ब्रिटिश कलेज : शक्तिका आडमा दुई नम्बरी धन्दा, बेलायत घुम्न पाएपछि शिक्षामन्त्री दङ्ग !

ईश्वर अर्याल/बिजपाटी

ईश्वर अर्याल/बिजपाटी

Jun 15, 2022 | 10:59:25 AM मा प्रकाशित

laxmi  sunrise bank

गत जेठ ८ गते शिक्षामन्त्री देवेन्द्र पौडेल एक साताका लागि बेलायत भ्रमणमा निस्के । वर्ल्ड एजुकेसन फोरमको आयोजनामा लन्डनमा चार दिनसम्म चलेको सम्मेलनमा पौडेल सहभागी हुन त्यहाँ पुगेका थिए ।

आवरणमा सम्मेलन देखाएपनि भित्री कथा भने रोचक छ । बेलायतका दुई युनिभर्सिटी लीड्स ब्याकेट र वेस्ट इंग्ल्याण्डबाट सम्बन्धन लिएर नेपालमा चलिरहेको द ब्रिटिश कलेजका संचालकहरूले बेलायतमा मन्त्रीको खानपिन र बसोबासको चाँजोपाँजो मिलाएका थिए ।

प्रत्येक वर्ष लन्डनमा आयोजना हुने वर्ल्ड एजुकेसन फोरममा नेपालका तर्फबाट सहभागी हुने मन्त्रीको खातिरदारी गर्न सबैभन्दा पहिला आइपुग्ने पात्र ब्रिटिश कलेजका संचालकहरू नै हुन् । खादा, माला ओढाउनेदेखि लिएर त्यहाँको महँगो होटेलमा खानपिन र बसोबाससँगै बेलायत घुमाउने जिम्मा कँडेल दाजुभाइकै हुन्छ ।  

ब्रिटिश कलेजका संचालकद्वय राजन कँडेल र महेन्द्र कँडेल दाजुभाइ हुन् । महेन्द्र काठमाडौँ बसेर पैसाको आडमा शक्तिकेन्द्रको व्यवस्थापन गर्छन् भने राजन उतै बेलायत बस्ने गरेका छन् । केही वर्षअघि बेलायतमा पनि कँडेल दाजुभाइले अवैध रूपमा शैक्षिक गतिविधि गरिरहेको भन्दै त्यहाँको सरकारले उनीहरूको नाममा दर्ता भएका केही अवैध संस्थाहरू खारेज गरिदिएको थियो ।

उनीहरूले दुबईमा समेत गैरकानूनी शिक्षण संस्था चलाएका छन् । २०७५ साल फागुनमा काठमाडौँको थापाथलीस्थित ब्रिटिश कलेजले आफ्ना केही विद्यार्थीलाई दुबईको संरचना अवलोकन गर्न लागेको थियो । अवलोकनका क्रममा स्नातक पहिलो वर्षमा अध्ययनरत गौरव श्रेष्ठको फागुन २ गते भ्रमणको क्रममा निधन भएको खबर बाबुआमालाई आठ घण्टापछि मात्र सुनाइएको थियो ।

पहिल्यै तय नभएको स्वीमिङ कार्यक्रममा विद्यार्थीलाई सहभागी गराइएपछि श्रेष्ठको निधन भएको हो । श्रेष्ठको शव नेपाल ल्याउन सहजीकरण नगरेको, त्यसपछि क्षतिपूर्ति दिन पनि कलेज उदासीन भएको आरोप श्रेष्ठका अविभावकले लगाएका थिए । 'उच्चस्तरीय राजनीतिक साँठगाँठमै उक्त केस रफादफा पारियो,' स्रोतको दाबी छ ।

अन्तर्राष्ट्रिय हिसाबले नै शिक्षाको माफियाकरण गर्ने कार्यमा सहभागी कँडेल दाजुभाइ जुनसुकै शिक्षा मन्त्री आएपनि सबैभन्दा पहिला 'भेटी' लिएर मन्त्रालय पुग्छन् । स्थायी घर बाग्लुङ भएका कँडेल दाजुभाइलाई आफ्नै जिल्लाबासी अझ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेल नै शिक्षामन्त्री भएपछि के चाहियो र ?

पौडेलनिकट स्रोतको दाबी छ - 'पौडेलका लागि चुनावमा मोटो रकम खर्चिने तिनै दाजुभाइ थिए । निर्वाचनताका अघिपछि देखिन्थे । अहिले उनी मन्त्रीको आडमा गैर-कानूनी रूपमा कलेज चलाइरहेका छन् ।'

बुधवार प्रतिनिधि सभा संसदमा बजेटबारे बोल्दै मन्त्री पौडेलले भनेका थिए, 'शिक्षामा दोहोरो नीति हुन दिइने छैन ।' तर नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षण संस्था र स्वदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त संस्थालाई राज्यले दोहोरो मापदण्ड अपनाएको उनलाई थाहा नहुने कुरा भएन ।

आफ्नो भाषणमा उनले २ हजार भन्दा बढी शब्द बोले तर विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थाका बारेमा एक शब्द पनि बोलेनन् । जबकी शिक्षा क्षेत्रलाई व्यापार मात्र होइन, विदेशी सम्बन्धन कलेजहरूले माफियाकरण गरिरहेका छन् ।

कँडेल दाजुभाइले सजिलै खेलाउसक्ने मन्त्री देवेन्द्र पौडेल मात्र होइनन् । दिनानाथ शर्मा पनि हुन् । विदेशी सम्बन्धन प्राप्त कलेजका बारेमा रिसर्च शुरू गरेपछि हामीले पूर्व शिक्षामन्त्री दिनानाथ शर्मासँग समय लिएर भेटेका थियौं ।

उनले शुरूमा भने, 'ब्रिटिश कलेजले राम्रो गरेको भए सम्बन्धन दिएका नाताले मलाई पनि गर्व हुन्थ्यो, तर कँडेल दाजुभाइले खासै राम्रो गरेनन् । दुख लागेको छ ।'

यसबारे तपाईं पब्लिक फोरममै बोल्नुपर्छ, बेथितिको अन्त्य हुनुपर्छ भनेर हामीले भन्दा शर्माले भनेका थिए, 'जहाँ जे गलत भएको छ, म बोलिहाल्छु नि । तपाईं मिडियाकर्मीका रूपमा यो बेथिति अन्त्य गर्न लाग्नुस्, म सहयोग गर्छु ।'

त्यसको एक दुई दिनसम्म सम्पर्कमा रहेका शर्मा त्यसपछि फोन र म्यासेजको रेस्पोन्स गर्न छाडेका छन् । शर्मासँग जोडिएको रोचक कुरा के छ भने उनैले ब्रिटिश कलेजलाई सम्बन्धन दिलाएका थिए ।

२०५९ सालमा बनेको विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा संचालन गर्ने सम्बन्धि निर्देशिकाका आधारमा सम्बन्धन दिइएको भनिएता पनि ब्रिटिश कलेजले त्यतिबेला आधाजसो मापदण्ड पनि पूरा गरेको थिएन ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पालामा शिक्षामन्त्री बनेका दिनानाथ शर्माको घर पनि बाग्लुङ क्षेत्र नम्बर दुईमै पर्छ अर्थात् उनी पनि कँडेल दाजुभाइकै छिमेकी हुन् । अझ कँडेल दाजुभाइका बुबाले शर्मालाई स्थानीय स्कूलमा पढाएका पनि हुन् ।

२०६८ सालमा शिक्षामन्त्री बनेपछि कँडेल दाजुभाइकै व्यवस्थापनमा शर्माले बेलायत भ्रमण गरे । शर्माको उचित खातिरदारी गरियो बेलायतमा । मन्त्री शर्मासँगै सचिवका रूपमा किशोर थापा (जो २०७४ सालमा साझा पार्टीबाट काठमाडौँको मेयरमा उठेर पराजित भएका थिए) पनि बेलायत भ्रमणमा थिए ।

कँडेल दाजुभाइले शर्मासँग बेलायतका ठूला र प्रसिद्ध प्रोफेसर भन्दै केही 'खैरे'हरूलाई भेटाए । त्यतिबेलाको समय स्मरण गर्दै शर्मा भन्छन्, 'उनीहरूले मलाई त्यहाँको विश्वविद्यालयका प्रोफेसरहरू भेटाए । अनि विश्वविद्यालय भ्रमणमा पनि लगे । ती खैरेहरू (प्रोफेसर)ले राम्रै कुरा गरेका थिए । अनि नेपालमा त्यही गुणस्तरको कलेज खोल्ने भन्दै प्रस्ताव गरे । मैले सचिव किशोर थापासँग सल्लाह गरेर नेपाल फर्केपछि सम्बन्धन दिन सहजीकरण गरेको हुँ ।'

बेलायत भ्रमणबाट नेपाल आइसकेपछि शर्माले ब्रिटिश कलेजलाई सम्बन्धन मात्र दिलाएनन्, मलेसियाको लिंकन युनिभर्सिटीबाट सम्बन्ध लिएर आएको फोनिक्स कलेजलाई पनि सम्बन्धन दिलाए । लिंकनअन्तर्गत नेपालमा चलेका फोनिक्सलगायत १२ शिक्षण संस्थाहरू पनि कानून मिच्नमा ब्रिटिशसँगै प्रतिस्पर्धा गरिरहेका छन् ।

पूर्वमन्त्री शर्मा र अहिलेका मन्त्री पौडेल मात्र होइन, देशमा आउने हरेक शिक्षामन्त्रीलाई रिझाएर शिक्षाका नाममा दुई नम्बरी धन्दा गर्न कँडेल दाजुभाइ माहिर छन् । उनीहरूले शक्तिकै आडमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता न्यायीक निकायसमेत प्रभावित पार्ने गरेको विभिन्न तथ्यले पुष्टि गर्छन् ।

ब्रिटिश कलेजविरुद्ध २०७६ सालको असोज ६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो । राजश्व छली, विदेशी मुद्रा अपचलन जस्ता गैरकानूनी काम गरेको भन्दै अख्तियारमा परेको उजुरीको प्रारम्भिक छानबिन पनि भएको थियो ।

तर शिक्षा मन्त्रालयले हेर्नुपर्ने भन्दै अख्तियारले त्यतिबेला मन्त्रालयलाई छानबिन गर्न निर्देशन दिएर ब्रिटिशविरुद्ध परेको उजुरी तामेलीमा राख्ने निर्णय गर्यो ।

त्यसलगत्तै तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा एउटा छानबिन समिति गठन पनि भयो । बिजपाटीलाई प्राप्त उक्त छानबिन समितिले दिएको प्रतिवेदनमा ब्रिटिश कलेजमाथि पुनः अख्तियार र राजश्व अनुसन्धान विभागलाई छानबिन गर्न अनुरोध गर्नुपर्ने देखिएको उल्लेख छ ।

तत्कालीन शिक्षा सचिव महेश दाहाललाई बुझाइएको उक्त प्रतिवेदन हालसम्म गोप्य राखिनुको कारण पनि मोटो रकमको चलखेल भएको मन्त्रालयका एक पूर्व कर्मचारीको दाबी छ ।

बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्ः

इस्लिङ्टनसहित ५ ‘अवैध’ कलेजमाथि कारवाहीको सिफारिस, यस्तो छ छानविन प्रतिवेदन

ब्रिटिश कलेजको ठगीकाण्ड : ३ वर्षे कोर्षलाई अवैध रूपमा ४ वर्षे बनाएर विद्यार्थीसँग पैसा असूल !

-सम्पादकीयः विदेशी सम्बन्धनका नाममा चलेका ‘छाडा’ शिक्षण संस्था सुधार्न तत्काल पहलकदमी आवश्यक

-इस्लिङ्टनले यसरी गर्छ सिंगापुर हुँदै बेलायतसम्म गैर–कानूनी आर्थिक कारोबार

-लिंकन युनिभर्सिटीका नाममा चलेको केएफए कलेज, जसलाई शिक्षा मन्त्रालयले चिन्दैन

-आर्थिक प्रलोभनको आडमा नेपालमा लिंकनको माफिया संजाल

-विदेशी सम्बन्धनवाला कलेजले निम्त्याएको ‘हरिबिजोग’, नेपाली विद्यार्थीको भविष्य उच्च जोखिममा

-किन सुनुवाई भएन विदेशी सम्बन्धन लिएका ‘अवैध’ कलेजमाथि कारबाहीको सिफारिस ?

-विदेशी सम्बन्धन प्राप्त ‘अवैध’ कलेज चोख्याउन शिक्षा मन्त्रालयको ‘नयाँ कर्तुत’

-विदेशी सम्बन्धन प्राप्त कलेजको अवैध धन्दा: पैसा बाहिर पठाउने, हुण्डीबाट आफैं ल्याउने खाने

-मन्त्रीलाई ‘शुभलाभ’ हुने गरी यसरी फेरिन्छ विदेशी सम्बन्धन प्राप्त कलेजका मापदण्ड

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved