
आदारणीय पाठकवृन्द,
प्रतिनिधि
सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएर मतपरिणाम आउने अन्तिम चरणमा देश छ । संघ
र प्रदेशमा राजनीतिक शक्ति सन्तुलनका आधारमा सरकार बन्न अब केही सातामात्र बाँकी छ
।
संविधान
निर्माणपछिको दोस्रो संसद, त्यसमा प्रतिनिधित्व गर्ने सांसद र अब बन्ने सरकारले
आगामी दिनमा राम्रै गर्ला भन्ने अपेक्षा हामीले राखेका छौं ।
हामीकहाँ
भ्रष्टाचारको यति ठूलो र विकराल समस्या छ तर त्यो कहाँ र कसरी रहेको छ भन्ने
विषयमा हामी सबैको एकमत छैन । कसैले राजनीतिक क्षेत्रलाई भ्रष्टाचारको ठूलो अखडा
देख्ने गर्छ भने कसैले कर्मचारीतन्त्रलाई सबैभन्दा ठूलो भ्रष्टाचार गर्ने थलोका
रूपमा लिने गर्छ । कसैले न्यायिक क्षेत्रमा धेरै भ्रष्टाचार रहेको अनुमान गर्छ भने
कतिपयको धारणा सुरक्षा क्षेत्रमा बढी भ्रष्टाचार हुने गर्छ भन्ने छ ।
सबैतिरको
भ्रष्टाचारको उजागर गर्ने र सुशासन स्थापना गर्न सहयोग पुर्याउने काम अवश्य पनि बिजपाटी
एक्लैले गर्न सक्दैन । यसका लागि स्वयं भ्रष्टाचार हुने क्षेत्रसँग सम्बन्धित
व्यक्तिहरू, नागरिक समाज, नियामक निकाय, पत्रकार र मिडिया हाउसको सामूहिक पहल चाहिन्छ ।
नयाँ सरकार बन्ने पूर्वसन्ध्यामा बिजपाटीले 'खोजी सुशासनको' नामको स्तम्भ शुरू गरेको
छ । यस स्तम्भअनुसार हामीले विभिन्न मन्त्रालयअन्तर्गत कार्यकारी र न्यायिक अधिकार लिएर
बसेका सरकारी निकायहरूबारे विस्तृत अध्ययन र खोज-अनुसन्धान गर्नेछौं ।
यसमा पाठकवृन्दबाट
हामीले सूचनाको ठूलो अपेक्षा गरिरहेका छौं । हामीलाई प्राप्त हुने सूचना, हामीले प्रकाशित गरेका समाचार, सेवाग्राहीको सम्बन्धित निकायप्रतिको धारणा
जस्ता विषयहरूलाई लिएर हामीले स्वतन्त्र विश्लेषणका आधारमा ती निकायहरूको 'सुशासन
नम्बर' निकाल्नेछौँ र त्यसलाई सार्वजनिक गर्नेछौं ।
कर्मचारीतन्त्रमा
हुने भ्रष्टाचारको निगरानी गर्न 'खोजी सुशासन' अभियानमार्फत हामीले हाम्रो विज्ञता
र मानवस्रोतलाई परिचालन गर्नेछौं । अन्य क्षेत्रमा हुने भ्रष्टाचारबारे पनि हामीले
आफ्नो कलम चलाएकै छौं, आक्रामक अभियानका रूपमा हामी घोषित
रूपमा अघि बढ्ने नै छौं ।
प्रिय पाठकवृन्द,
विगतमा
झैं सुशासनका लागि सबै क्षेत्रमा कलम चलाउने प्रयास हाम्रो जारी रहनेछ । तर कुनै
क्षेत्रमा स्पष्ट योजना बनाएर काम गर्दा त्यसले निकाल्ने परिणाम सुन्दर हुने
हुनाले हामीले सीमित स्रोत र साधनका बाबजुद पनि यस्तो अभियान चलाउने निर्णय लिएका
हौँ ।
विगतमा पनि हामीलाई सहयोग गरिरहनुभएका
पाठक, व्यापारिक संघ संस्थान, सरकारी
निकाय, शुभेच्छुक सबैलाई यो अभियानमा थप
सहयोग र समर्थन गरिदिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छौं ।
राम्रो काम गर्न सकियो भने, देशको
समग्र पत्रकारिता क्षेत्रमा नै हाम्रो अभियानले एउटा इँटा थप्न सक्नेछ । हाम्रो कामका
आधारमा गुण र दोष यहाँहरूलाई थाहा हुने नै छ । धन्यवाद ।