मध्यरातदेखि मौन अवधि सुरु - के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 11:47:34 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तह निर्वाचनको सम्पूर्ण प्रचारप्रसार सकिसकेपछि मतदातालाई आफ्नो धारणा बनाउन समय दिन चुनावअघिको दुई दिनलाई मौन अवधिको रूपमा राखिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।

"मङ्गलवार रातिदेखि नै अन्तर्राष्ट्रिय सीमानाकाहरू बन्द गरिने अन्तर्राष्ट्रिय अभ्यास समेत लागु गरिँदै छ," आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठ भन्छन्।

"मतदान अवधि नसकिँदासम्म यी प्रावधान कायम रहन्छन्।" वैशाख ३० गते शुक्रवार बिहान ७ बजेदेखि अपराह्ण ५ बजेसम्म मतदान हुने छ।

तर अन्तर्राष्ट्रिय उडानहरू भने रोक नलगाइएको बताउँदै मतदानको दिन नेपाल आउने यात्रु तथा पर्यटकलाई अन्य अनुमतिपत्र नलिएका हकमा सम्बन्धित टिकटका आधारमा होटलसम्म पुर्‍याउने व्यवस्था गर्न वायुसेवा कम्पनीहरूलाई भनिएको श्रेष्ठ बताउँछन्।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान हुने स्थानको ३०० मिटरआसपास रहेका प्रचार सामग्रीहरू पनि सम्बन्धित दलहरूले हटाउनुपर्ने आयोगको भनाइ छ।

अन्तर्राष्ट्रिय सीमामा अत्यावश्यक परेको हकमा अनुमति लिएर वारपार गर्न सकिने जनाइएको छ।

मौन अवधि: सबै चुनावी कर्यक्रम बन्द

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदानकेन्द्र बन्द नहुँदासम्मको अवधिमा प्रचारप्रसार पूर्ण रूपमा बन्द गर्न निर्वाचन आचारसंहिताले भनेको छ।

उक्त अवधिभरि कुनै पनि प्रकारका अन्तर्क्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन गर्न नहुने आचारसंहितामा उल्लेख छ।

"मतदाता प्रभावित गर्ने खालका कुनै पनि गतिविधि यस अवधिमा गर्न पाइँदैन," आयोगका सहसचिव श्रेष्ठ भन्छन्।

"नाराबाजी गर्नेदेखि प्रचारसामग्री वितरण गर्ने कुनै पनि काम यसबीचमा गर्न पाइँदैन। दबावरहित वातावरणमा मतदाताले आफ्नो दृष्टिकोण बनाउन सकून् भनेर चुनावका बेला त्यस्तो अवसर दिने गरिएको हो।"

मौन अवधिमा सामाजिक सञ्जालमा समेत मत माग्ने काम गर्न नहुने निर्वाचन आयोगले जनाएको छ।

आयोगले त्यसबीचमा मत माग्नका लागि धेरैलाई एकैपटक एसएमएस पठाउन सकिने सेवा समेत प्रदान नगर्न दूरसञ्चार प्रदायकहरूलाई निर्देशन दिएको छ।

मतदानको दिन के हुन्छ ?

आपत्कालीन सेवा र अनुमति लिएका हकमा बाहेक सवारीसाधनमा आउजाउ गर्ने वा यात्रु ओसार्ने काम मतदान हुने दिन पूर्ण रूपले रोक लगाइएको आयोगका अधिकारीहरूले बताएका छन्।

त्यस दिन समेत मतदान केन्द्रआसपास मतदातालाई दबाव दिने वा प्रभाव पार्ने काम हुन नदिन आयोगले आचारसंहितामार्फत् सबैलाई बाँधेको जनाएको छ।

त्यस दिन उम्मेदवार वा तिनका प्रतिनिधिले मतदानकेन्द्रमा निर्वाचन चिह्न वा सङ्केत भएका लुगा वा ब्याज लगाउन नहुने जनाइएको छ।त्यसैगरी चुनाव चिह्न झल्किने साङ्केतिक पोसाक वा वस्तु लगाउन, बोक्न वा देखाउन नहुने आयोगले जनाएको छ।

"त्यस दिन इन्धनयुक्त सवारी पूर्णत: रोक लगाइएको छ। तर साइकल चलाउन पाइन्छ। हामीले सकेसम्म सबै मतदाता हिँडेर पुग्नेगरी मतदान केन्द्र तयार पारेका छौँ," आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले भने।

तर त्यस दिन समेत निर्वाचन आयोग वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर चुनावी अनुगमन, पर्यवेक्षण, अशक्त व्यक्ति लगायतलाई यात्रा अनुमति पत्र जारी गरिने व्यवस्था रहेको बताइएको छ।

आयोगले सात महिनाभन्दा बढी अवधिको गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपमा असक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिक वा पूर्वस्वीकृति लिएका व्यक्तिहरूले अनुमतिपत्र लिएर यात्रा गर्न सक्ने जनाएको छ।

एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीका सवारीसाधनजस्ता अत्यावश्यक सेवा र कूटनीतिक प्लेट भएका सवारीसाधनले अनुमतिपत्र लिनुनपर्ने भनिएको छ।

चुनावको दिन उद्धार तथा सहायता उडानबाहेक नियमित आन्तरिक उडान समेत हुने छैनन्। -बा बिबिसीबाट 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved