा व्यस्त देखिन्छन् । यद्यपि मौन अवधिभित्र उनको तर्फबाट पनि मतदातालाई पैसाको प्रलोभन नदिइनेमा ढुक्क हुन सक्ने स्थिति छैन ।

गोर्खाको दुवै क्षेत्रमा पनि टन्नै पैसा बाँड्ने सिलसिला शुरू भएको छ । त्यहाँका दुवै पक्षका असन्तुष्ट कार्यकर्ताहरू बहीखाता बनाएरै पैसाको बार्गेनिङमा लागिरहेका छन् । क्षेत्र नम्बर २ मा एमालेका स्थानीय कार्यकर्ताहरू माओवादीका नेता कार्यकर्तासँग डिलिङ गरिरहेका छन् भने क्षेत्र नम्बर १ मा पनि त्यस्तै सिलसिला शुरू भएको छ ।

दुवै क्षेत्रमा गठबन्धनका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड र राजेन्द्र बजगाईं अहिलेसम्म सहज स्थितिमा छन् । मतान्तर ठूलो बनाउने अभियानमा लागेको दुवैले आफ्नो आ-आफ्नो क्षेत्रमा पैसा बगाइरहेका छन् ।

स्याङ्जाका दुवै क्षेत्रमा उस्तै समस्या छ । क्षेत्र नम्बर १ मा गठबन्धनका राजु थापा र एमालेका नारायण मरासिनी दुवैले ठाउँ-ठाउँमा पैसा बाँड्ने अखडा नै खडा गरेका छन् । भारि प्रतिस्पर्धा हुने ठानिएको क्षेत्र नम्बर २ मा एमालेकी पदमा अर्याल र कांग्रेसका धनराज गुरुङ दुवैले कहाँ र कुन वडामा पैसा पठाउनुपर्ने हो, त्यसको बही खाता तयार गरेर राखेका छन् । कतिपय ठाउँमा पैसाको लेनदेन शुरू भइसकेको छ ।

गुल्मीका मतदाताहरूले पनि पैसाको प्रलोभन आउन शुरू भएको दाबी गरेका छन् । कहाँ कुन कन्ट्याक्ट मार्फत कति पैसा पठाउनुपर्ने हो, त्यो गठबन्धन र एमाले दुवै उम्मेदवारले हिसाबकिताब गरेर राखेका छन् । १ मा कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवाली भिडेका छन् भने २ मा नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र एमालेका गोकर्ण बिष्ट प्रतिस्पर्धामा छन् ।

रुपन्देहीका ५ वटै क्षेत्रमा पैसा दिएर मत तान्न खोज्ने विकराल प्रवृत्ति देखिएको छ । रुपन्देहीमा राष्ट्रिय राजनीतिका चर्चित व्यक्तित्वहरू लडाईंको मैदानमा छन् । चितवनमा उस्तै विकराल स्थिति छ ।

चितवनका एक उम्मेदवारले फलानो ठाउँमा यति र फलानो ठाउँमा उति पैसा पठाइदिनुस् भनेर हाम्रै अगाडि फोन गरेर भनेका थिए ।

माथिका त केही उदाहरणहरू मात्र हुन् । यो सिलसिला देशैभर जारी छ । निर्वाचन आयोगले यी र यस्ता प्रवृत्तिहरूलाई निरुत्साहित गर्न सकेको छैन । स्वयं आयोगले खटाएका अधिकृतहरू पैसामा बिक्ने गरेको यसअघिका घटनाक्रमहरूले देखाउँछन् ।

हामीले एकजना उम्मेदवारले अहिलेसम्म २१ करोड खर्च गरिसकेको सूचनासमेत सोही नेताको सचिवालयबाट प्राप्त गर्यौं । मौन अवधीसम्म त्यो रकम आधा अर्बसम्म पुग्न सक्ने उनकै चुनावी अभियान टीमका एक व्यक्तिले तथ्यांकसहित बताएका छन् ।

मत तान्न एउटा बाल क्लबलाई १८ लाखसम्म दिनुपरेको भन्दै ती व्यक्तिले रकम बाँडेको खातासहित बिजपाटी टीमलाई अन्य तथ्यहरू पनि उपलब्ध गराएका छन् । यसबारे हामी निर्वाचनपछि बिस्तृत लेख्नेछौं ।

यसअघिका निर्वाचनहरू भन्दा अहिलेको निर्वाचनमा पैसाको खोलो दोब्बर बग्ने स्थिति देखिएको छ । यसो हुनुको कारण निर्वाचनका दुवै पक्षले गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रनु हो । एउटा पार्टीको मतदातालाई जबरजस्ती अर्को पार्टीको चुनाव चिह्नमा भोट हाल्न लगाउन त्यति सहज छैन । त्यसलाई पैसाले सहजीकरण गर्ने रणनीतिमा उम्मेदवारहरू देखिएका हुन् ।

मतदातालाई पैसा बाँडिएको विषयलाई निर्वाचन आयोगले निकै हल्का रूपमा लिएको छ । आयोगका प्रतिनिधिहरू ठाउँ-ठाउँमा छन् । उनीहरूले पैसा बाँडिएको विषयलाई अनदेखा गरिरहेका छन् । कतिपय ठाउँमा उनीहरूले नै पैसा बाँड्ने काममा सहजीकरण गरिदिएको बिजपाटी टीमले पत्ता लगाएको छ ।

पैसा लेनदेन प्रकृयामा उम्मेदवारको दोष त छँदैछ, मतदाताहरूको लोभ पनि कम दोषी छैन । ठाउँ-ठाउँमा समूह बनाएरै उम्मेदवारसँग पैसाको बार्गेनिङ भइरहेको छ । 'हाम्रो पार्टीको उम्मेदवार छैन, फलानो पार्टीको उम्मेदवारलाई हामीले पैसा नपाएसम्म किन भोट दिने ?' जस्ता प्रश्नहरू मतदाताले गरिरहेका छन् ।

यो प्रकृया तत्काल रोक्न सम्बन्धित निकायहरूले बोल्ड कदम चाल्नु अनिवार्य छ । यसबारे कुरा गर्न खोज्दा निर्वाचन पदाधिकारीहरूले 'प्रमाणसहित उजुरी आए छानबिन हुन्छ भन्ने' गरेका छन् । आयोगले स्वअनुगमन गर्न सकेको छैन । यो प्रवृत्ति तत्काल रोकिन आवश्यक छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved