उच्च शिक्षा अध्ययनका साथै सुन्दर भविष्यको सपनामा विदेशीने नेपाली विद्यार्थीको टिठ लाग्दो अवस्था छ। एक घरमा एक छोरी वा छोरा अध्ययनका लागि विदेश नगएको पनि भेट्टाउन मुस्किल छ ।
मानविकी संकायमा स्नातक तह उत्तिर्ण गरेपछि आफैं कमाउने र आफ्नै कमाइले परिवार पाल्ने भनी गोरखा जिल्लाबाट पढ्न आएकी रिता परियारका लागि काठमाडौं बसाई सुखद रहेन ।
कहिले जागिर पाउँनै मुस्किल, कहिले जागिर पाउँदा पनि अध्ययनमा बाधा । दुई वर्ष त्यतिकै बिताएकी उनी केही सिप नलागेपछि अन्ततः जापानी भाषा सिकेर विदेशिने निर्णयमा पुगिन् । स्वदेशमै केही गर्छु भन्ने आँट त थियो । तर, ‘काठमाडौंको यो दुई वर्षको बसाइँले म यहाँ नबस्ने निष्कर्षमा पुगे’ उनले भनिन् ।
जोरपाटी बस्ने कुमार खड्काको पनि उनको जस्तै छ, अवस्था । कुमार पनि हालै मात्र कक्षा १२ को परीक्षा दिएर बसेका छन् । नतिजा नआउँदै उनी विदेश जाने तयारीमा जुटेका छन्।
विदेश जानकै लागि उनले भाषा परीक्षाको तयारीलाई तिब्र बनाएका छन् । उनले भने,‘ मैले मेरो दिदी,दादाहरुको अवस्था देखेको छु, पढ्नु भएको छ तर, तलब २० हजार रुपैयाँ पनि छैन,न कुनै भविष्य,न कुनै योजना, कसरी र किन बस्न्ने यहाँ ? त्यसैले घरसल्लाहमा जाने तयारीमा छु ।
यस्ता प्रनिनिधिमूलक घटना प्रत्येक घरको समस्या र राज्यको प्रमुख चुनौति बनिरहेको छ ।तथ्यांकले पनि अवस्था बिकराल बन्द गएको देखाएकै छ। हरेक वर्ष वैदेशिक अध्ययन अनुमति पत्र लिनेको संख्यामा वृद्धि भइरहेको छ । शिक्षा मन्त्रालय अन्तगर्तको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा अनुसार गत आर्थिक वर्ष २०८०/ ०८१ मा मात्र १ लाख १२ हजार ५९३ विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७९३ जना बढी हो । विदेशी जाने नेपाली विद्यार्थीकै कारण देशको ठूलो धनराशि बाहिर गइरहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ११ महिनामा १ खर्ब १७ अर्ब ५८ लाख रुपैयाँ अध्ययनको नाममा बाहिरिएको छ ।अघिल्लो वर्ष २०७९ /०८० मा १ खर्ब ४२ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो । त्यतिबेला १ लाख ११ हजार ८०० जनाले अनुमति लिएका थिए ।
आव २०७८/०७९ मा ६७ अर्ब ७० करोड १६ लाख बाहिरिदा १ लाख ८० हजारले अनुमति लिएका थिए भने आर्थिक वर्ष २०७७/०७८ मा २४ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बाहिरिदा ४३ हजार ७० ले अनुमति लिएका थिए। आर्थिक वर्ष २०७६/०७७ मा २५ अर्ब ८१ करोड ३२ लाख बाहिरिदा २५ हजार ३०० ले अनुमति लिएका थिए ।
वैदेशिक अध्ययन अनुमति पत्र शाखा प्रमुख निर्पाधोज मगरका अनुसार दैनिक करिब ६०० भन्दा बढी बैदेशिक अध्ययन अनुमतिका लागि निवेदन पर्ने गरेको छ । जसमा ४०० हाराहारीमा विद्यार्थीले दैनिक रुपमा अनुमति पत्र लिने गरेका छन् ।
उनले भने, ‘विगतको तुलनामा अनुमति पत्र लिनेको संख्या बढेको छ, दैनिक ५००भन्दा बढी हुँदा भिड थामि नसक्नु हुन्छ ।’विदेश पढ्न जाने विद्यार्थीलाई नजाउ,अनुमति पत्र दिन्न भन्न मिल्दैन, बरु विद्यार्थीलाई रोक्न ‘पार्ट टाइम’अर्थात् घण्टाको आधारमा काम गरेको पैसा दिन सके विद्यार्थीलाई टिकाउन सकिने शिक्षा न्त्रालयका सूचना अधिकारी शंकर अधिकारी बताउँछन् ।
उनले भने,‘ हामीले विद्यार्थीलाई बुझाउन सक्नुपर्छ, अहिले बाध्यताले खाडीमुलुक र रहरले विदेश जानेको लहर नै छ, रोक्न सक्ने अवस्था पनि छैन,यसका लागि पूरै शिक्षा संरचना नै फेर्नुपर्ने हुन्छ।’ जापान, क्यानाडा,अष्ट्रेलिया, यूके, अमेरिका र कोरियालगायतका मुलुक नेपाली विद्यार्थीको प्राथमिकतामा पर्छन् ।
जापानका लागि सबैभन्दा धेरै बाहिरिए
मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/ ८१ मा सबैभन्दा बढि अर्थात् ३४ हजार ७३१ विद्यार्थीले जापानका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । त्यस्तै, क्यानडाको लागि १५ हजार ९८२,अष्ट्रेलियाको लागि १४ हजार ३७२, यूकेको लागि १३ हजार ३३९,अमेरिकाको लागि ११ हजार २६१ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन्।
सरकारले विद्यार्थीलाई स्वदेशमै रोजगारीको व्यवस्था र अध्ययनप्रतिको जिम्मेवारी लिन नसक्दा हरेक वर्ष यो संख्या बढेको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् ।
उनले भने,‘ राज्यले विद्यार्थीलाई खासै उपयुक्त कार्यक्रम केही ल्याउन सकेको छैन,तीन वर्षे पढाइ पूरा हुन पाँच वर्ष लाग्छ, अनि किन कोही नेपाल बस्ने भन्ने मानसिकता झनै बलियो बन्दै गएको छ।’