लकडाउनले परीक्षा रोकिएपछि मजदुरी गर्दै विद्यार्थी

महेश न्यौपाने

महेश न्यौपाने

May 29, 2020 | 07:30:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एसईइको अन्तिम तयारीमा रहेकी रोल्पा नगपालिका २ की पार्वती परियार परिक्षाको अनिश्चितता संगै मजदुरी गर्न थालेकी छिन् । सदरमुकामको एक सामुदायिक विद्यालयमा अध्ययन गरिकी उनीलाई परीक्षाको अन्तिम तयारीमा जुटिरहेको बेला भएको परीक्षा स्थगित पछि पुस्तक पल्टाउने जाँगर चलेको छैन् ।

जलजला बहुमुखी  क्याम्पस रोल्पामा व्यवस्थापन संकायको स्नातक तहमा अध्ययन गरिरहेकी छिन् रोल्पा माडी गाउँपालिकाकी निर्मला बुढा ।  व्यवस्थापन अध्ययन पछि बैंकर बन्ने उनको सपना कोरोना संक्रमण संगै अन्यौलमा परेको छ । लामो समय  सम्म भएको लकडाउनले पढाईतिर मन नगएपछि काम खोज्दै हिडिन उनी । रोल्पा नगरपालिकाले निर्माण गर्न थालेको हेलिप्याड मैदानमा मजदुरी गर्छिन उनी । 

सदरमुकामको एक सामुदायिक विद्यालयमा अध्ययन गर्छन रोल्पा नगरपालिका १ का मोहन बुढा । लकडाउनले पढाई अनिश्चित भएसंगै उनले पुस्तकको सट्टा घन झप्पल रोजे । अहिले  उनी सदरमुकाम लिवाङमा दैनिक ज्यालामजदुरी गर्दै आएका छन् । 

रोल्पाका विद्यार्थीका प्रतिनिधि पात्र हुन पार्बती, निर्मला र मोहन । एसइइको तयारीमा रहेकी पार्बती, स्नताक अध्ययन गरिरहेकी निर्मला र कक्षा ९ पढेका  मोहन सबैको रोजाई अहिले  किताब हैन घन झप्पल र डोका नाम्ला भएका छन् । 

बिहान ७ बजे मजदुरी गर्न घरबाट निस्केका उनीहरु  बेलुका ६ बजे फर्कन्छन् । ‘दिनभर गरेको शारिरीक श्रमले बेलुका पढ्न ध्यानै जाँदैन’ पार्बती परियारले भन्छिन् । उनी भन्छिन् ‘‘परिक्षा  हुने  निश्चित छैन अनि  कसरी पढाईमा  ध्यान जानु रु लकडाउनको सुरुका दिनमा त किताब हेरे तर लकडाउन लम्बिदै जाँदा  किताब  हेर्न  मननै  गएन् ।’’ 

आफुले  अध्ययन गरिरहेको क्याम्पसले अनलाईनबाट भर्चुअल कक्षा चलाएको निर्मला बुढाले थाहा  पाए पनि सो कक्षा  भने लिन  नपाएको बताईन् । नेटको  पहुचमा नभएका कारण त्यो कक्षा लिन  नपाएको निर्मलाले बताईन् ।  भर्चुअल  कक्षा  चलेको बेला आफुभने मजदुरीमा रहने गरेको निर्मलाको भनाई छ  ।  

पार्बती, निर्मला र  मोहन जस्तै रोल्पाका  अधिकांश विद्यार्थीको दैनिकी यसैगरि बितेको  छ   । लामो समयसम्म  भएको लकडाउले  उनीहरुमा  पढाई  तिर चासो घट्दै  जान  थालको हो । 

चैत्र ५ अघि नै परिक्षा  सम्पन्न  गर्न   शिक्षा मन्त्रालयको निर्देशन पालन गरेका  शिक्षकहरु कोरोना  भाइरसको संन्त्रास  पछि भएको लकडाउनमा  भने  गुमनाम झै भए । समुदायका सबभन्दा बढी सचेत वर्ग यस अवधिमा के गरे खासै खबरहरु नआएपछि  उनीहरुको  सामाजिक  दायित्वको  विषयमा विभिन्न टिकाटिप्पणीहरु पनि  सुनिन थालेको  छ । लकडाउन अघि नै  परिक्षा सकेका  उनीहरुले यस बीचमा  सामाजिक संजाल तथा सामुदायिक  रेडियोको  माध्यमबाट परीक्षाफल   प्रकाशीत गरे । 

शिक्षक भन्छन् लकडाउनमा पनि काम गरेका छौ 

कोरोनाको त्राससंगै सरकारले घोषणा गरेको लकडाउनमा शिक्षकहरुले केही गरेनन्  भन्ने गुनासो प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य  लिला आचार्य सहमत  छैनन् । उनी भन्छिन लकडाउन  पालना गरेर शिक्षा संग संविन्धत धेरै काम गरेका छौ । गत वैशाख २० गते देखी आफ्नो संगठनको आयोजनामा भर्चुअलका माध्यमबाट पेशागत दक्षता अभिवृद्धी तालिम भईरहेको जानकारी  दिईन् । रोल्पाका  शिक्षकहरुलाई लक्षित गरेर जेष्ठ १४ देखी १६ सम्म उक्त तालिम संचालन गरियो आचार्यले भनिन् । संगठनका प्रत्येक सदस्यले परिवार, छिमेक  र समुदायमा कोरोना  संवन्धि सचेतना फैलाउने अभियान संचालन गरेको आचार्य बताउछिन् । बन्दाबन्दीमा विद्यार्थीहरुमा देखिन सक्ने तनाव, नैराश्यता र एक्लोपनालाई निरुत्साहन  गर्न फोनबाट समय समयमा कुराकानी  भईरहेको आचार्यको  भनाई  छ । पिताराज आधारभूत विद्यालयको प्रधानाध्यापक समेत रहेकी  आचार्यले आफ्नो विद्यालयमा  विद्यालय व्यवस्थापन समिति र अभिभावकसंग समय समयमा टेलिफोनबाट कुराकानी गरेर अवस्था अद्यावधिक गरिरहेको बताईन्  । दाईदीदिहरु संग  भएका पुराना किताब  लिएर पढाईलाई निरन्तरता दिन तल्लो कक्षाका विद्यार्थीहरुलाई प्रोत्साहन गरिरहेको आचार्यले बताएकी छिन् ।

जिल्लाका अधिकांश विद्यालय क्वारेनटाईनमा रुपान्तरण भएका कारण शिक्षकहरु विद्यालय जान नसकेको नेपाल शिक्षक संघ रोल्पाका अध्यक्ष भगवती मल्लले बताईन् । जिल्लाका १०  वटै स्थानीय तहमा रहेका आफ्नो संगठनको संजाल प्रयोग गरि विद्यार्थी र अभिभावकहरुसंग टेलिफोन सम्बाद हुने गरेको मल्लको भनाई छ । ‘‘प्रविधिको माध्यमबाट शिक्षक र बालबालिकालाई नेटवर्किङ गर्ने काममा ध्यान दिएका छौ’’ मल्लले भनिन् । बालमन्दिर प्राथमिक विद्यालयको  शिक्षक समेत रहेकी मल्लले नतिजा प्रकाशन पछि विद्यार्थीहरुको पढाईलाई कसरी  निरन्तरता दिन सकिन्छ भन्ने बारे  छलफल चलिरहेको बताईन् ।

शिक्षक संघ संगठनका प्रतिनिधिहरुले जस्तो दावी गरेपनि विद्यार्थीहरुको अवस्था भने  भयमुक्त छैन । परीक्षा कहिले हुन्छ  भन्ने कुराले हमेसा सताउने  गरेको तारा मावि  बामरुककी विद्यार्थी चेतना  बिकको भनाई छ । एसइइको तयारमा  रहेकी बिकलाई परिक्षा हुने वा नहुने ठेगान नभएपछि पढ्न मन जाँदैन ।  ‘‘एकातिर कोरोनाको त्रास अर्कोतिर  परिक्षाको अनिश्चितताले  गर्दा दोहोरो चिन्तामा दैनिकी विताउन परेको  छ ।’’  बिकले भनिन् । 

२७० प्राथमिक, ८८ निम्न माध्यमिक ,६२ माध्यमिक, १८ उच्च माध्यमिक र २ वटा क्याम्पस गरि जिल्लामा कुल ४४० शैक्षिक संस्था रहेको छ । ती शैक्षिक संस्था मध्ये ४०७ सामुदायिक र ३१ संस्थागत  विद्यालयका साथै स्नातक तहको पठन पाठन हुने २ वटा संबन्धन प्राप्त क्याम्पसहरु रहेका छन् । उल्लेखित शैक्षिक संस्थाहरुमा ९० हजार जना बढी वालवालिकाहरुले अध्ययन गरिरहेको बताईन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved