यी कागजात भए मतदाता परिचयपत्र नभएपनि भोट हाल्न पाइने, जड्यालाई प्रवेशमा रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2022 | 08:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

मतदाता परिचयपत्र नभएका मतदाताहरूले पनि स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने भएका छन्। मतदाता नामावलीमा नाम समावेश भएर निर्वाचनले आयोगले प्रकाशन गरेको सूचीमा समावेश भएकाहरूले नागरिकता लगायतका कागजात देखाएर मात्रै पनि मतदान गर्न पाउने भएका हुन्।

निर्वाचन आयोगका अनुसार आयोगले प्रकाशन गरेको अन्तिम नामावलीमा नाम समावेश भएका तर परिचय पत्र नभएकाहरूको हकमा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाणपुर्जाको सक्कल प्रमाणपत्रका आधारमा मत दिन पाउने भएका हुन्।

मतदान अधिकृतले माथि उल्लेखित प्रमाण र आयोगको अन्तिम नामावली विवरण भिडाएर एकीन गरेपछि मत दिन पाउने व्यवस्था गर्ने आयोगले जनाएको छ । अधिकृतहरूलाई सोही अनुसार निर्देशन दिइएको छ ।

मतदानकेन्द्रमा जाँदा ध्यानदिनुपर्ने

बैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिन नदिनलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। 

त्यस्तै मतदानको दिन मतदानकेन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नावालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको छ ।

 त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन्।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved