पालिकाले लथालिङ्ग बनाइदियो बझाङको नमूना स्कुल, चार प्रअबीच चार महिनादेखि लडाईं

झलक दवाडी

झलक दवाडी

May 09, 2023 | 02:24:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडा माध्यमिक विद्यालयका प्राधानाध्यापक धनबहादुर विष्टको कार्यकाल सकिएपछि गत माघ २६ गते शिक्षक योगेन्द्र धामी प्रधानाध्यापक नियुक्त भए । उनलाई विद्यालय व्यवस्थापन समितिले सर्वसम्मत प्रधानाध्यापक सिफारिस गरेपछि शिक्षा समन्वय इकाई कार्यालय बझाङले प्रधानाध्यापक नियुक्त गर्यो । 

माध्यामिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षक धामी सुनकुडा माविमा पहिलो तहका शिक्षक हुन् । विद्यालयमा कार्यरत सबै शिक्षकहरुको सहमतिमा प्रधानाध्यापक भएका धामीलाई बित्थडचिर गाउँपालिकाले पक्रिया नपुगेको भन्दै अख्तियारी दिन अस्वीकार गर्यो । सुनकुडा माविका शिक्षकका अनुसार आफू अनुकुलको शिक्षकलाई प्रधानाध्यापक बनाउने पक्षमा रहेका जनप्रतिनिधिहरुले शिक्षक धामीलाई प्रधानाध्यापकको अनुमति दिन विभिन्न बहाना बनाएर रोक्दै आए । 

विद्यालयको सबै कामकाज प्रभावित बनेको भन्दै चौतर्फी आलोचना खेप्नुपरेपछि  गत चैत्र २० गते बित्थडचिर गाउँ कार्यपालिका बैठकले उक्त विद्यालयमा प्रअ नियुक्तिको लागि नयाँ पक्रिया थाल्ने निर्णय गर्यो । 

कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाका प्रवक्ता हरिचन्द्र जोशीको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गर्ने र उक्त समितिले धामीको प्रअ नियुक्ति खारेज गरेर नयाँ प्रधानाध्यापक नियुक्त गर्ने पक्रिया अगाडि बढायो । 

शिक्षक धामीलाई हटाएर नमूना विद्यालयमा प्रधानाध्यापक हुन ५५ वर्ष उमेर हद पार गरेका मदन बमलाई प्रधानाध्यापक नियुक्त गर्ने प्रवक्ता जोशीले ठाडो निर्णय गरे । तर, शिक्षक बमले प्राधानाध्यापक पदमा बसेर काम गर्न नसक्ने भन्दै प्रेम काँडालाई निमित्त प्रअ दिएर आफू बिदामा बसे । उता योगेन्द्र धामी आफू प्रअ भएको भन्दै नियमित कामकाज आफैँले गर्दै आए । उनले जनप्रतिनिधिले आफ्नो स्वार्थका लागि विद्यालयमा राजनीति गरेको भन्दै उच्च अदालतमा मुद्दा दायर गरे ।

उनको मुद्दाको पेसी पनि लगत्तै भएकाले मुद्दा मामिला लडिरहनुपर्ने भन्दै धामीले आफू अनुकुलको शिक्षक जयराज अवस्थीलाई निमित्त दिए । यो सँगै राजनीतिक खिचातानीका कारण एउटा नमुना विद्यालयमा दुई जना प्रअ र २ जना निमित्त प्रअ गरी एउटा कुर्सीमा ४ जनाको तँछाडमछाड छ । 

शिक्षक कुर्सीको लडाइमा, विद्यार्थीको छैन ध्यान पढाइमा 

शिक्षकको राजनीतिक स्वार्थ र कुर्सीको लडार्इंले विद्यार्थीको पढाइमा बाधा पुगेको छ । सोही झगडाले विद्यार्थी भर्ना प्रक्रिया सुरु हुन् सकेको छैन ।  विद्यालयको खाता सञ्चालन नहुँदा विद्यालयको कामकाज र शिक्षकको तलब रोकिएको छ । विद्यालयको खाता सञ्चालन नभएपछि शिक्षकहरुले चार महिनादेखि तलब पाउन सकेका छैनन् भने अन्य कामकाजहरू समेत ठप्प भएका छन् ।

व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय ईकाइको निर्णयलाई लत्याएर बित्थडचिर गाउँपालिकाले भने प्रधानाध्यापकलाई विद्यालयको खाता सञ्चालनको अनुमति दिन आनाकानी गरिरहेको छ । प्रधानाध्यापक नियुक्ति प्रक्रिया नमिलेको भन्दै खाता सञ्चालनको लागि अनुमति रोकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रवक्ता हरिचन्द्र जोशीले सोही विद्यालयमा प्रधानाध्यापक नियुक्ति पक्रिया नपुगेकोले खाता सञ्चालनको अनुमति रोकेको स्वीकार गरे । उनले भने , ‘प्रधानाध्यापक नियुक्तिका लागि विद्यालय व्यवस्थापन समितिले आवेदन खोल्नुपर्छ, शिक्षकहरूबाट आएको आवेदनका आधारमा योग्यता पुगेको व्यक्ति प्रधानाध्यापक नियुक्त हुनुपर्ने हो, तर त्यहाँ त्यसो गरिएन र समितिले ठाडो सिफारिस गरेर प्रधानाध्यापक नियुक्ति गरियो, त्यसैले पालिकाले अनुमति रोकेको हो ।’ 

प्रवक्ता जोशीले आफू व्यवस्थापन समितिको पदेन सदस्यसमेत भएको र आफूलाईसमेत प्रधानाध्यापक नियुक्ति पक्रिया जानकारी नगराएको बताए । यता व्यवस्थापन समितिबाट विद्यालयको प्रधानाध्यापक बनेका धामीले आफूलाई विद्यालय व्यवस्थापन समितिले प्रक्रियागत रुपमा नै प्रधानाध्यापक नियुक्त गरिएको दावी गरे । उनले भने, ‘समितिले प्रक्रियागत रुपमा सिफारिश गरेर शिक्षा विकास तथा समन्वय इकाइले प्रधानाध्यापक नियुक्त गरेको हो, सोही आधारमा अहिले सबै कामकाजहरू गरिरहेको छु ।’ 

उनले थपे, ‘जिल्ला प्रशासन र शिक्षा ईकाइको अनुमतिमा आठ कक्षाको परीक्षा र १० कक्षाको परीक्षा केन्द्राध्यक्षको रुपमा सञ्चालन गरिरहेको छु तर गाउँपालिकाले भने राजनीतिक पूर्वाग्रह राखेर आफूलाई अनुमति दिन आनाकानी गरिरहेको छ ।’

उनले विद्यालयमा आफूभन्दा सिनियर शिक्षक मदन बम रहेको र उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न आफूलाई आग्रह गरेपछि समितिले आफूलाई सिफारिश गरेको बताए । प्रधानाध्यापक धामीले गाउँपालिका जनप्रतिनिधिहरुले आफू अनुकुलको शिक्षकलाई प्रधानाध्यापक बनाउने उद्देश्यले अनुमति दिन आनाकानी गरिरहेको बताए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अधिकारीले प्रधानाध्यापक नियुक्ति पक्रियामा कुनै विवाद नरहेकोले विद्यालयको खाता सञ्चालनको लागि पालिकाले अनुमति दिनुपर्ने बताए । उनले सबै पक्रियाहरु पुर्याएर नियुक्त सिफारिस गरिएको बताए ।

उनले भने,  ‘समितिले निर्णय गर्ने क्रममा कसले दाबि विरोध नगरेकाले सर्वसम्मत प्रधानाध्यापक सिफारिस गरिएको हो, कसले दावी विरोध गरेको भए आवेदन माग गर्ने तथा परीक्षा लिने हुन्छ तर एकल उम्मेद्वारी भएपछि सर्वसम्मत सिफारिस गरिएको हो ।’ उनले पक्रिया पुगेकै कारण शिक्षा विकास तथा समन्वय इकाइले नियुक्तिपत्र प्रदान गरेको समेत प्रष्ट पारे । अधिकारीले गाउँपालिकाले त्यसरी रोक्न नपाइनेसमेत बताए ।

गाउँपालिका शिक्षा शाखा प्रमुख नरेन्द्रबहादुर धामीले भने दुई जना नै प्रक्रियागत रुपमा अयोग्य भएको र धामीभन्दा पाको भएकाले बमलाई नियुक्ति गरेको बिजपाटीलाई बताए । उनले थपे, 'पर्सी अदालतमा पेसी छ त्यसपछि के हुन्छ भन्ने थाहा हुन्छ, अहिले केकस्तो हो भनेर भन्न सक्ने अवस्थामा छैन ।’

हाल धामी उच्च अदालतमा मुद्दा लड्दै छन् भने बम बिरामी भएर बिदामा बसेका छन् । अर्का दुई जना आफू अनुकुल निमित्त राखिएका प्रअ कुर्सीमा बस्न झगडा गर्छन् । उनीहरुको उक्त झगडाले विद्यार्थी भर्ना, शिक्षकको तलब, पाठ्यपुस्तक खरिददेखि सम्पूर्ण काम प्रभावित भएको छ ।  

समितिले विगत ४ वर्षदेखि कार्यरत माध्यामिक तह तृतीय श्रेणीका शिक्षक धामीलाई प्रधानाध्यापक सिफारिस गरेको थियो । सोही निर्णय र समितिको सिफारिसलाई आधार मानेर शिक्षा विकास तथा समन्वय ईकाइ बझाङले धामीलाई फागुन १६ गते प्रधानाध्यापक नियुक्त गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved