वालिङ सामुदायिक क्याम्पसमा आर्थिक सङ्कटकाल, समाधान गर्न सुझाव कार्यदल गठन

नारायण प्रसाद कोइराला

नारायण प्रसाद कोइराला

May 09, 2023 | 07:22:44 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जा जिल्लाकै प्रतिष्ठित क्याम्पस वालिङ बहुमुखी क्याम्पसमा आर्थिक सङ्कटकाल घोषणा गरिएको छ। २०३७ सालमा स्थपित वालिङ बहुमुखी क्याम्पसमा शिक्षक, कर्मचारीलाई दिनुपर्ने भुक्तानीको दायित्व बढेर ४ करोडभन्दा बढी पुगेपछि व्यवस्थापन समितिको बैठकले आर्थिक सङ्कटकाल घोषणा गरेको हो ।

विश्व विद्यालय अनुदान आयोग नेपालको  क्यूएए मान्यता लिनका लागि बढी स्थायी दरबन्दी सिर्जना गर्दा  क्याम्पसमा आर्थिक दायित्व बढेर आर्थिक अवस्था सङ्कटग्रस्त बनेको पाइएको छ। क्याम्पसको मुख्य आम्दानीको स्रोतको रूपमा रहेको विद्यार्थीबाट प्राप्त हुने शुःल्क तुलनात्मक रूपमा एकदमै सस्तो रहेकाले पनि क्याम्पस आर्थिक रूपमा कमजोर बनेको क्याम्पस स्रोतले जानकारी दियो। क्याम्पसमा १६ जना पूर्णकालीन प्राध्यापक, ३० जना आंशिक प्राध्यापकसहित ६३ जना प्राध्यापक र कर्मचारी कार्यरत छन् । 

वालिङ सेरोफेरोका विद्यार्थीहरूलाई सस्तो मूल्यमा ११ कक्षादेखि स्नातकोत्तरसम्मको उच्च शिक्षाको अवसर प्रदान गरिरहेको यस क्याम्पसमा गुणस्तरका नाममा  आर्थिक दायित्व बढ्दा समस्या  भएको हो। क्याम्पसमा वित्तीय सङ्कट आइपरेपछि सो समस्याको समाधानका लागि विशेष पहल गर्न र जनस्तरबाट समेत सल्लाह सुझाव लिनका लागि आर्थिक  संकटकाल घोषणा गरिएको क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष हुमकान्त कोइरालाले बताए ।

आर्थिक सङ्कट समाधान गर्न वैशाख २४ देखि  कार्तिक मसान्तसम्म कायम रहनेगरी वित्तीय संकटकाल घोषणा गरिएको अध्यक्ष  कोइरालाले जानकारी दिए। समस्या समाधान गर्न सञ्चालक समितिका सदस्य डा अच्युतशरण अर्यालको संयोजकत्वमा वित्तिय समस्या समाधान सुझाव कार्यदल गठन गरिएको छ। कार्यदलमा  भरतप्रसाद बगाले, नित्यानन्द तिवारी, कविता भुषाल र अनुपमा ढुङ्गाना सदस्य रहेका छ्न्।

करिब २ वर्षको तलब दिन बाँकी

क्याम्पसमा कार्यरत शिक्षक, कर्मचारीले नयाँ पुराना गरी करिब २ वर्षको तलब भत्ता पाएका छैनन्। शिक्षक कर्मचारीलाई भुक्तानी दिनुपर्ने १४ महिनाको पुरानो बाँकी तलब, भत्ता १ करोड ९८ लाख, हालको ६ महिनाको बाँकी तलब, भत्ता करिब १ करोड ८ लाख र विभिन्न व्यक्ति तथा फर्महरुबाट पुरानो भुक्तानी माग गरिएको समेत गरी हालसम्म क्याम्पस करिब ४ करोड घाटामा रहेको क्याम्पस स्रोतले बतायो। २० महिनाको तलब भत्ता पाउन बाँकी रहेको क्याम्पसमा कार्यरत एक प्राध्यापकले जानकारी दिए।

क्याम्पसमा अख्तियारको आँखा

क्याम्पसमा आर्थिक पारदर्शिताको समस्या देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  प्राध्यापकको दोहोरो सेवासुविधा, महायज्ञको आम्दानीमा देखिएको अपारदर्शीताका विषयमा समेत अनुसन्धान गरिरहेको छ। क्याम्पसमा आर्थिक सङ्कट र अख्तियारको आँखा एकै पटक परेपछि क्याम्पस सञ्चालक समिति अप्ठ्यारोमा परेको छ।

क्याम्पसमा ११, १२ देखि स्नातकोत्तरसम्मका गरी करिब १ हजार ६ सय विद्यार्थी कार्यरत छ्न्। वालिङ सेरोफेरोका विद्यालय र क्याम्पसमा भन्दा वालिङ बहुमुखी क्याम्पसमा भर्ना शुल्क र  मासिक शुल्क तुलनात्मक रूपमा एकदमै कम छ। विद्यार्थीबाट प्राप्त हुने आम्दानीलाई हेर्दा क्याम्पसमा अझै पनि मासिक ५ लाख घाटा रहेको छ। 

सञ्चालक समिति र प्राध्यापकबीच दोषारोपण

क्याम्पसमा कार्यरत प्राध्यापकहरूले शैक्षिक गुणस्तर, क्याम्पसको आम्दानीभन्दा पनि आफ्नो आम्दानीलाई महत्व दिएर क्याम्पस सञ्चालक समितिलाई असहयोग गरेपछि क्याम्पस वित्तीय र राजनीतिक समस्याबाट गुज्रिएको एक सञ्चालक सदस्यले बताए। 

विघठित प्राध्यापक संघका अध्यक्ष यामबहादुर कुँवरले क्याम्पसको वित्तीय सङ्कटको मुख्य कारण सञ्चालक समिति नै रहेको बताएका छ्न्। वालिङ क्याम्पस वालिङको विकासको मुख्य आधार भएको बताउँदै कुँवरले  प्राध्यापकहरू जहिले पनि क्याम्पसको दिगो भविष्यको पक्षमा रहेको दाबी गरे। 

उनले  प्राध्यापकहरूसँग छ्लफल नै नगरी प्राध्यापक संघ विघठन गरिनु अराजकताको पराकाष्ठा भएको बताए। कुँवरका अनुसार सञ्चालक समिति आँफैले क्याम्पसको आम्दानी नहेरी थप आर्थिक दायित्व सिर्जना गर्दा क्याम्पस आर्थिक सङ्कटमा फसेको हो। 

सञ्चालक समितिको गलत व्यवस्थापकिय निर्णयका कारण नै क्याम्पसमा समस्या सिर्जनाभएको प्राध्यापकहरूको दावी छ। सञ्चालक समिति र प्राध्यापक सङ्घबीचको असमझदारीले पनि क्याम्पस अप्ठ्यारोमा परेको हो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved