हालसम्म १३ हजार भन्दा बढी उम्मेदवार निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2022 | 05:42:16 PM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म निर्विरोधसहित १३ हजार भन्दा बढी उम्मेदवार निर्वाचित भएका छन् । सोमवार निर्वाचन आयोग, नेपालले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो ३ः३० बजेसम्ममा निर्विरोधसहित १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्वाचित भएको बताएका हुन् ।

जसमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएको उनले जानकारी दिए । त्यसैगरी वडा अध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ निर्विरोध निर्वाचित हभएको उनले उल्लेख गरे ।

विभिन्न कारणले मतदान स्थगित भएका धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका वडा नं. ६ को ठाकुरदेवी मा.वि., सप्तरीको रुपनि गाउँपालिका वडा नं. ५ को गा.वि.स. भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ को भगवती मा.वि.मा आज मतदान भएको प्रवक्ता पौडेलले बताउनुभयो । त्यसैगरी बझाङको केदारस्यु गाउँपालिका वडा नंं. ४ को जगन्नाथ उच्च मा.वि., बझाङको सुर्मा गाउँपालिका वडा नं. २ को आधार बगर मा.वि. र बझाङको सुर्मा गाउँपालिका वडा नं. ३ कृष्ण प्रा.वि. मतदान केन्द्रमा पनि शान्तिपूर्ण ढंगले मतदान भइरहेको उनले जानकारी दिए ।

उनले मतदान स्थगित भइसकेका विभिन्न स्थानहरुमा निर्वाचन भइसकेको र बाँकी रहेका मतदान केन्द्रहरुमा पनि छिट्टै सुचना दिएर निर्वाचन गराइने बताए । आयोगका प्रवक्ता पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि आयोग कहिँ पनि नचुकेको स्पष्ट पारे । उनले भने – ‘आयोगको दृष्टिमा सबै दल बराबर हुन्छन् । कोही काखा पाखा हुँदैनन् । निर्वाचन, निर्वाचन आयोगको संवैधानिक जिम्मेवारी नै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने नै हो । त्यो भनेको मत गणना गरेर परिणाम ल्याउने बेला सम्मकै ड्युटी हो । त्यो विषयमा आयोग कहीँ पनि चुकेको छैन । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउने कुरामा आयोग दृढ छ । र कहिँ चुकेको छैन ।’

छिटपुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनले बताए । प्रवक्ता पौडेलले १३० पालिकाको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved