आइटी पढ्न खोज्नेहरू यसरी बन्छन् इस्लिङ्टनको 'शिकार', टीयुको प्रवेश परीक्षाबाटै चोरिए विद्यार्थी

ईश्वर अर्याल/बिजपाटी

ईश्वर अर्याल/बिजपाटी

Jun 20, 2022 | 09:27:06 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी सम्बन्धनका नाममा राजश्व छली, विदेशी मुद्रा अपचलन र गैर-कानूनी काम गर्ने इनोभेट नेपाल ग्रुप (आइएनजी)सँग सम्बन्धित ५ शिक्षण संस्थाहरूले त्रिभुवन युनिभर्सिटीबाट विद्यार्थी 'चोर्न' प्रवेश परीक्षामै अनाधिकृत पहुँच पुर्याएको खुलेको छ ।

आइएनजी समूहको प्रभावमा परेर त्रिभुवन विश्वविद्यालयको विज्ञान एवं प्रविधि अध्ययन संस्थान (इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी)ले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससीसीएसआइटी) को प्रवेश परीक्षा नै दुईपटक प्रकाशित गरेको छ ।

पहिलोपटक प्रकाशित परीक्षाफलमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका आंगिक र सम्बन्धन प्राप्त कलेजको नाम उल्लेख गरिएको छैन भने त्यसपछि पास भएका परीक्षार्थीलाई आफूले अध्ययन गर्न चाहेको संस्थाको नाम उल्लेख गर्न लगाएर पुनः अर्को परीक्षाफल प्रकाशित गरिएको हो ।

गत साल माघ २२ गते शनिवार लिइएको प्रवेश परीक्षाको परीक्षाफल फागुन ११ गते पहिलोपटक प्रकाशित गरिएको थियो । लगत्तै नाम निस्केका विद्यार्थीहरूलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थासहित पुनः फारम भर्ना लगाइयो ।

विद्यार्थीले आफूलाई मन पर्ने दश वटा शिक्षण संस्थाको नाम भरिसकेपछि पुनः परीक्षाफल प्रकाशित गरिएको थियो । दोस्रोपटक चैतमा प्रकाशित परीक्षाफलले बीएससी सीएसआइटी पढ्न नाम निकालेका विद्यार्थीमाझ एउटा अन्योलको सिर्जना भयो ।

पहिलोपटक प्रकाशित परीक्षाफल

...........................................................................................................................................................................................

संस्थाको नाम उल्लेख गर्न लगाएर पुनः अर्को परीक्षाफल प्रकाशित


विद्यार्थीको अन्योलतामा 'गैर-कानूनी आर्थिक धन्दा'

त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीएससी सीएसआइटी पढाउन १५ आंगिक क्याम्पसहरू छन् भने ४५ क्याम्पसहरू सम्बन्धन प्राप्त हुन् । आंगिकमध्ये पाटन संयुक्त क्याम्पस र अमृत साइन्स क्याम्पस दुवैसँग १४४/१४४ विद्यार्थी पढाउने अनुमति छ । बाँकीमध्येका क्याम्पसले बढीमा ७२ र कम्तीमा ३६ विद्यार्थी पढाउन पाउने कोटा तोकिएको छ ।

आंगिक र सम्बन्धन प्राप्त ६० मध्ये कतिपय क्याम्पसहरू नाम सुनिएका छन् भने कतिपयको नाम बाहिर खासै सुनिएको हुँदैन । प्रवेश परीक्षामा पास भएका विद्यार्थीलाई उनीहरूको चाहनाका आधारमा क्याम्पस छनौट गर्न दिँदा उनीहरूले नाम सुनिएका अर्थात बाहिर प्रचार गरिएका क्याम्पसको मात्र नाम लिने गर्दछन् ।

नाम नसुनिएका र खासै प्रचारमा नरहेका क्याम्पसमा उपलब्ध हुने कोटामध्ये निकै कम विद्यार्थी मात्र भर्नाका लागि जान्छन् । जस्तै ३६ कोटा पाएको तर बाहिर नाम नसुनिएको कुनै एक क्याम्पसको नाम कोटा भन्दा निकै कम विद्यार्थीले भर्ने गर्छन् । फलस्वरूप त्यहाँ पढ्न पाउने विद्यार्थीको संख्या कम हुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका कतिपय कलेजले अहिले कोटा भन्दा निकै कम विद्यार्थी पढाउनु परेको छ, कारण हो दुईपटक विद्यार्थीको प्रवेश परीक्षाको नतिजा निस्कनु । प्रवेश परीक्षाको नतिजा निस्कनुले नाम नसुनिएका कलेजहरूको कोटा खोसिएको छ भने प्रवेश परीक्षा पास गरेका सबै विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा पढ्न पाउने अधिकारसमेत खोसिएको छ ।

अब प्रवेश परीक्षामा नाम निस्केर पनि भर्ना हुन नपाएका विद्यार्थीका लागि सजिलो च्वाइस बन्छन्, विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाहरू । विद्यार्थी संख्याका आधारमा एक वर्षमै ३/४ पटकसम्म भर्ना लिने उनीहरूको न त कुनै शैक्षिक कार्यक्रम त्रिभुवन विश्वविद्यालयसँग मिल्छ न त उक्त कार्यक्रमको समयावधि ।

परीक्षाफल प्रकाशनमै मोटो रकमको प्रभाव

गत माघमा भएको प्रवेश परीक्षा र त्यसको नतिजालाई आफूअनुकूल ल्याउन आइएनजी समूहमा रहेका ५ 'अवैधानिक' कलेजले मोटो रकम खर्च गरेको स्रोतको दाबी छ ।

शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने, 'त्रिभुवन विश्वविद्यालयसम्म नै अनाधिकृत पहुँच बनाएर आफूअनुकूल प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्न लगाउनेमा विदेशी सम्बन्धन प्राप्त कलेजहरूको हात छ भन्ने अपुष्ट सूचना आएको छ । यसबारे छानबिन गरी सत्य तथ्य बाहिर ल्याउँछौं ।'

स्रोतका अनुसार आइएनजी ग्रुपमा रहेका पाँच कलेजमध्ये लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त इस्लिङ्टन कलेज, इटहरी इन्टरनेसनल कलेज र इन्फर्म्याटिक्स कलेज पोखरा हुन् भने  युनिभर्सिटी अफ वेल्भरह्याम्प्टनबाट सम्बन्धन प्राप्त गरेका हेराल्ड कलेज र विराटनगर इन्टरनेसनल कलेज हुन् । सबै कलेजका संचालक एउटै व्याक्ति हुन् ।

त्रिभुवन विश्वविद्यालयले पहिलोपटक प्राथमिकताका आधारमा विद्यार्थीलाई शिक्षण संस्थाहरूको नाम भर्न लगाएको हो । यसले गर्दा कलेजहरूले पूर्ण कोटामा विद्यार्थी पाउन नसकेको कतिपय त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका कलेजहरूले गुनासो गरिरहेका छन् ।

अवैध ५ कलेजको विदेशी मुद्रा अपचलन गर्ने कर्तुत

यी पाँचवटै कलेजले सम्बन्धन प्राप्त गरेको भनिएका विश्वविद्यालयमा विद्यार्थीको फी तिर्ने प्रक्रिया पारदर्शी छैन । कम्प्युटिङ, आइटी सेक्युरिटी, मल्टिमिडिया टेक्नोलोजी जस्ता कार्यक्रमहरू संचालन गरेका यी कलेजहरूले इस्लिङ्टन एउटा गैर-कानूनी संस्था आइ एकेडेमी पीटीई लिमिटेड सिंगापुरमार्फत पैसा लन्डन पठाउने गरेको रहस्य बिजपाटीले यसअघि उजागर गरेको थियो  

सम्बन्धन दिने विश्वविद्यालयले सिधै विद्यार्थीलाई सक्कली इन्भ्वाइस पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ । तर इस्लिङ्टनले विदेशी मुद्रा अपचलन प्रयोजनकै निम्ति तेस्रो पक्ष खडा गरेर आर्थिक कारोवार गर्ने गरेको पुष्टि भएको छ  

सन् २०११ मा लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट सम्बन्धन लिएकै बखत इस्लिङ्टन लगायत ५ कलेजले आइ एकेडेमी पीटीई लिमिटेड सिंगापुर नामक संस्था खोलेका थिए । त्यतिबेलै उक्त संस्था, युनिभर्सिटी र उल्लेखित कलेजहरूबीच आर्थिक कारोबार हुने सम्झौता गरिएको थियो । 

पैसा अपचलन गर्ने प्रयोजनकै निम्ति खोलिएको संस्थाको कानूनी मान्यता नरहने शिक्षा मन्त्रालयका एक पूर्व कर्मचारीले बताए ।

'सिधा हेर्दा गैर-कानूनी रूपमा पैसा बाहिर पठाउन उक्त संस्था खोलिएको स्पष्ट हुन्छ । उक्त संस्थाबाट पैसा पठाउने अनुमति मन्त्रालयले दिनु हुँदैनथ्यो,' ती पूर्व कर्मचारीले भने । 

कम्युटरसम्बन्धी विषय पढ्न खोज्नेहरू 'शिकार'

सबै कलेजले कम्प्युटर र आइटीसम्बन्धी कार्यक्रमहरू संचालन गर्ने गरेका छन् । आइटी र कम्युटर पढ्न रुची भएका विद्यार्थीहरूलाई उनीहरूले तारो बनाउने गरेका छन् । यसका लागि त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षालाई उनीहरूले प्रभावित पारेर आफूअनुकूल नतिजा प्रकाशन गर्न लगाएका हुन् ।

पैसाका लागि कानून छल्ने, विदेशी मुद्रा अपचलन गर्ने, राजश्व र शिक्षा सेवा कर नबुझाउने र राज्यको कानून पालना नगर्ने ती कलेजहरूले मोटो रकम बुझाएर शिक्षा मन्त्रालयका कतिपय कर्मचारीलाई प्रभावमा पार्ने मात्र होइन, त्रिभुवन विश्वविद्यालयको प्रवेश परीक्षाको नतिजासमेत प्रभावित पार्ने गरेका हुन् ।

इस्लिङ्टन कलेजका एडमिसन म्यानेजर भन्छन् - 'चालू इन्टेकमा भर्ना भएका विद्यार्थीको संख्या औसतमा प्रतिकार्यक्रम १ सय ३० सम्म छ ।  त्यो भन्दा अगाडिको इन्टेकमा औसतमा ८० जना मात्र भर्ना हुन्थे, यसपछाडि कोभिडलगायत विभिन्न कारण रहेको छ ।'

नतिजा हेरफेरपछि बढ्यो कारोवार

उनको भनाइले पुष्टि गर्छ गत फागुनमा प्रवेश परीक्षाको नतिजामा छेडछाड गरिएपछि इस्लिङ्टन कलेजमा विद्यार्थी संख्यामा सयौं बढोत्तरी भएको छ । इस्लिङ्टनले एउटा कार्यक्रमका लागि प्रतिविद्यार्थी लगभग ८ देखि १० लाख हाराहारीसम्म फी लिन्छ । यस हिसाबले त्रिभुवन विश्वविद्यालयबाट चोरिएका विद्यार्थीबाट नै करोडौं रकम कुम्ल्याएको प्रष्ट हुन्छ ।

त्रिभुवन विश्वविद्यालयको विज्ञान एवं प्रविधि अध्ययन संस्थान (इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी)का डीन प्रोफेसर बिनिल अर्याल भने स्वार्थ समुहलाई पोस्नलाई दुईपटक परीक्षाफल प्रकाशित गरिएको विषयलाई अस्वीकार गर्छन् ।

'परीक्षाफल एकैपटक प्रकाशित हुन्छ, यहाँबाट दुईपटक भएको छैन,' अर्यालले बिजपाटीसँग भने, 'दोस्रो पटक निकालिएको भनिएको रिजल्टमा विद्यार्थीको प्राथमिकतामा परेका शिक्षण संस्थाहरू उल्लेख छन् । यसमा शंका गर्नुपर्ने कुनै कुरा छैन ।'

परीक्षाफल एक पटक प्रकाशित भएपछि शिक्षण संस्था नै उल्लेख गराएर महिना दिनको अन्तरमा फेरी दोस्रो पटक रिजल्ट किन निकालियो भन्ने प्रश्नको भने उनीसंग उत्तर छैन

यस अघि:

इस्लिङ्टनसहित ५ ‘अवैध’ कलेजमाथि कारवाहीको सिफारिस, यस्तो छ छानविन प्रतिवेदन

ब्रिटिश कलेज : शक्तिका आडमा दुई नम्बरी धन्दा, बेलायत घुम्न पाएपछि शिक्षामन्त्री दङ्ग !माग

इस्लिङ्टनले यसरी गर्छ सिंगापुर हुँदै बेलायतसम्म गैर-कानूनी आर्थिक कारोबार

ब्रिटिश कलेजको ठगीकाण्ड : ३ वर्षे कोर्षलाई अवैध रूपमा ४ वर्षे बनाएर विद्यार्थीसँग पैसा असूल !

बिजपाटी समाचार प्रभावः संसदमै उठ्यो विदेशी सम्बन्धन लिएर चलेका कलेज खारेजको माग



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved