नेपाल लाइफ इन्स्योरेन्सले प्रतिष्ठित शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रूप) मा लगानी गरेको छ। गुरुपुर्णिमाको दिन एक कार्यक्रमको आयोजना गरि नेपाल लाइफ र ग्लोबल ग्रूपबीच यसबारे सम्झौता भएको हो।
सम्झौताअनुसार नेपाल लाइफले ग्लोबल ग्रूपमा एक अर्ब ३४ करोड लगानी गर्नेछ। जुन ग्लोबल ग्रूपको ३५.३ प्रतिशत शेयर स्वामित्व र युनिग्लोब हायर सेकेण्डरी स्कुलको ४७.६ प्रतिशत स्वामित्व हो।
इक्विटी लगानीसम्बन्धि सम्झौतापत्रमा प्रोफेसनल एजुकेटर्स लिमिटेडका तर्फबाट अध्यक्ष डा खगेन्द्रप्रसाद ओझा र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गोविन्दलाल सङ्घाई, वरिष्ठ सञ्चालक तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल तथा दुवै प्रतिष्ठित कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, वरिष्ठ अधिकृतहरू, चार्टर्ड एकाउन्टेन्टहरू तथा कानुनी सल्लाहकारहरू समेतको उपस्थिति थियो।
लगानीका क्षेत्रमा नेपालमा पहिलो पटक संस्थागतरूपमा यस किसिमको अभूतपूर्व सहकार्य हुँदै मुलुकको शैक्षिक इतिहासमा नयाँ आयामको थालनी भएको ग्लोबल ग्रूपले जनाएको छ । शैक्षिक प्रवर्धनमुखी कदम र नयाँ प्रयोगका माध्यमबाट प्रोफेसनल एजुकेटर्स लिमिटेडले आफ्नो आगामी यात्राक्रममा शिक्षा क्षेत्रको दिगो संस्थागत संरचना खडा गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ ।
यो सहकार्यले राम्रो जोखिम व्यवस्थापनको साथ शिक्षाको एकीकरणलाई प्रतिबिम्बित गर्ने र यसले भविष्यमा व्यक्तिहरूको लागि आत्मनिर्भरता र राम्रो जीवनयापन सुनिश्चित गर्ने नेपाल लाइफका डेपुटी सीईओ अमित कयालले जनाएका छन्।
२०६१ सालमा प्रोफेसनल एजुकेटर्स लिमिटेड नामले स्थापना भएको ग्लोबल ग्रूपले, जसलाई प्रोएडले पनि चिनिन्छ, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज जस्ता ख्यातिप्राप्त शैक्षिक संस्थाहरूको स्थापना, व्यवस्थापन एवम् सञ्चालनका क्रममा निजी क्षेत्रको विशिष्ट योगदानस्वरूप विभिन्न क्षेत्रबाट उच्च योगदान पुर्याउँदै आएको छ।
त्यस्तै नेपाल लाइफ नेपालमा जीवन बीमा क्षेत्रकै पहिलो र ठूलो तथा पुरानो संस्था हो। नेपाल लाइफले आफ्ना १८५ शाखा तथा ५० हजार बढी एजेन्टमार्फत देशभर जीवन बीमा सेवा दिइरहेको छ।