काठमाडौं– यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले चैत ७ गतेदेखि सुरु हुने परीक्षाका लागि आवश्यक सबै सामग्री जिल्लाहरूमा पठाइसकेको जनाएको छ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार, गतवर्षको तुलनामा यसवर्ष परीक्षार्थीको संख्या ४९ हजार २८६ जनाले वृद्धि भई ५ लाख १४ हजार ७१ पुगेको छ।
देशभर २,०७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ। प्रत्येक केन्द्रमा परीक्षार्थी संख्याका आधारमा निरीक्षक र सहायक केन्द्राध्यक्ष तोकिनेछन्। ७५ जना भन्दा कम विद्यार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नरहने व्यवस्था गरिएको छ।
यसवर्ष विशेष व्यवस्थाअन्तर्गत काठमाडौँ र दैलेखका कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीले परीक्षा दिन पाउने छन्। साथै, कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनबाट चार जना एचआईभी संक्रमित विद्यार्थी पनि परीक्षा दिने भएका छन्।
एसईई परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषा परीक्षा हुनेछ। चैत ८ गते अनिवार्य नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान तथा प्रविधि, चैत १३ गते सामाजिक, चैत १४ र १५ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन गरिनेछ।
यस वर्ष पनि लेटर ग्रेडिङ प्रणालीमै परीक्षाको नतिजा प्रकाशित गरिने छ। परीक्षा नियन्त्रण कार्यालयले उत्तीर्ण दर ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ। गतवर्ष मात्र ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।