शिक्षक आन्दोलनले रोकिएन विद्यार्थी भर्ना अभियान, पर्साका सबै पालिका प्रमुखहरू सक्रिय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2025 | 08:15:27 AM मा प्रकाशित

nepal oil ltd

काठमाडौँमा शिक्षक आन्दोलन उत्कर्षमा रहेकै समयमा पर्सा जिल्लामा भने विद्यार्थी भर्ना अभियानलाई रोक्नु नहुने निर्णय गरिएको छ । जिल्लाका १४ वटै पालिका प्रमुखहरू वैशाख ८ गतेदेखि १५ गतेसम्म घरदैलो भर्ना अभियान सञ्चालन गर्ने सहमतिमा पुगेका छन् ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले आज सम्पन्न पालिका प्रमुखहरूको बैठकमा विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन अवरुद्ध भएको र भर्ना अभियानलाई अघि बढाउन ढिलो गर्न नहुने निर्णय गरिएको बताए । सिंहका अनुसार संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएकाले पालिका प्रमुखहरू स्वयंले नेतृत्व गरेर अभियान सञ्चालन गर्न तयार भएको बताए ।

सिंहले भने, “विद्यार्थीको पढ्न पाउने अधिकारमा बन्द, हडतालले हस्तक्षेप गर्न मिल्दैन । हामी सबै पालिका प्रमुखहरू घरदैलो अभियानमार्फत नयाँ भर्ना कार्यक्रमलाई अगाडि बढाउने सहमतिमा छौँ।”

पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले विद्यालयमा ताला लगाएर आन्दोलन गर्नु शिक्षकको माग राख्ने तरिका नभएको बताए । उनले पठनपाठनलाई बन्द गरेर कुनै पनि समस्या समाधान नहुने भन्दै भर्ना अभियानमा ढिलाइ गर्न नमिल्ने धारणा व्यक्त गरे ।

जगरनाथपुरका अध्यक्ष श्रीकान्त यादवले शिक्षकहरूको केही माग संविधान विपरीत रहेको र ती मागहरूबाहेक अन्य जायज मागहरूमा समर्थन हुन सक्ने बताए । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको र यसको असर जनप्रतिनिधिमा पर्ने भएकाले तत्काल भर्ना अभियान सुरु गर्नुपर्ने बताए ।

जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख हरि राउतले काठमाडौँ केन्द्रित आन्दोलनले गाउँका शिक्षकलाई प्रभाव नगरेको भन्दै गाउँघरमै रहेका ६० प्रतिशतभन्दा बढी शिक्षकले भर्ना अभियानमा सहयोग गर्नुपर्ने बताए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved