
सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीच भएको वार्ता सकारात्मक निष्कर्षतर्फ उन्मुख भएको छ। सोमबार राति सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता तयारी अपूर्ण भएका कारण सहमति टुङ्गो लाग्न नसकेको भए पनि दुवै पक्ष सकारात्मक रहेको बताएका छन्।
सरकारकोतर्फबाट शिक्षामन्त्री रघुजी पन्तको नेतृत्वमा वार्ता भएको थियो भने महासङ्घको प्रतिनिधित्व अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गरेका थिए। वार्तापछि शिक्षामन्त्री पन्तले केही विषय टुङ्गो लगाउन बाँकी रहे पनि समग्रमा वार्ता सकारात्मक दिशातर्फ अघि बढेको प्रतिक्रिया दिएका छन्। उनले सरकार कक्षा १२ को परीक्षा तोकिएको समयमा सम्पन्न गराउन प्रतिवद्ध रहेको र शिक्षकहरूको मागप्रति गम्भीर ढङ्गले छलफल भइरहेको बताएका छन्।
महासङ्घका अध्यक्ष सुवेदीले पनि केही विषयमा छलफल अघि बढेको भए पनि अझै महत्वपूर्ण मुद्दाहरूमा सहमति हुन बाँकी रहेको बताएका छन्। उनले आन्दोलन अन्त्यका लागि वार्ताबाट ठोस निकास निस्कनु आवश्यक रहेको स्पष्ट पारेका छन्।
यसअघि मन्त्रिपरिषद्को बैठकले शिक्षामन्त्री पन्तलाई शिक्षक महासङ्घसँग वार्ता गरी समाधान निकाल्ने जिम्मेवारी दिएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पनि बुधबारभित्र आन्दोलनको समाधान खोज्ने सरकारको योजना रहेको बताएका थिए।
शिक्षकहरूले विद्यालय शिक्षा ऐनलगायत माग राखेर चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलन जारी राखेका छन्।