किन मिसाइन्छ मतदानपछि नङमा लगाउने मसिमा सिल्भर नाइट्रेट र अल्कोहल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2022 | 09:58:59 PM मा प्रकाशित

laxmi bank citizenlife

स्थानीय तहको निर्वाचनमा शुक्रवार मतदान भएको छ। यस पटक भएको निर्वाचनमा सामाजिक सञ्जालमा सार्वजनिक व्यक्तित्वदेखि आममानिसले मतदान गरिसकेपछि अरूलाई पनि मतदानको लागि प्रेरित गर्न मसी लगाएको औँलाको फोटो साझा गरे।

केहीले मसी लगाएको औँला देखाउनुलाई रमाइलोको विषय समेत बनाएको उनीहरूको पोस्टमा देखिन्छ। केहीले भने मतदान गरेको पुष्टि गर्न तस्बिर नै सार्वजनिक गर्नुलाई अनुचित ठानेका छन्।

बुकाहोलिक्स पठन समूहकी संस्थापक सगुना शाहले फेसबुकमा व्यङ्ग्यात्मक ढङ्गमा लेखेकी छन्: "यहाँ आफूलाई भने चुनावपछिको 'अनिवार्य मसी'वाला बुढी औँला पोस्टको चिन्ता छ।"

त्यस्ता तस्बिरले मानिसमा नैतिक दबाव उत्पन्न गराउन सक्ने उनको बुझाइ छ।

उनले भनिन्,"मानिसहरूको चुप बस्ने रोजाइविरुद्ध दबाव दिएजस्तो लाग्छ। मतदान गर्न जान नसक्नेहरूलाई पनि यसले असर पुर्‍याउन सक्छ। त्यसैले त्यसरी औँलाको तस्बिर राख्ने प्रवृत्तिलाई व्यङ्ग्य गरेकी हुँ।"

उनकै पोस्टमा प्रतिक्रिया जनाउँदै केहीले जिज्ञासा व्यक्त गरेका छन्: नेल पोलिस लगाएको नङमा त्यो रङ लाग्छ त?

नङमा लगाउने रङ कस्तो अवस्थामा लाग्छ/लाग्दैन र कति समय रहन्छ भन्नेलगायत केही प्रश्नको जवाफ हामीले यहाँ समेटेका छौँ। मतदान गरिसकेको सङ्केतको रूपमा प्रयोग गरिने मसी यस पटक निर्वाचन आयोगमार्फत केन्द्रहरूमा पठाइएको अधिकारीले बताएका छन्।

कुल २१,९५५ वटा मतदान केन्द्रमा चार वटाको दरले मार्कर पठाइएको आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

"हरेक केन्द्रमा तोकिए बमोजिम नमेटिने मार्कर पठाइएको छ। बोलपत्र आह्वान गर्दा आएकामध्ये सबैभन्दा कम मूल्यमा उपलब्ध मार्कर खरिद गरिएको छ," अर्यालले भने।

किन प्रयोग गरिन्छ नङमा रङ?

निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठका अनुसार मतदान गरेका व्यक्तिको नङ र मासुको बीचमा रङ लगाइन्छ। यसले मतदान गरेका र नगरेका मानिस पहिचान गर्न सहज हुने र दोहोर्‍याएर मतदान गर्नबाट रोक्न सकिने उनले बताए।

"कतिपय अवस्थामा चिन्ह मेटेर मतदान गर्ने प्रयास हुनसक्छ। त्यस्तो अवस्थामा हत्तपत्त नजाने मसीको प्रयोग हुन्छ," उनले भने।

श्रेष्ठले ती मसी आयातित भएको जानकारी दिए।

कसरी बन्छ?

विज्ञहरूका अनुसार विकसित देशहरूमा बायोमेट्रिक प्रयोगबाट मतदान हुने हुँदा मसी लगाइन्न। नेपाल लगायतका देशमा भने अझै पनि मतपत्रमा छाप लगाएर मतदान गरिन्छ र उसले मतदान गरेको पुष्टि गर्न नङमा मसी लगाइन्छ। यसरी प्रयोग हुने रङलाई मेट्न गाह्रो हुने मसी प्रयोग हुन्छ।

रसायनशास्त्री डा. अक्कलदेव मिश्रका अनुसार उक्त मसीमा सिल्भर नाइट्रेट नामक रसायन, अल्कोहल, एन्टिफङ्गल र एन्टिब्याक्टेरियल पदार्थहरूको प्रयोग गरिन्छ।

सामान्यया गुलाबी रङको हुने मसीमा सूर्यको प्रकाश परेपछि कालो हुँदै जाने र मसीको रङलाई टिक्ने बनाउन सिल्भर नाइट्रेटको प्रयोग गरिने उनले बताए।

"निर्वाचनकै लागि बनाइने यस्ता मसीमा रङलाई केही समयसम्म रहने बनाउन १० देखि १८ प्रतिशत उक्त तत्त्व प्रयोग गरिन्छ," मिश्रले भने।

मसीलाई छिटो सुक्ने बनाउन अल्कोहल मिसाइन्छ भने छालाजन्य समस्या नदेखियोस् भनेर जीवाणुरोधी रसायनहरू राखिने उनले बताए।

"छालाको रोग एकबाट अर्कोमा नसरोस् भनेर विशेष सावधानी अपनाइएको हुन्छ।" 

त्यस्तै सुगन्धका लागि पनि विशेष रसायन प्रयोग हुने उनले जानकारी दिए।

कति समय रहन्छ?

दुईदेखि तीन हप्तासम्म रहने यस रङ मेट्नका निम्ति दैनिक प्रयोग हुने अम्लहरू प्रभावकारी हुन सक्ने डा. मिश्रले सुनाए।

"सामान्य खालका एसिडजन्य प्याज, कागतीको रसहरू प्रयोग गर्दा जान सक्छ। लगाउने बित्तिकै पानीले धुँदा कम समय रहने सम्भावना हुन्छ," उनले रङ लामो समय नरहने उपायहरू सुझाए।

मसी लगाउनुअघि चिल्लो पदार्थ वा औषधिजन्य सामग्री लगाएको अवस्थामा छालाले उक्त मसीलाई नसोस्न सक्ने सम्भावना इङ्गित गरे।

मसीको असर कस्ता?

डा. मिश्रका अनुसार रसायनयुक्त उक्त मसीले छाला पोल्ने, दुख्ने र निकै कम मानिसको हकमा सुजन हुने वा कालो रङको दाग बस्ने समस्या देखिन सक्छ।

"त्यस मसीलाई सुँघ्दा टाउन दुख्न सक्छ," उनले भने।

छाला रोग विशेषज्ञ डा. विकास पौडेलले भने यस्ता मसी स्वास्थ्यका लागि हानिकारक नहुने जिकिर गरे।

उनले सिल्भर नाइट्रेटले पराबैजनी विकिरणको सम्पर्कमा आएपछि मात्र नपखालिने गरी असर पार्ने जानकारी दिए।

"त्यसैले उक्त मसी पानीलाई आधार बनाएर तयार पारिएको हो भने सुरक्षित हुन्छ। तर चाँडो सुकोस् भनेर अल्कोहलको प्रयोग गरेको अवस्थामा चाहिँ छालालाई जलाउन सक्छ," डा. पौडेलले बताए।

केहीलाई मात्र यसले असर पार्ने भएकाले यस्तो मसी "असुरक्षित नभए पनि सावधानी अपनाउनु पर्ने" उनको तर्क छ।

को उच्च जोखिममा?

मतदाताभन्दा बढी रङ लगाउने स्वयंसेवकहरू रङको नकारात्मक असरबाट प्रभावित हुन सक्ने डा. पौडेलले बताए। "उनीहरू लामो समय रसायनजन्य मसीको सम्पर्कमा रहन्छन्। त्यसैले सुरक्षित रहने उपाय अपनाउन आवश्यक छ," डा. पौडेलले भने।

सिल्भर नाइट्रेट लामो समयसम्म छालामा रहे 'आरजाइरिया' नामक समस्या देखिन सक्ने उनले बताए।

यस स्वास्थ्य अवस्थाले मानिसको छाला, मुख र आँखामा हानी गर्न सक्छ। शरीरको निश्चित भागमा वा शरीरभरि गाढा नीलो रङको दाग देखिनु यसको लक्षण हो।

कसरी जोगिने?

कोठी र मुसाजस्ता छालाजन्य समस्या हटाउन वा अन्य चिकित्सकीय प्रयोजनमा पनि सिल्भर नाइट्रेट प्रयोग हुन्छ। यसको प्रयोगले ठुला समस्या नदेखिए पनि यसको मात्रा धेरै भए वा लामो समयसम्म छालामा रहे असर पुर्‍याउने जानकारहरू बताउँछन्।

त्यसैले समस्या नियन्त्रणका लागि रङ लगाउन बस्नेहरूले अनिवार्य रूपमा पन्जा लगाउनु उचित हुने डा. पौडेलको ठहर छ।

त्यस्तै रङ लगाइएको हात तुरुन्त धुनु वा आँखा, नाक, मुखलगायत अङ्ग नछुनुले पनि उपाय हुन सक्ने बताए।

"तुलनात्मक रूपमा छाला बलियो हुने भएकाले औँलामा समस्या नदेखिन सक्छ। तर आँखा, नाक, मुख संवेदनशील अङ्ग हो, जोगाउनु आवश्यक हुन्छ," उनले भने।

प्राविधिक विकासका बाबजुद मसीको प्रयोग कहिलेसम्म?

आयोगका सहसचिव समेत रहेका तुलसीबहादुर श्रेष्ठले विद्युतीय मतदान सञ्चालन गर्न सके मतदान र गणना मात्र नभई मतदाताको विवरण सङ्कलन गर्न पनि सहज हुने बताए।

तर यस पटकको स्थानीय तह निर्वाचनमा पनि विद्युतीय मतदान हुने छैन। उनले उपकरणदेखि प्रणाली जडान, व्यवस्थापन र नियमनसम्मै चुनौतीपूर्ण हुने भएकाले विद्युतीय मतदान नहुने बताए।

"निर्वाचनलाई सहज र सस्तो बनाउन विद्युतीय मतदान सुरु गर्ने भनिएको छ तर कानुनी पूर्वाधारहरू र प्रावधानहरू बनाउनु पर्ने हुन्छ। त्यसका लागि समय लाग्छ," उनले भने।

श्रेष्ठले विद्युतीय मतदान सुरु भएपछि मतदान गरेकाहरूको पहिचानका निम्ति मसी लगाउनु पर्ने शैलीको अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। -बीबीसीको सहयोगमा 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved