आरआर क्याम्पसले सुरु गर्‍यो अनलाईन कक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 02:05:55 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको रत्‍न राज्यलक्ष्मी क्याम्पस (आरआर) ले अनलाईन कक्षा सुरु गरेको छ । कोरोना भाइरसको विश्‍वव्यापी महामारीको प्रभावले शिक्षा क्षेत्रसमेत अस्तव्यस्त बन्‍न पुगेको बेला त्रिभुवन विश्‍वविद्यालयको आङ्गिक क्याम्पसले पनि अनलाईन पठनपाठन सुरु गरेका छन् । आरआर क्याम्पस त्रिभुवन विश्‍वविद्यालयको मानविकी संकायको आङ्गिक क्याम्पस हो । नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै त्रिभुवन विश्‍वविद्यालयले मातहतका सम्पूर्ण शैक्षिक संस्थामा पठनपाठन स्थगन गरेको थियो । 

स्वतन्त्र विद्यार्थी युनियनले लकडाउनका कारण नियमित पढाई नहुने अवस्थामा अनलाईन कक्षा सञ्‍चालन गर्नुपर्ने माग गर्दै आएको थियो । विद्यार्थी संगठनहरु र स्ववियुले लकडाउनको समयमा अनलाईन माध्यमबाटै पठनपाठन र विद्यार्थीका अन्य समस्या समाधान गर्न क्याम्पस प्रशासनसँग सहकार्य गरिरहेको अनेरास्ववियूका नेता राज उपाध्यायले बताए । उनका अनुसार स्ववियु सभापतिले क्याम्पसमा विद्यार्थीहरुलाई खाद्यसामग्री समेत वितरण गरेका थिए । अनेरास्ववियूले समयसापेक्ष शिक्षण विधि अवलम्बन गरी कक्षा सुरु गर्नुपर्ने माग स्वतन्त्र विद्यार्थी युनियनमार्फत राखेको थियो । ढिलो भएपनि माग सुनुवाई भएको उनले बताए ।

अनलाईन पढाई सुरु भएको जानकारी दिँदै विद्यार्थी कल्याण शाखा प्रमुख देवी घिमिरेले उपलब्ध स्रोत साधनको उपयोग गरी विद्यार्थीका समस्या समाधान गर्न प्रयत्‍न गरिरहेको बताए । स्नातकोत्तर र स्नातक तहको बीसीए बिषयमा अनलाईन कक्षा चलाइएको क्याम्पस प्रशासनले जनाएको छ । आआफ्नो विषयको विभाग र विषय शिक्षकको सम्पर्कमा रहेर कक्षा लिन प्रशासनले सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved