देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि देशभरका २,०७९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ ।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना तथा मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ ।
यस वर्षको एसइई परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुनेछन् । गत वर्ष ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यसपालि परीक्षार्थीको सङ्ख्या ४९ हजार २८६ ले वृद्धि भएको छ ।
परीक्षा व्यवस्थापनका लागि १५० जना परीक्षार्थी भएको केन्द्रमा १ जना सहायक केन्द्राध्यक्ष तथा प्रत्येक २० जना विद्यार्थी बराबर १ जना निरीक्षक खटाइएको छ । ७५ जना भन्दा कम परीक्षार्थी भएका केन्द्रमा सहायक केन्द्राध्यक्ष नराख्ने व्यवस्था गरिएको छ ।
यस वर्षको एसइई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा मर्यादित बनाउन कडा सुरक्षासहितको व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।