सन् १८८२ मा
स्विजरल्याण्डमा स्थापना भएको स्विस होटेल एसोसियसनको गैर-कानूनी सम्बन्धन बोकेर नेपालमा
संचालित ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेजले विद्यार्थीलाई
नक्कली प्रमाणपत्र बाँडिरहेको छ ।
२०५९ सालमा
बनेको विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा संचालन गर्नेसम्बन्धी
निर्देशिकाविपरित गेट कलेजले होटेल एसोसियसनलाई विश्वविद्यालय भन्दै नेपालका
विद्यार्थीलाई झुक्याएको हो ।
स्विस होटेल एसोसियसन (एसएचए) इन्टरनेसनल एजुकेसन नेटवर्कको वेबसाइटमा भनिएको छ, 'यो विश्वको पुरानो औद्योगीक संरचना र उत्कृष्टताको केन्द्र साथै आतिथ्य उद्योगको गैर-नाफामुखी छाता संगठन हो ।'
निर्देशिकामा
विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर नेपालमा प्रकृया पुर्याएर कलेज खोल्न
पाइने उल्लेख छ । तर गेट कलेजले विदेशी विश्वविद्यालय होइन, होटेलको छाता संस्थाबाट
सम्बन्धन लिएर यहाँ पठन-पाठन गर्दै आइरहेको छ ।
एसएचएको वेबसाइटमा
कहीं पनि उक्त संस्थाले आफू विश्वविद्यालय रहेको दाबी गरेको छैन । एसएचएले बरू
स्विस सरकार, जुरिच विश्वविद्यालय र थप दुईवटा होटेल म्यानेजमेन्ट कलेजको सहायतामा
होटेल म्यानेजमेन्ट तालिम दिइने गरेको बताएको छ ।
गेट कलेजले
विदेशमा होटेल व्यवस्थापनसम्बन्धी तालिम दिने गैर-प्राज्ञिक संस्थाबाट सम्बन्धन
लिएर नेपालमा प्राज्ञिक कक्षाहरू संचालन गरिरहेको छ । शिक्षा मन्त्रालयका एक पूर्व
उपसचिवले बिजपाटीलाई दिएको जानकारी अनुसार गेटले शिक्षामन्त्री र मन्त्रालयका
कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर २०६४ मा गैर-कानूनी रूपमा सम्बन्धन लिएको हो ।
बिजपाटीले
बुधवार 'गेटको 'गैरकानूनी धन्दा' : कलेजकै नामबाट नक्कली ब्याचलर डिग्री, विद्यार्थीको हरिबिजोग' शीर्षकमा नक्कली प्रमाणपत्रको
तस्वीरसहित समाचार प्रकाशन गरेको थियो । उक्त समाचारको खण्डन गर्ने क्रममा गेटका
प्रवक्ता देवेन्द्र आचार्यले पनि गेट कलेजले कुनै विश्वविद्यालयबाट सम्बन्धन
प्राप्त नभएको पुष्टि गरेका छन् ।
बिजपाटीलाई पठाइएको
उक्त खण्डनमा भनिएको छ, 'गेट कलेज, स्वीजरल्याण्डको होटलरी स्वीस (एसएचए)सँग
सम्बन्धन प्राप्त नेपालको पहिलो कलेज भई हालसम्म हजार विद्यार्थी यस कलेजबाट दीक्षित
भई..... ।'
आचार्यले गेट कलेजले स्वीजरल्याण्डकै अर्को 'प्रतिष्ठित आतिथ्य सत्कार विश्वविद्यालय' इकोल डे लुजान (ईएचएल)बाट पनि सम्बन्धन लिएको दाबी गरेका छन् । जबकी शिक्षा मन्त्रालयबाट बिजपाटीलाई प्राप्त दस्तावेजमा गेटले ईएचएलबाट सम्बन्धन लिएको देखिँदैन ।
मन्त्रालयले
२०७८ सालको पुसमा डा. रामकृष्ण तिवारीको नेतृत्वमा स्विचिङ र कार्यक्रम थपघट गर्ने
प्रयोजनका लागि गठन गरेको उपसमितिले अहिलेसम्म काम नसकेको र प्रतिवेदन नबुझाएको
स्वयम् तिवारीले नै बिजपाटीलाई बताएका छन् । यसको अर्थ हो, कानूनी रूपमा गेटले अहिले
नयाँ विश्वविद्यालयको सम्बन्धन पाएको छैन ।
प्रवक्ता
आचार्यले नयाँ विश्वविद्यालयबाट सम्बन्धन पाएको भनी खण्डनमा झुट बोलेका छन् ।
यद्यपी उक्त उपसमितिले गरेको अनुगमनका
क्रममा गेटले नक्कली डिग्री बाँडिरहेको पाएपछि तत्काल नयाँ विश्वविद्यालयको
सम्बन्धन नलिए कारवाही गर्ने चेतावनी दिइएको थियो ।
गेटले दुई तरिकाले विद्यार्थीको शैक्षिक भविष्यमाथि खेलवाड गरिरहेको छ । पहिलो सम्बन्धन दिने स्विस संस्था विश्वविद्यालय होइन भने दोस्रो जुन विश्वविद्यालयको सम्बन्धन प्राप्त भनिएको छ, त्यो सम्बन्धनको दाबी अहिलेसम्म झुटो छ ।
तर अचम्म के
छ भने यसरी गेटले पढाइरहेको नक्कली डिग्रीलाई त्रिभुवन विश्वविद्यालयले समक्षताको
प्रमाणपत्र भने खुरुखुरु दिने गरेको छ । होटेल एसोसियसनको सम्बन्धन प्राप्त गरेको गेटले
चलाएको कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालयले समकक्षता दिनुमा ठूलो आर्थिक चलखेल
रहेको स्रोतहरूले दाबी गरेका छन् ।
शिक्षा
मन्त्रालयको उच्च शिक्षा महाशाखाका सहसचिव कमल पोखरेलले विदेशी विश्वविद्यालय वा
विश्वविद्यालय तहको संस्थाबाट लिएको सम्बन्धन आधिकारिक हुने बताए ।
'विदेशी विश्वविद्यालय या विश्वविद्यालय तहको संस्थाबाट सम्बन्धन प्राप्त गरेर मात्र नेपालमा शिक्षण संस्था संचालन गर्न सकिन्छ,' पोखरेलले बिजपाटीसँग भने, 'अन्यथा त्यो गैर-कानूनी हुन्छ ।'
होटेलसँग सम्बन्धन लिएर विदेशी विश्वविद्यालयको नक्कली प्रमाणपत्र बाँडिरहेको गेटले बिजपाटीलाई पठाएको खण्डनमा भने कानूनी कारवाहीमा जाने धम्की दिएको छ । गैर-कानूनी रूपमा सम्बन्धनका नाममा विद्यार्थीहरूको शैक्षिक भविष्य बिगारिरहेको गेटले समाचारमा प्रमाणसहित उल्लेख गरिएका तथ्यहरूले आफ्नो प्रतिष्ठामा आँच पुगेको हास्यास्पद खण्डनपत्र बिजपाटीलाई पठाएको हो ।
बिजपाटीले बुधवार समाचार प्रकाशन गर्नुपूर्व आफूलाई कलेजको फ्रन्ट डेस्क अफिसर बताउने विक्रम तामाङसँग कुराकानी गरेको थियो । तामाङले पहिला एसएचए डिग्री बाँडिने गरेको र अहिले ईएचएल डिग्री बाँडिने गरेको बताएका थिए ।
अनि प्राज्ञिक प्रमाणपत्र (academic certificate)मै कलेजको नाम र विदेशी होटेलको नाम उल्लेख गरेर बाँड्ने चलन कहाँ छ भनेर सोध्दा तामाङले जवाफ दिन सकेनन् । यसबारे जानकारी भएको प्रिन्सिपल या संचालकको फोन नम्बर माग्दा उनले दिन नमिल्ने भन्दै फोन काटेका थिए ।
समाचार प्रकाशनअघि र पछि पनि गेट कलेजले आफूलाई ठगी गरेको भन्दै केही विद्यार्थी बिजपाटीको सम्पर्कमा आएका छन् । तिनीहरू बारेको समाचार थप फलोअपमा गरिनेछ ।
यसअघिको समाचार - गेटको 'गैरकानूनी धन्दा' : कलेजकै नामबाट नक्कली ब्याचलर डिग्री, विद्यार्थीको हरिबिजोग