
मलेसियाको राजधानी
क्वालालम्पुरबाट दश किलोमिटर पश्चिम पेतालिङ जयामा रहेको लिंकन युनिभर्सिटी कलेज एउटा
डिपार्टमेन्टल स्टोरले ओगट्ने आकारको भवनमा सञ्चालन भइरहेको छ । जबकी त्यही लिंकन
युनिभर्सिटीबाट सम्बन्धन प्राप्त नेपालका कलेजहरू त्यो भन्दा भव्य र आलिसान भवनमा
चलिरहेका छन् ।
विदेशी विश्वविद्यालयको
सम्बन्धनमा नेपालमा संचालित ८६ कलेजमध्ये १२ (मन्त्रालयले पछिल्लो पटक स्वीकृति
दिएको स्विचिङको तथ्यांक आइनसकेको) कलेजहरू मलेसियाको एउटा सामान्य ६/८ कोठे
फ्ल्याटमा चलिरहेको र सन् २०११ मा मात्र कलेजबाट युनिभर्सिटीमा अपग्रेड भएको
संस्थासँग सम्बन्धित छन् ।
रोचक कुरा त के छ भने पार्किङसमेत नभएको लिंकन युनिभर्सिटीले आफ्नो विज्ञापन भने अर्कै भव्य भवन देखाएर गरिरहेको छ । केही महिनाअघि लिंकनले गरेको कार्यक्रममा नेपालबाट मलेसिया घुम्न गएका एक व्यक्तिले बिजपाटीलाई लिंकन विश्वविद्यालयको तस्वीर उपलब्ध गराएका छन् ।
बिजपाटीले
शुरूमा लिंकनबारे समाचार लेखिसकेपछि सम्पर्कमा आएका लिंकनबाटै सम्बन्धन प्राप्त
टेक्सास इन्टरनेसनल कलेजका प्रिन्सिपल भेषराज पोखरेलले भनेका थिए, 'लिंकन
मलेसियाकै भव्य विश्वविद्यालय हो । भवन उस्तै छ । विश्वकै टप लेवलको विश्वविद्यालयलाई
तपाईंले फ्ल्याटमा संचालित भनेर समाचार लेख्नु हुँदैन ।'
तर त्यहाँको वास्तविकता भने पोखरेलले बताएको जस्तो छैन । पेतालिङ जया स्ट्रीटको एउटा सामान्य भवन जसको आकार एउटा मध्यमस्तरीय डिपार्टमेन्टल स्टोर जति पनि छैन, त्यसमा पोखरेलले दाबी गरेको विश्वकै भव्य विश्वविद्यालय संचालित छ । बिजपाटीलाई प्राप्त तस्वीरले पोखरेलको झुट बाहिर ल्याएको छ ।
लिंकन विश्वमा
संचालित ३० हजार विश्वविद्यालयमध्ये ४ हजार ६ तहमा पर्छ । विश्वविद्यालयलाई तहगत
रूपमा छुट्याउने मिडल इस्ट टेक्निकल युनिभर्सिटीले लिंकनलाई ४ हजार ६ औं स्थानमा
राखेको छ । जबकी लिंकनको सम्बन्धन प्राप्त नेपालका कलेज संचालकहरूले लिंकनलाई
विश्वकै नम्बर वान विश्वविद्यालय हो भन्दै विद्यार्थीमाथि ठगी गरिरहेका छन् ।
सन् २०२० मा
मलेसियाको राष्ट्रिय समाचार एजेन्सी बेरनामा (bernama.com) ले लिंकनले मलेसियाको शिक्षा
मन्त्रालयको निर्देशन पालना नगरेको समाचार प्रकाशित गरेको थियो । त्यसयता मलेसियाको
विश्वविद्यालय अनुदान आयोगले लिंकनलाई पटक-पटक निर्देशिका पालना गर्न चेतावनी
दिँदै पत्राचार गरेको थियो ।
लिंकन
मलेसियामा कालोसूचीमा परेको विश्वविद्यालय हो । मेडिसिन प्रोग्रामअन्तर्गत यसलाई
त्यहाँको सरकारले कालोसूचीमा राखेको हो । तर, नेपालमा भने सम्बन्धनका नाममा लिंकनले राज
गरिरहेको छ । कालोसूचीमा परेको विश्वविद्यालयको सम्बन्धनमा लिएर नेपालमा पढाउनेहरू
भने आफूलाई विश्वस्तरीय शिक्षा दिन पाएकोमा झुटो गर्व गरिरहेका छन् ।
मलेसियामा
अहिले जम्माजम्मी ९२ विश्वविद्यालयहरू छन् । तीमध्ये २० विश्वविद्यालयहरू सरकारी
हुन् भने बाँकीमध्ये लिंकन ३८ औं नम्बरमा पर्छ । लिंकनको सम्बन्धन लिएर भारतमा
संचालित दर्जनौं कलेजहरू कारवाहीमा परेका छन् । त्यही लिंकनको नाममा यहाँ संचालित 'गैर-कानूनी'
कलेजहरूले भने विद्यार्थीलाई झुक्याउन सफल भएका छन् ।
लिंकनका
नाममा नेपालमा चलेका १२ मध्ये अधिकांश कलेजहरूले विश्वविद्यालयको गुणस्तर होइन, तत्कालीन
शिक्षामन्त्री चित्रलेखा यादवलाई आर्थिक प्रलोभनमा पारेर सम्बन्धन लिएका थिए । यादव
मन्त्री हुँदा केही कलेजले लिंकनको सम्बन्धन पाउने पक्कापक्की भएपछि एकजना अर्कै
कलेज संचालक पनि मलेसिया पुगेका थिए ।
आफ्नो नाम
उल्लेख नगर्ने शर्तमा उनले बिजपाटीलाई भने, 'त्यहाँ भएको झुटको खेती देखेर मैले
लिंकनको सम्बन्धन अस्वीकार गरेको हुँ । भन्ने एउटा कुरा थियो, त्यहाँ देखिएको
अर्कै थियो । मलाई लिंकन युनिभर्सिटी एउटा किराना पसल जस्तो लाग्यो । विश्वविद्यालयले
पूरा गर्नुपर्ने कुनै पनि मापदण्ड पूरा गरेको थिएन । अहिले पनि उस्तै छ ।' बिजपाटीको
सम्पर्कमा आएका ती व्यक्ति अहिले आफ्नै कलेजमा पूर्वान्चल विश्वविद्यालयका
कार्यक्रमहरू चलाउँछन् ।
लिंकनका
नाममा चलेका कलेजहरूले नेपालस्थित छुट्टै च्याप्टर पनि गठन गरेका छन् जुन कानूनी
रूपमा कहीं दर्ता छैन । शिक्षा मन्त्रालयलाई लिंकनका नाममा भइरहेको दादागिरी थाहा
नभएको होइन । तर स्रोतहरूको दाबीलाई विश्वास गर्ने हो भने प्रत्येक शिक्षामन्त्रीहरूलाई
लिंकनको तर्फबाट मोटो रकम भेटी पुग्ने गर्छ ।
'भेटी'का आडमा मन्त्रालयका कर्मचारी, मन्त्री र उच्चपदस्थ
कर्मचारीहरूले विद्यार्थीको शैक्षिक भविष्यमाथि प्रश्न चिह्न उठ्ने बनाइरहेका छन्
। मन्त्रालयले यस्ता बेथिति अन्त्य गर्ने भन्दै पटक-पटक समिति र आयोग बनाउने गर्छ
। तर शैक्षिक माफियाहरूले दिने आर्थिक प्रलोभनका आधारमा न उचित मूल्यांकन भइरहेको
छ, न त प्रतिवेदनहरू नै सार्वजनिक हुने गर्छन् ।
यी हुन्
लिंकनका नाममा नेपालमा गैरकानूनी रूपमा चलेका शिक्षण संस्थाहरू
• सेन्टर फर लिडरशिप एण्ड
आन्टरप्रेनरशीप प्राइभेट लिमिटेड ललितपुर
• पोखरा लिंकल इन्टरनेसनल कलेज पोखरा
• फोनिक्स कलेज अफ म्यानेजमेन्ट
काठमाडौँ
• नेपाल बिजनेश कलेज बिराटनगर
• टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्क
काठमाडौँ
• वेस्टर्न मेगा कलेज बुटवल
• लिंकन इन्टरनेसनल कलेज अफ
म्यानेजमेन्ट काठमाडौँ
• इलाइट इन्स्टिच्युट अफ फाइनान्स एण्ड
एकाउन्टेन्सी काठमाडौँ
• नेसनल कलेज अफ म्यानेजमेन्ट, टेक्निकल साइन्स काठमाडौँ
• ग्रीन पीस लिंकन कलेज इटहरी
• बाल्मिकी लिंकन कलेज झापा
• पाल्पा इन्टरनेसनल कलेज अफ
म्यानेजमेन्ट पाल्पा