मौका परीक्षाबारे पूर्वाञ्चल विश्वविद्यालय अझै अनिर्णित, स्रोत र साधनको अभाव छ - परीक्षा नियन्त्रक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 12:24:32 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वाञ्चल विश्वविद्यालयले स्नातकको सातौँ सेमेस्टरमा कृषि र भेटेनरीको परीक्षा दिएका विद्यार्थीहरूलाई मौका परीक्षाको अवसर दिन आनाकानी गरिरहेको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक अजयकुमार शाहले स्रोत र साधन नपुग्ने भन्दै सातौँ सेमेस्टरमा विषय लागेका विद्यार्थीहरूलाई मौका परीक्षाको व्यवस्था गर्न नमिल्ने आशय व्यक्त गरेका हुन् ।

बिजपाटीसँग कुरा गर्दै शाहले भने, 'विद्यार्थीको मागबमोजिम हामी छलफलमै छौं । तर मौका भन्दा पनि रेगुलर परीक्षाको समय छिटो आउने भएकाले त्यसतर्फ ध्यान दिन अलि गाह्रो छ । स्रोत र साधनको पनि अभाव छ ।'

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षासम्बन्धी विनियम २०७० को परिच्छेद ३ (५)को परीक्षा संचालनको बुँदा ४ मा सेमेस्टर परीक्षा प्रणालीमा अन्तिम वर्षको २ सेमेस्टरमा मौका परीक्षा संचालन हुने उल्लेख छ ।

विनियमअनुसार विश्वविद्यालयले विद्यार्थीहरूको मौका परीक्षा संचालन गरेको छैन । कृषि र भेटेनरीबाहेक अन्य संकायमा भने मौका परीक्षा चलिरहेको छ ।

विराटनगरमा रहेको पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएर संचालित इन्स्टिच्युटमा बीसीए र बीआइटी जस्ता अन्य संकायहरूको मौका परीक्षा भइरहेको तर कृषि र भेटेनरीमा मौका परीक्षा दिने व्यवस्था नगरिएको भन्दै विद्यार्थी आक्रोशित बनेका छन्  ।

बिजपाटीले यसअघि पूर्वाञ्चल विश्वविद्यालयले मौका परीक्षामा काखा/पाखा गरेपछि विद्यार्थीआक्रोशित,आन्दोलनको चेतावनी शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

यो विषय निकै पहिलादेखि उठिरहेको तर विश्वविद्यालय प्रशासन उदासीन देखिएको विद्यार्थीहरूको भनाइ छ । भरतपुरस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युट मात्र नभएर पूर्वाञ्चलबाट सम्बन्धन प्राप्त अन्य कलेजहरूमा पनि यस्तो समस्या देखिएको इन्स्टिच्युटका एक विद्यार्थीले बिजपाटीलाई बताए ।

इन्स्टिच्युटले पटक-पटक विश्वविद्यालय समक्ष परीक्षासम्बन्धी विनियम कार्यान्वयन गर्न आग्रह गरेपनि अहिलेसम्म सुनुवाइ नभएको प्रमुख कार्यकारी अधिकृत शिव सुवेदीले बिजपाटीलाई बताए ।

'विद्यार्थीलाई समस्या परेको छ यसकारण परीक्षासम्बन्धी विनियममा लेखेको कुरा कार्यान्वयन गरिदिनुपर्यो भनेर हामीले पटक-पटक उपकूलपति, डीन र परीक्षा नियन्त्रकलाई पत्र पठाएका छौं,' सुवेदीले भने, 'त्यो कुरालाई इग्नोर गरिएको छ ।'

यसअघि - 

पूर्वाञ्चल विश्वविद्यालयले मौका परीक्षामा काखा/पाखा गरेपछि विद्यार्थीआक्रोशित,आन्दोलनको चेतावनी


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved