त्रिवि अर्थशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय स्तरको अर्थशास्त्र सम्मेलन आयोजना, हरेक वर्ष आयोजना हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 05:39:56 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले राजधानीमा अर्थशास्त्रसम्बन्धि ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन (CEDECON's Annual International Conference Economics) आयोजना गरेको छ । देशको ज्येष्ठ विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट यस किसिमको सम्मेलन आयोजना गरेको हो ।
पहिलो दिन विभाग प्रांगणमा विशेष कार्यक्रमसहित सुरु भएको सम्मेलनको दोस्रो तथा तेस्रो दिन २ वटा प्यानल छलफल र ६ वटा समानान्तर प्रस्तुतीकरण सत्र सञ्चालन भएको थियो । यी प्यानल छलफल र समानान्तर सत्रमार्फत् नेपाली, क्षेत्रीय तथा विश्व अर्थतन्त्रका विविध आयाम जानकारीमा आएको तथा नयाँ एजेन्डा अघि सारिएको विभाग प्रमुख प्रा. डा. शिवराज अधिकारीले बताउनुभयो ।
विश्वविद्यालयको अर्थशास्त्र विभागले यस स्तरको सम्मेलन आयोजना गरेको नेपालमै पहिलोपल्ट हो । सम्मेलनमा ६० भन्दा धेरै अर्थशास्त्री तथा अर्थतन्त्रका जानकारले धारणा प्रस्तुत गर्नुभएको थियो ।
हरेक वर्ष असोज ४ देखि ६ गतेसम्म यस स्तरको सम्मेलन आयोजना गर्ने योजना विभागको छ ।
६३ वर्षे इतिहास बोकेको अर्थशास्त्र केन्द्रीय विभाग विश्वविद्यालयको पुरानोमध्ये एक विभाग पनि हो । असोज ४, २०१६ मा नेपालमा पहिलोपल्ट स्नाकोत्तर तहमा अर्थशास्त्र विषयको पढाई सुरु भएको हो । सोही दिनलाई हरेक वर्ष अर्थशास्त्र दिवस मनाउन थालिएको विभाग प्रमुख अधिकारीले बताउनुभयो । र, त्यसपछिका २ दिन यस वर्ष झै विशेष कार्यक्रममार्फत् सम्मेलनको प्राविधक सत्र आयोजना हुनेछ ।
सम्मेलनले केन्द्रीय अर्थशास्त्र विभागको ऐतिहासिक उपलब्धि तथा लिगेसीलाई संस्थागत गरी तिनलाई निरन्तरता दिनेछ । विभाग प्रमुख अधिकारीले देशको अर्थतन्त्र पहिचान तथा विश्लेषणमार्फत् भविष्यमा विभागलाई नेतृत्वदायी संस्था बनाउन सम्मेलनले दिशानिर्देश गर्ने बताउनुभयो ।
“विगत सम्झँदै, वर्तमानलाई उत्सवका रुपमा लिँदै तथा भविष्य सिर्जना गर्दै विभागलाई अर्थशास्त्र र देशको अर्थतन्त्रमा नयाँ धारण अधि सार्ने निकायका रुपमा स्थापित गर्न पनि सम्मेलनले भुमिका खेल्नेछ,” अधिकारीले भन्नुभयो । सम्मेलनले नयाँ खोजकर्ता तथा अर्थतन्त्रका अध्येतालाई पनि उत्तिकै स्थान र पहिचान दिएको अधिकारीको दाबी छ ।
यस वर्षको सम्मेलन विभाग स्थापनाकालदेखि प्राध्यापक तारा पद चौधरीले निःस्वार्थ सेवामार्फत् गरेको योगदानको चर्चामार्फत् सुरु भएको थियो । चौधरीले विभागमा ४३ वर्ष स्वयंसेवी भुमिकामा रहेका काम गर्नुभएको थियो । सन् १९६० मा कोलम्बो प्लानको एकेडेमिक एक्स्चेन्ज प्रोग्राम अन्तर्गत नेपाल आएका चौधरीले गणित, तथ्यांकशास्त्र र अर्थशास्त्रमा स्नाकोत्तर पुरा गर्नुभएको थियो । पहिलो सम्मेलनमा चौधरीको विशेष सम्झना गरिएको हो ।
यस वर्षको सम्मेलनमा सम्मेलन अवधिमा देशविदेशबाट आमन्त्रित वक्ताले देश, दक्षिण एशियाली क्षेत्र र विश्वको वर्तमान आर्थिक परिवेशको चर्चा गर्नुभएको छ ।
यो वर्षको सम्मेलनमा अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाललाई स्तरोन्नतीका एजेन्डा र २१ औं शताब्दीमा दक्षिण एशियाको क्षेत्रीय इन्टिग्रेसनमा प्यानल छलफल आयोजना गरिएको थियो । यस्तै, म्याक्रोइकोनोमिक्स, डेभलपमेन्ट इकोनोमिक्स, श्रम अर्थतन्त्र र बजार, कृषि र वातावरण अर्थशास्त्र, कोरोना र अर्थतन्त्र तथा बैंकिङ र वित्त विषयमा प्राविधिक कार्यपत्र प्रस्तुत भइ त्यसमाथि छलफल भएको थियो ।
सम्मेलनको उद्घाटन समारोहमा त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालय तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्रको चर्चा र त्रिविकी डिन प्रा. डा. कुशुम शाक्यले अर्थशास्त्र विभागको विद्यमान गतिविधिबारे चर्चा गर्नुभयो । यस्तै समापन समारोहमा विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषालले समापन मन्तव्य राख्नु भइको थियो । समारोहमा बंगलादेश, पाकिस्तान, भारत र नेपालका सहभागीहरुको सहभागिता रहेको थियो ।
यस्तो अन्तर्राष्ट्रिय सम्मेलन वार्षिक रुपमा आयोजना गर्नेगरी आगामी वर्षको असोज ४ गते उद्घाटन गरिने पनि घोषणा भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved