शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो एक सय दिनको कार्य उपलब्धि बिहीवार सार्बजनिक गरेकी छिन् । मन्त्रालयको नेतृत्व सम्हालेसँगै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक सयदिनभित्र गर्नुपर्ने ८ वटा विषयमा कार्यसम्पादन सम्झौता गरेकी मन्त्री भट्टराईले आफ्नो एक सय दिनका विभिन्न ४२ बुदे उपलब्धि मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गरेर सार्बजनिक गरेकी हुन् ।
मन्त्री भट्टराईको उपलब्धिमा पाठ्यक्रम परिमार्जनको पहलदेखि दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकतासम्म समेटिएका छन।
अनिबार्य तथा निशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना तयार गरिएको ,बिद्यालय तहको परीक्षा तथा मुल्यांकन प्रणाली सुधारको कार्ययोजना बनाएको मन्त्री भट्टराईले उल्लेख गरेकी छिन् ।
स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा रहेको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसमर अनिवार्य तथा निःशुल्क शिक्षाको तिनै तहका सरकारको जिम्मेवारी सहितको कार्यान्वयन कार्ययोजना तयार भएको छ । माध्यामिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको सोच अनुरूप कार्यान्वयन कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ । विद्यालय तहको परीक्षा तथा मूल्याङ्कन प्रणालीमा सुधारको कार्ययोजना तयार रहेको छ । विश्वविधालयको विधेयकको मस्यौदा तयार गरी नेपाल सरकार मन्त्रिपरिषद्मा पठाइएको मन्त्री भट्टराईले बताइन् ।
त्यस्तै उच्च शिक्षा विधेयकको मस्यौदा तयार गरी नेपाल कानुन आयोगमा पठाइएको जनाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विधेयकको मस्यौदा अर्थ मन्त्रालयको सहमतिका लागि पठाइएको छ । ९२४ ओटा शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरूको नवीकरण गरिएको र उक्त संस्थाहरूको आवश्यकताअनुसार आकस्मिक निरीक्षण अनुगमन गर्ने र नवीकरण पत्र दिँदा स्वीकृति पत्र, राजस्व समेतका कागजातको परीक्षण गर्ने निर्णय गरिएकोपनि मनत्रालयले जानकारी गराएको छ ।
मन्त्री भट्टराईको अनुसार रेडियोधर्मी पदार्थ तथा विकीरण सुरक्षा सम्बन्धमा मापदण्ड कार्यान्वयनका लागि ६ओटा स्वास्थ्य संस्थाको अनुगमन सम्पन्न भएको छ।
त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाठ्यक्रम सुधारको खाका तयार भएको छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरूबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरू व्यवस्थित गर्ने कार्ययोजना निर्माण भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय र साझेदारीका लागि सातै प्रदेशका सामाजिक विकास मन्त्री, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ सम्मिलित विषयगत समितिका तीनओटा बैठक सम्पन्न गरिएको छ ।
मौजुदा विधालय शिक्षक दरबन्दीको पुनरावलोकन गरी अपुग दरवन्दीको विश्लेषण साथ प्रस्ताव गर्न कार्यदल गठन गरिएकोपनि मनि भट्टराईले आफ्नो सय दिनको कार्यकमा समावेश गराएकी छिन् । त्यस्तै शिक्षकसँग पाठ्यक्रम विकास केन्द्र कार्यक्रम सञ्चालन निर्देशिका, २०८१ स्वीकृत गरी कार्यान्वयनमा रहेको छ ।
प्राविधिक धार कक्षा ९९(१२) मा अध्यापन गराउने शिक्षकहरूको बिषयगत योग्यता निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।