आर्थिक संकटमा फूलवारी क्याम्पस: शिक्षकको १ करोड तलब दिन बाँकी, उप-प्राध्यापक अनसनमा

झलक दवाडी

झलक दवाडी

Apr 06, 2023 | 09:41:37 PM मा प्रकाशित

laxmi  sunrise bank

 कैलालीको धनगढी उपमहानगरपालिका–१८ फूलवारी स्थित फूलवारी बहुमुखी क्याम्पस डेढ दशकमा पुग्न लाग्यो । यो अवधिमा क्याम्पसका कतिपय पूर्व विद्यार्थी देशको उच्च तहमा पुगे । केही अहिले पनि देशको भाग्यरेखा कोर्न व्यस्त छन् । क्याम्पस भने यतिबेला शिक्षकको तलब खुवाउन नसकेर ऋणको भारी बोकेर संघर्ष गरिरहेको छ ।  

 क्याम्पसका उप-प्राध्यापक बम बहादुर बम तलब नपाएको भन्दै तीन दिन देखि अनसनमा छन् । क्याम्पसले आफुलाई लामो समयदेखि तलब नदिएको भन्दै अनसन बसेका हुन् । फूलवारी बहुमुखी क्याम्पस अहिले चरम आर्थिक संकटको गोलचक्करमा छ  ।  क्याम्पसको दिगो आर्थिक स्रोत र सरकारी अनुदान नहुँदा क्याम्पसमा आर्थिक संकट उत्पन्न भएको व्यबस्थापन समितिको भनाइ छ । आर्थिक संकटका कारण  क्याम्पसमा  कार्यरत  प्राध्यापक तथा कर्मचारीहरुले  लामो समय देखि तलब खान नपाएको भन्दै  क्याम्पसका प्राध्यापक र बिद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।  

२०६६ सालमा स्थापना भएको क्याम्पस संचालन गर्न विगतमा स्थानीय अगुवाले जति संघर्ष गरे त्यसपछिका दिनमा समेत उक्त क्याम्पसको आर्थिक तथा पूर्वाधारको अवस्थामा सुधार हुन भने सकेको छैन । फूलवारी कै पुरानो क्याम्पस, फूलवारी बहुमुखी क्याम्पस स्थानीय अगुवाले २०६६ सालमा स्थापना गरेपनि क्याम्पसलाई अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले आङ्गिक क्याम्पसको अनुमति दिएको छैन । विश्वविद्यालय अनुदान कार्यक्रममार्फत वर्षेनी १२ लाख हाराहारी आउने रकमले दुई प्राध्यापक पाल्न पनि मुस्किल छ । क्याम्पस अनुदानमा प्राप्तभएको १२ लाखबाहेक अन्य स्रोतको व्यवस्थापन आफैंले गर्नुपर्ने बाद्यतामा छ  ।

 क्याम्पसले आर्थिक स्रोतको व्यवस्थापन गर्न नसकेपछि  अर्थिक संकटका कारण प्राध्यापक र कर्मचारीहरुले लामो समय देखि तलब खान पाएका  छैनन् । प्राध्यापक र कर्मचारीहरुको करिब १ करोडभन्दा बढी तलब पाउनु पर्ने बताईएको छ । तलब नपाउंदा  क्याम्पसका उप-प्राध्यापक बम विद्यार्थी सहित सडकमा उत्रिएर आफु अनसन बस्नु परेको बताउछन्   । 

क्याम्पसमा कार्यरत कर्मचारी र प्रध्यापकहरुको गत आर्थिक वर्षको  असार मसान्त सम्म मात्र जनहि  ७८ हजार देखि २० लाख सम्म तलब पाउँन बाँकी रहेको देखिन्छ  ।  उप-प्राध्यापक बमले क्याम्पसबाट १८ लाख तलब पाउनु पर्ने रहेको भन्दै तलब नपाउँदा सम्म आन्दोलन जारी राख्ने बिजपाटीलाई बताए । 

प्राध्यापकहरुले तलब नपाउँदा पठन–पाठन नियमित नभएको भन्दै क्याम्पस ब्यवस्थापन समिति गम्भीर बन्नु पर्ने विद्यार्थीहरुको भनाई छ । क्याम्पसमा नियमित कक्षा संचालन नहुँदा समेत क्याम्पस ब्यवस्थापन समिति गम्भीर नभएकाले सडक अन्दोलन नै गर्नु परेको विद्यार्थीले बताए । विद्यार्थीहरुले माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने बताउदै क्याम्पस व्यवस्थापन समितिले चासो नदिएमा तालाबन्दि समेत गर्ने चेतावनी दिएका छन् । 

क्याम्पस २०६६ सालदेखि त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्तगरि संचालन हुँदै आएको छ । सो क्याम्पसमा  मानविकी र शिक्षा संकायको पढाई हुँदै आएको छ। क्याम्पसका  कर्मचारी र प्राध्यापकहरुको करिब १ करोड भन्दा बढी तलब दिनुपर्ने बाँकी रहेको बताउंदै  क्याम्पस प्रमुख रुद्र काफ्लेले प्रदेश सरकारले अनुदान सहितको दायित्व लिनुपर्ने बताए । सरकारी अनुदान  नहुँदा तलब खुवाउन समस्या भएको उनको भनाई छ । यता क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले दिर्घकालिन आर्थिक स्रोत नहुँदा क्याम्पस आर्थिक संकटमा परेको बताए । तलब खुवाउन आर्थिक जोहो गर्न आफुहरु प्रयासरत रहेको उनको भनाई छ ।  

देवकोटाले भनेजस्तै कैलालीका प्रायजसो क्याम्पसको नियति उस्तै छ । न्यून विद्यार्थी संख्या, आर्थिक अभावलगायत कारणले सामुदायिक क्याम्पसको अवस्था दयनीय छ । न्यूनतम पारिश्रमिकमा अध्यापन गराउनुपर्ने बाध्यता र त्यसमाथि पनि आर्थिक अभावका कारण प्राध्यापकले समयमा पारिश्रमिक पाउन समेत मुस्किल छ । धनगढी उपमहानगरपालिकाले यस वर्षदेखि क्याम्पसलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । ‘क्याम्पस हाम्रो उत्तरदायित्वभित्र पर्दैनन्,’ नगरप्रमुख गोपाल हमाल  भन्छन्, ‘पालिकाभित्रका शैक्षिक संस्था जोगाइराख्नुपर्छ भनेर यस बर्ष आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं ।’ नगर प्रमुख हमाले शैक्षिक वर्ष नै खेर जाने अवस्था आएकाले संस्थालाई जोगाउन सहयोग गर्न लागेको बताए । 

यस्तै क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष रमेश बस्नेतले भने अन्दोलनरत पक्षसँग संवादका माध्यमबाट समस्या सामाधान गर्ने  बताए । सरकारी क्षेत्रबाट पनि दायित्वबोध हुनु जरुरी रहेको बताउदै अध्यक्ष बस्नेतले दिर्घकालिन आर्थिक स्रोतमा  निरन्तर लागिपरेको बताए  । ‘यही देश हो, जहाँ राजनीतिकर्मी र पहुँचवाला कर्मचारीको सेवासुविधामा करोडौं खर्च गर्न बजेट हुन्छ तर शैक्षिक क्षेत्रमा लगानी गर्न हुँदैन,’ अध्यक्ष बस्नेत भन्छन्, ‘हामीले हाम्रो क्याम्पसका प्राध्यापकलाई समयमा पारिश्रमिक भुक्तानी गर्न नसक्दा हिनताबोध हुन्छ ।’ सञ्चालक समितिले विभिन्न क्षेत्रमा आर्थिक सहायताका लागि पटकपटक माग गरे पनि कसैलेले स्थानीय सामुदायिक क्याम्पसको शैक्षिक विकासका लागि ध्यान नदिएको अध्यक्ष बस्नेतले बताए । 

राजनितिक घेराबन्दी, सरकारी अनुदानको अभावमा क्याम्पसमा दिन प्रतिदिन समस्या उत्पन्न हुँदै  गएपछि स्थानियले चिन्ता व्यक्त गरेका छन् । सरोकारवाला  निकायले  क्याम्पसको आर्थिक समस्या सामाधानको बाटो खोजी विद्यार्थीहरुको भविष्यमाथि खेलवाड हुनबाट रोक्नुपर्नेमा अभिभावकहरुको भनाई छ।

जिल्लाका सबैजसो क्याम्पसमा शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकायमा पढाइ हुन्छ । ग्रामीण क्षेत्रका क्याम्पसमा बढीमा सयदेखि डेढ सय विद्यार्थी हुन्छन् । आम्दानीको मुख्य स्रोत नै विद्यार्थी हुने यस्ता क्याम्पसले बर्सेनि १२ देखि २० लाखसम्म हाराहारीमा संकलन गर्छन् । विद्यार्थी संख्या कम हुनु र स्थानीयदेखि केन्द्र सरकारको असहयोगले नै क्याम्पस सञ्चालनमा बाधा पुग्ने गरेको पाइएको छ   । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved