माग पुरा नभए बार्षिक र एसईई परिक्षा अवरोध गर्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2019 | 10:35:38 PM मा प्रकाशित

laxmi  sunrise bank

राहत तथा बालविकास शिक्षकहरुले आफ्नो माग पुरा नभएको भन्दै फागुन २१ गते देशव्यापी रुपमा सामूदायिक विद्यालय बन्द गर्दै आम शैक्षिक हड्तालमा उत्रिने घोषणा गरेको छ।

राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले काठमाडौंको नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन। उनले भने,‘देशव्यापी रुपमा सामूदायिक विद्यालय बन्द गरेर शैक्षिक हड्ताल गर्दापनि हाम्रो माग पूरा भएन भने हामी आउँदै गरेका विद्यालयका वार्षिक परीक्षा र एसईई परीक्षासम्म अवरोध गर्न बाध्य हुन्छौं ।’  

उनले भने,‘हामीले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा पनि प्रहरीले हस्तक्षेप, ज्यादती गर्यो । अब हामीलाई संघीय राजधानी काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गर्न दिँदैन भने हामी बाध्य भएर काठमाडौं प्रवेश गर्ने नाकाहरुमा धर्ना बस्छौं ।’

उनकाअनुसार प्रहरीले आज साँझ गरेको दुव्र्यवहार तथा धरपकडमा परी दर्जनौं शिक्षकहरु सख्त घाईते भएका छन् । अधिकारीले भने,‘हिजो र आज गरेर हाम्रा सयौं साथीहरु प्रहरीको ज्यादती र दुव्र्यवहारबाट सख्त घाईते हुनुभएको छ । कतिपयको अस्पतालमा अहिलेपनि उपचार भैरहेको छ । केही साथीहरुलाई अहिले पनि प्रहरी हिरासतमा राखिएको छ।’

बलजफ्ती गरेर पक्राउ गरिएका आफ्ना सहकर्मी साथीहरुलाई तत्काल रिहाई गर्नसमेत उनले माग गरे । पक्राउ पर्नेहरुमा गोकुल रोकाय, कृष्णराज विष्ट, जनक भण्डारी, दुर्गा शाक्य र गोविन्द ढाँट रहेका छन् । उनीहरुलाई अहिले काठमाडौंको भृकुटीमण्डपस्थित् नेपाल पुलिस क्लबमा राखिएको छ । 

८० हजार राहत र बालविकास शिक्षकहरु पेशागत गुणस्तर र सुरक्षाको खातिर विगत लामो समयदेखि विभिन्न मागहरु राख्दै संघर्षरत रहेको पनि उनीहरुले जनाएका छन। उनीहरुले जारीगरेको विज्ञप्तीमा भनिएको छ,‘२०६२÷६३ पछाडि देशमा विकास भएको राजनैतिक घट्नाक्रमबाट भएका उपलब्धिलाई संस्थागत गर्नेक्रममा हाल हामी संघीय लोकतान्त्रिक गणतन्त्र राज्य व्यवस्थामा छौं । यसरी मुलुक संघीयतामा प्रवेश गरेसँगै शासकीय स्वरुप पनि परिवर्तन हुने क्रममा नेपालको शिक्षा क्षेत्रमा शिक्षा ऐन २०२८ खारेज भई नयाँ संघीय शिक्षा ऐन २०७५ आउने संघारमा हामी उभिएका छौं ।’

समितिले जारी गरेको संयुक्त विज्ञप्तीको पूर्णपाठ:
नेपालको सामुदायिक विद्यालयमा विगत लामो समय देखी कार्यरत झण्डै ८० हजार राहत र बालविकास शिक्षकहरु पेसागत गुणस्तर र सुरक्षाका खातिर विगत लामो समयदेखि विभिन्न मागहरु राख्दै संघर्षरत रहेको व्यहोरा सर्बविदितै छ ।
२०६२÷२०६३ पछाडी देशमा विकास भएको राजनैतिक घटनाक्रमबाट भएका उपलव्धीलाई संस्थागत गर्नेक्रममा हाल हामी संघीय लोकतान्त्रीक गणतन्त्र राज्य व्यवस्थामा छौ । यसरी मुलुक संघीयतामा प्रवेश गरे संगै शासकिय स्वरुप पनि परिवर्तित हुने क्रममा नेपालको शिक्षा क्षेत्रमा शिक्षा ऐन २०२८ खारेज भई नयाँ संघीय शिक्षा ऐन २०७५ आउने संघारमा हामी उभिएका छौं । यस सन्दर्भमा सामुदायिक विद्यालयमा कामगर्ने हामी शिक्षाकर्मि पेशागत न्याय, सुरक्षा र स्थायित्वको लागि संघीय शिक्षा ऐनमा नितिगत सुनिश्चितता हुनुपर्छ भनि हामिले छुट्टा छुट्टै र संयुक्तरुपमा लविङ, छलफल, अन्तरक्रिया, ध्यानाकर्षण गर्ने गराउने काम सम्पन्न गरिसकेका छौं । यसो हुदा हुदै पनि हामीले उठाएका मागहरु बारे संघीय शिक्षा ऐनको मस्यौदामा हाम्रो मागहरुलाई उपेक्षा गरिएको देखिएकोले यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यी सबै पक्षहरुलाई संष्लेषण विश्लेषण गर्दै मिति २०७५ फागुन १६ गते नेपाल राहत शिक्षक समिति र बाल विकास शिक्षक समितिको संयुक्त बैठकले तपशील अनुसारका  संघर्ष कार्यक्रमहरु गर्ने निर्णय गरि कार्यक्रमहरु सार्बजनिक गरिएको छ ।
सबै प्रकारका आन्दोलनमा हाम्रो अभिभावकीय संस्था नेपाल शिक्षक महासंघलाई नेतृत्वदायी भूमिका निर्वाह गरी हाम्रा मागहरुलाई निचोडमा पु¥याउन भुमिका निर्वाह गरिदिनका लागि हार्दिक अनुरोध गर्दछौ । सम्बन्धित पक्षले हाम्रा मागहरु समयमै सम्बोधन नगरे आन्दोलनबाट उत्पन्न हुने सबै खाले परिस्थितिका लागि नेपाल सरकार स्वयमं नै जिम्मेवार हुने व्यहोरा सम्बन्धित सबैमा यो प्रेस विज्ञप्ती मार्फत जानकारी गराईन्छ । साथै देश भरका  राहत र वालविकास शिक्षकहरु आन्दोलनका कार्यक्रममा अनिवार्य उपस्थितका लागि हार्दिक आह्वान गरिन्छ ।
संघर्षका कार्यक्रमहरुः
१.मिति २०७५ फागुन १६,१७ र १८ गते नेपाल शिक्षक महासंघ संग सहकार्य गर्दै महासंघलाई साथमा लिएर सरकार तथा सरोकारवालाहरु संग राहत÷बालबिकास शिक्षकहरुको स्थायी व्यवस्थापनको लागी समन्वयन गर्ने । साथै प्रदेश, जिल्ला र स्थानिय समितिले आ–आफ्नो निकायमा सरोकारवालाहरु संग अन्तरक्रिया तथा व्यापक प्रचार प्रसार गर्ने । १८ गते सम्ममा हाम्रो पक्षमा कुनै निकास आउन नसके १९ गते देखि अनिश्चितकालिन काठमाडौं घेराउ आन्दोलनमा ४० हजार राहत शिक्षकहरु र ३६ हजार बालविकास शिक्षकहरु अनिवार्य सहभागी हुने ।
२ मिति २०७५ फागुन १९ गते देखिको आन्दोलनको क्रममा आवश्यकता अनुसार देशभरको विद्यालय ठप्प पार्दै नजिकिदै गरेको बेसिक लेवलको परीक्षा र एसईई परीक्षालाई असहयोग गरि शैक्षिक हडताल कार्यक्रम सम्म गर्ने ।
३ मिति २०७५ फागुन १९ देखि संचालित आन्दोलनमा आउदा सकेसम्म अनिवार्य विद्यालयको पोशाकमा उपस्थित हुने 
४. आन्दोलनमा आउनु अगाडि प्रत्येक जिल्ला तथा स्थानिय तहले जिल्ला समन्वय ईकाइ तथा स्थानिय शिक्षा शाखा र विद्यालयमा कार्यक्रमको बारेमा जानकारी गराउनुपर्ने ।
५. मिति २०७५ फागुन २१ गतेदेखि देशभरिका सम्पूर्ण विद्यालय बन्द गर्दै आम शैक्षिक हड्ताल गर्ने 
      




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved