कहाँ छन् बेलायतबाट फर्काइएका ८४ नेपाली विद्यार्थी ? मिलेमतोमा लुकाइयो किर्ते गर्ने कन्सल्टेन्सीको नाम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2022 | 10:59:53 AM मा प्रकाशित

laxmi  sunrise bank

गत साल माघमा बेलायत अध्ययन गर्न गएका ८४ नेपाली विद्यार्थी अध्यागमनबाट नै फर्कनुपर्यो । तीमध्ये कतिपयले एक वर्षको कलेज शुल्क ७ हजार पाउण्ड (करीब ११ लाख रुपैयाँ) बुझाइसकेका थिए । अन्य खर्चसमेत गरेर २० लाखको हाराहारीमा खर्च गरेका उनीहरूलाई बेलायतको अध्यागमनले नक्कली दस्तावेजका आधारमा नेपाल फर्काएको थियो । 

नेपालस्थित केही कन्सल्टेन्सीले उनीहरूलाई बेलायत पठाएका थिए । बेलायतबाट नेपाल फर्किनुपरेपछि पनि उनीहरूले अहिलेसम्म कुनै कन्सल्टेन्सीविरुद्ध न कहीं मुद्दा हालेका छन्, न त उजुरी नै । न त उनीहरू सार्वजनिक हुन चाहन्छन् न त सरकारी निकायले ती कन्सल्टेन्सीको नाम सार्वजनिक गर्न सकेका छन् ।  

बेलायत पुगेपछि त्यहाँका अध्यागमन अधिकारीले उनीहरूलाई अंग्रेजी भाषा कमजोर भएको भन्दै थप अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उनीहरूले आइईएलटीएस (अन्तरर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रक्रिया) नै नगरेको पाइएको थियो । 

नेपाल फिर्ता पठाइएका ती विद्यार्थीको बैंक खाता विवरण नक्कली भएको, अंग्रेजी भाषानजानेको, आफूले अध्ययन गर्ने विषय र कलेजको पनि जानकारी नभएको, विश्वविद्यालयलाई तिर्न बाँकी शुल्क र खान बस्नका लागि बैंकमा रकम नदेखिएको लगायतका कारण दर्शाउँदै म्यान्चेस्टर अध्यागमन ती विद्यार्थीलाई नेपाल नै फर्काइदिएको त्यतिबेला चर्चा चलेको थियो । 

उनीहरूले देखाएको नेपालस्थित बैंक खाता विवरण नक्कली देखिएको इमिग्रेसनले लेखेको पत्रबाट प्रष्ट हुन्छ । नक्कली बैंक विवरण बनाउनलाई नेपालका दुई कमर्शियल बैंकसँग कन्सल्टेन्सीको मिलोमतो रहेको देखिन्छ ।

उनीहरू नेपाल फर्केको ५ महिना भन्दा बढी भयो तर कहीं कतै सम्पर्कमा आएनन् । त्यतिबेलै फाट्टफुट्ट मिडियामा यो खबर आएको भएपनि उनीहरू नेपाल आएर गुपचुप बसिरहेका छन् । 

बिजपाटीलाई प्राप्त जानकारीअनुसार आफूलाई ठूला र हाइप्रोफाइल कन्सल्टेन्सी भन्न रुचाउने ११ कन्सल्टेन्सीले उनीहरूलाई बेलायत पठाएका थिए । मोटो रकम आउने भएपछि नेपालस्थित बैंकसँगको साँठगाँठमा नक्कली खाता विवरण तयार पारिएको थियो । त्यस्तै भाषा परीक्षाको नतिजा पनि नक्कली बनाइयो । 

बिजपाटीको सम्पर्कमा आएका एक विद्यार्थीले आफूलाई अर्को कुनै देश पठाइदिने आश्वासन दिएकाले आफू चुप बसेको बताए । 'तिमीहरू बाहिर उजुरबाजुर गर्यौ भने बाहिर जाने सपना छोडे हुन्छ, हामीले बेलायतमै कोशिश गरिरहेका छौं, नभए अष्ट्रेलियातिर पठाइदिन्छौं,' आफूलाई बेलायत पठाएको एक कन्सल्टेन्सीका कर्मचारीको भनाइ उदृत गर्दै उनले भने । 

उनले सुरक्षाका लागि आफ्नो पहिचान र कन्सल्टेन्सीको नाम गोप्य राख्नसमेत आग्रह गरेका छन् । 'प्रहरी प्रशासनतिर गए आफ्नै शैक्षिक करियर ध्वस्त हुने हो,' उनले भने, 'बेलायत पुगेपछि त भैहाल्यो नि भन्दै हामीलाई पठाए । कागजात सबै मिलाइदिएका छौं, तिमीहरूलाई समस्या हुँदैन भनेका थिए तर समस्या भयो र हामी फर्किनुपर्यो ।'

कन्सल्टेन्सीको ठगी धन्दाका कारण नेपाल फर्किनुपरेका विद्यार्थीहरूका बारेमा नेपालको अध्यागमन विभागले पनि खासै चासो दिएको छैन । विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले घटनाका बारेमा सम्बन्धित निकायमा बुझ्न पठाएको तर अहिले सम्म ठोस कुरा आइनसकेको बताए । 

'ती विद्यार्थीलाई त्यहाँको विश्वविद्यालयले रिजेक्ट गरेको हो,' भट्टराईले बिजपाटीसँग भने, 'भिजा नक्कली भने थिएन । हामीले विद्यार्थी पठाउने बेलामा शिक्षा मन्त्रालयले दिएको एनओसी (नो अब्जेक्सन सर्टिफिकेट), भिजा, लगायतका दस्तावेज हेरेरै पठाएका हौँ ।'

उनले बेलायतबाट फर्किनुपरेका ती विद्यार्थी किन कहीं न्यायीक निकायमा गएनन् भन्ने रहस्यमयी रहेको बताए। 

'ती विद्यार्थी किन कहीं उजुरी गर्न गएनन् भन्ने कुरा रहस्यमयी छ । हामीले बेलायती दूतावासमार्फत बुझ्न पठाएका थियौं, दूतावासले बिभिन्न कारणले उनीहरु बेलायत पढ्न योग्य नभएको भनेर भनेको छ,' उनले भने । 

उनले अध्यागमन विभागसँग ती विद्यार्थीलाई पठाउने कन्सल्टेन्सीको विवरण नभएको बताए । 'हामीसँग कन्सल्टेन्सीको विवरण हुँदैन,' भट्टराईले भने, 'त्यो शिक्षा मन्त्रालयसँग माग्नुपर्छ ।'

शिक्षा मन्त्रालय मातहतको उच्च शिक्षा महाशाखा अन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले पनि यो बिषयबारे अनविज्ञता देखायो । 'हामीलाई यसबारे कुनै जानकारी आएको छैन,' शाखाका एक कर्मचारीले भने । 

बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्:

नेपालका अधिकांश कन्सल्टेन्सी गैरकानुनी रुपमा संचालन, विद्यार्थीले दुख पाए कारबाही कसले गर्ने ?

बैदेशिक अध्ययनको नाममा ७ महिनामा बाहिरियो २२ अर्ब, रेमिट्यान्समा 'शुन्य' योगदान

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved