
सरकारले संघीय
शिक्षा ऐन संशोधन विधेयक अघि बढाउने तयारी गरेको छ । शिक्षा मन्त्री देवेन्द्र
पौडेलले मंगलवार सामाजिक सञ्जालमा लेख्दै विधेयक समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट
पास भएको जानकारी दिएका हुन् ।
उनले लेखेका
छन्, 'संघीय शिक्षा ऐन संशोधन विधेयक समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट पास
भएको छ । यो विधेयकलाई यहाँसम्म पुर्याउन सहयोग गर्नु हुने सबैप्रति हार्दिक आभार
व्यक्त गर्दछु ।’
अहिलेसम्म ऐनको
अभावमा शिक्षक, कर्मचारी, निजी विद्यालय, विश्वविद्यालय, प्राविधिक शिक्षा, विश्वविद्यालय, शिक्षक सेवा आयोगलगायत सबै क्षेत्रले समस्या महसुस
गरिरहेका थिए ।
शिक्षा
मन्त्रालयका सहसचिव कमल पोखरेल पनि संघीय शिक्षा ऐनले धेरै कुराहरू सम्बोधन गर्ने
बताए ।
'संघीय शिक्षा
ऐन आएपछि धेरै समस्याहरू समाधान हुने देखेका छौं,' पोखरेलले बिजपाटीसँग भने,
'अहिले शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरू समाधान गर्ने गरी ऐन आउँछ भन्नेमा
हामी ढुक्क छौं ।'
संविधान जारी
भएको ६ वर्ष बितिसक्दा पनि उपयुक्त ऐनको अभावमा शिक्षा क्षेत्र लथालिंग भएको थियो ।
पुरानै ऐनअनुसार चलिरहेका शिक्षण संस्थाहरूले धेरै कानूनी जटिलता भोगिरहेका छन् ।
त्यस्तै ऐनकै
अभावमा विद्यार्थीको शैक्षिक भविष्यमा पनि असर परिरहेको थियो । तत्कालीन शिक्षा
मन्त्री गिरिराजमणि पोखरेलकै पालामा बनेको ऐनको ड्राफ्ट अहिलेसम्म थन्किएको थियो ।