आफ्नो
क्षेत्रमा निर्वाचनमा लज्जास्पद पराजय भोगेका ६ जना मन्त्रीहरूले मतगणना सकिएको
धेरै दिन भइसक्दा पनि नैतिकताका आधारमा राजीनामा बुझाउन आलटाल गर्नु चरम नैतिक
स्खलनको उदाहरण हो । यसबारे विभिन्न कोणबाट विभिन्न बहसहरू भइरहेका छन् ।
नेपाली
कांग्रेसका प्रभावशाली नेता मानिने गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही क्षेत्र
नम्बर ३ बाट सत्ता गठबन्धनका उम्मेदवार थिए । उनी राप्रपाका दीपक बोहोरासँग पराजित
भए । त्यस्तै ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल ललितपुर
क्षेत्र नम्बर ३ बाट स्वतन्त्र पार्टीकी तोसिमा कार्कीबाट पराजित भइन् ।
बाँके
क्षेत्र नम्बर १ बाट उठेका युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराज एमालेका
सूर्य ढकालसँग पराजित भए । त्यस्तै खानेपानीमन्त्री उमाकान्त चौधरी बारा क्षेत्र
नम्बर १ मा एमालेका अच्युतप्रसाद मैनालीसँग पराजित भए ।
पर्यटनमन्त्री
जीवनराम श्रेष्ठ काठमाडौँ क्षेत्र नम्बर ८ बाट स्वतन्त्र पार्टीका विराजभक्त
श्रेष्ठसँग पराजित भए भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने
राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट स्वतन्त्र पार्टीका अध्यक्ष
रवि लामिछानेसँग पराजित भए ।
पराजित
भएपनि आजसम्म कुनै मन्त्रीहरूले राजीनामा दिएको घोषणा गरेका छैनन् । बरू झण्डा
हल्लाएर सरकारी गाडीमा हिँडेकै छन् भने पर्यटनमन्त्री श्रेष्ठ त मन्त्रीकै हैसियतमा
विश्वकप हेर्न कतार जाने प्रयास गरेका थिए । अन्तिम अवस्थामा उनको त्यो प्लान
क्यान्सिल भयो ।
निर्वाचनमा
पराजित मन्त्रीले राजीनामा दिनुपर्ने संवैधानिक र कानूनी व्यवस्था भने छैन । तर
जनताप्रतिको उत्तरदायीत्व बोक्छु भन्नेहरूले जनमतको अपमान हुने गरी झण्डा हल्लाएर
हिड्ने काम सही पनि होइन । पराजित मन्त्रीहरूले राजीनामा नदिनु नेपालको राजनीतिक
संस्कार अझै पनि पछौटेपनमा आधारित छ भनेर बुझ्न सकिन्छ ।