सर्वाङ्गीण विकास अध्ययन केन्द्रले सुरु गर्यो आईआईडीएस फेलोसिप कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2021 | 06:06:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आई. आई. डी. एस.) ले औपचारिक रूपमा 'आई. आई. डी. एस. फेलोसिप कार्यक्रम' सुरुवात गरी ४३ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रमको अवसरमा आई. आई. डी. एस., त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बीच आपसी सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


सन् २०१६ मा सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर्स इन् पब्लिक पलिसी) कार्यक्रम सुरु गर्न आई. आई. डी. एस. र काठमाडौं विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो। फेलोसिप कार्यक्रमको मुख्य उद्देश्य शिक्षित युवाहरूको क्षमता अभिवृद्धि गर्ने र उनीहरूलाई एक वर्षसम्म नेपालका स्थानीय सरकारहरूसँग संलग्न भई सार्वजनिक प्रशासन र सेवा प्रवाह, नेतृत्व, नीति निर्माण र अनुसन्धान कार्यमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्नु भएको बताईएको छ।


यी विश्वविद्यालयहरूबाट भर्खरै मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका कार्यक्रममा स्नातकोत्तर पूरा गरेका एक सय युवाहरूलाई प्रत्येक वर्ष यो अवसर प्रदान गरिने आई. आई. डी. एसले जनाएको छ। पहिलो चरणको कार्यक्रम,सन् २०२२ मा हुने स्थानीय निर्वाचन पछि सुरु गरी पाँच वर्षको अवधिमा कार्यान्वयनमा ल्याईने बताईएको छ । पहिलो चरण अन्तर्गतको यो कार्यक्रम सफल र उपयोगी भए दोश्रो चरणमा सरकारले यो कार्यक्रमलाई संथागत गर्ने बिश्वास आई. आई. डी. एसले लिएको छ |


सोही अवसरमा आई. आई. डी. एस.  र सांग्रिला डेभलपमेन्ट बैंक तथा आई. आई. डी. एस. र प्रभु क्यापिटल लिमिटेड बीच सो कार्यक्रमको लागि आर्थिक श्रोत जुटाउने सम्बन्धि छुट्टा छुट्टै समझौता पत्रमा हस्ताक्षर भएको छ । आई. आई. डी. एस. ले यस कार्यक्रमका लागि नेपाल धितो पत्र बोर्डमा सुचिकृत विभिन्न पब्लिक लिमिटेड कम्पनि र व्यावसायिक रूपमा सञ्चालित प्रतिष्ठित औधोगिक तथा व्यवसायिक समूहले व्यवस्थापन गर्ने सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक सहयोग जुटाउने लक्ष्य राखेको छ।

मण्डिखाटार, काठमाडौँमा अवस्थित आई. आई. डी. एस. एक स्वतन्त्र, गैर-सरकारी र गैर-नाफामुलक सोध मुलक (थिङ्क ट्याङ्क) संस्था हो। विगत ४३ वर्ष देखि आई. आई. डी. एस. ले दिगो विकासका निमित्त आवश्यक पर्ने नीति निर्माणको लागि प्रमाण तथा तथ्यमा आधारित अध्ययन, अनुसन्धान तथा सोध गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved