
देशभर बाढी पहिरोले एक सयभन्दा बढी विद्यालयमा क्षति पुगेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुसार एक सय १५ वटा विद्यालयमा पूर्ण र आंशिक रुपमा क्षति भएको छ ।
काभ्रे र ललितपुर जिल्लाका विद्यालयमा बढी क्षति भएको छ । पहाडी र हिमाली जिल्लाका धेरै विद्यालयहरु पहिरोको जोखिममा परेका छन् भने मधेस प्रदेशका अधिकाश विद्यालय डुवानमा परेका हुन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार तेह्रथुम, ललितपुर, मकवानपुर, काठमाडौं, भक्तपुर, चितवन, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, तनहुँ, गुल्मी, हुम्ला, जाजरकोट, सुर्खेत, सप्तरी, सिराहा, सर्लाही, पर्सा लगायतका जिल्लाका विद्यालय बाढी, पहिरोबाट प्रभावित भएका छन् । यी जिल्लाका विद्यालयहरुमा पूर्ण तथा आंशिक क्षति पुगेको हो ।
काभ्रेको रोशी र बेथानचोक गाउँपालिकासहित पनौती नगरपालिकाका विद्यालयहरुमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ । काभ्रेको ज्ञानज्योति प्रावि भवनमा पहिरोले क्षति गरेको छ ।