निर्वाचनमा सरकारले नै गुण्डागर्दी गर्यो, प्रहरी कै गाडीमा पैसा बाँडे : महासचिव पोखरेल (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 01:00:08 PM मा प्रकाशित

laxmi bank ntc

 नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचन बिथोल्न सरकार नै गुण्डागर्दी गरेर लागि परेको आरोप लगाएका छन् । मंगलवार पार्टीको केन्द्रिय कार्यालय बल्खुमा आयोजित २९ औँ मदन–आश्रित स्मृति दिवसमा उनले सरकार पक्षले नै नेकपा एमालेको प्रभाव भएको स्थानमा निर्वाचन बिथोल्न लागि परेको र मतदाताहरुलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएको बताए  ।

उनले सरकारी ढंगले एकलौटी रुपमा मत पेटिका ओसार्ने काम गरेको र केही स्थानमा मत गणनापूर्व नै मतपेटिका खोलेको पाइएको पनि बताए ।महासचिव पोखरेलले नेकपा एमाले आउने चुनावमा गठबन्धनलाई पराजित गरेर जनमतका हिसावले मात्रै नभइ परिणामका हिसावले पहिलो पार्टी बन्ने दाबी गरे । उहाँले नेकपा एमालेमाथि मत परिणाम आउन थालेपछि विभिन्न आरोप लगायो भन्ने तथ्यहरु आइरहेको भन्दै एकपटक खटाइसकेका कर्मचारीहरुलाई परिवर्तन गर्नेसम्मका कुराहरु नियोजित रुपमा हुनु, संवेदनशील क्षेत्र भनेका ठाउँहरुमा सुरक्षा निकाय, कर्मचारी र नेतृत्व नै परिवर्तन गर्नु र प्रतिपक्षका कार्यकर्ता र उम्मेदवारहहरुमाथि मात्रै अपहरण गर्ने, सांघातिक रुपमा हमला गर्ने कार्य हुनुले सत्ता गुण्डागर्दीको सहारामा जनमतलाई प्रभावित बनाउन अग्रसर रहेको आरोप लगाए ।

महासचिव पोखरेलले भने , ‘कतिपय ठाउँमा गुण्डागर्दी गरेर मतदाता फकाइने काम भयो । मतदाता कम आउने तर भोट धेरै आउने विचित्रको अवस्था पनि देखाप¥यो । मतदानपछि स्वभाविक रुपमा लोकतान्त्रिक प्रक्रियामा मुचुल्का गरिकन, सीलबन्दी गरिकन बाकससहित प्रतिनिधिहरु लैजान पाउने व्यवस्थालाई यसपटक पालना गरिएन । प्रशासनले एकलौटी ढंगले बाकस लिएन जाने काम भयो । कतिपय ठाउँमा मत गणनापूर्व बाकसहको सील तोडेको पाइयो ।  सहज लोकतान्त्रिक प्रतिष्पर्धा हुँदा नेकपा एमाले अहिले पनि नेपालको सबैभन्दा ठूलो पार्टी हो भन्ने कुरामा कुनै सन्देह छैन । चुनावबाट प्रमाणित भएको छ । जनमतका हिसावले नेपालको पहिलो ठूलो पार्टी नेकपा एमाले नै हो । प्राविधिक रुपमा परिणामा हामी दोस्रो भयौँ होला, त्यो प्राविधिक विषय मात्रै हो । हामीसँग एक्लै मुकाबिला गर्नसक्ने आँट अहिले पनि कसैसँग छैन । त्यसअर्थमा जनमतका हिसावले नेकपा एमाले अहिले पनि पहिलो छ । आउने चुनावमा गठबन्धनलाई पराजित गरेर जनमतका हिसावले मात्रै होइन, परिणामका हिसावले पहिलो पार्टी बनाउनेछौँ । कतिपयले के भन्ने गर्छन् भने परिणाम आएपछि नेकपा एमालेको आपत्ति भन्ने अर्थमा टिप्पणी गरेको हामीले पाएका छौँ । तर हामीले निरन्तर रुपमा जुन प्रकारले व्यवस्थापन गर्ने खालको काम भयो त्यसप्रति हाम्रा असहमतिहरु निरन्तर रुपमा राख्दै आएका थियौँ । खास गरेर एकपटक खटाइसकेका कर्मचारीहरुलाई परिवर्तन गर्नेसम्मका कुराहरु नियोजित रुपमा गरिए । संवेदनशील क्षेत्र भनेर जसलाई हामीले पहिचान गरेका थियौँ, ती ठाउँहरुमा सुरक्षा निकाय पनि परिवर्तन गरियो, कर्मचारी र यतिसम्मकी नेतृत्वकर्ता समेत परिवर्तन गर्ने खालका कामहरु भए । अर्को कुरा निर्वाचनको अवधिमा भयरहीत तवरबाट चुनाव प्रचार गर्न पाउने कुरा लोकतन्त्रका लागि विशेषताको कुरा हो । तर हाम्रा जनप्रतिनिधिहरुले त्यो प्रकारको वातावरण सबै ठाउँमा प्राप्त गर्न सकेनन् । कतिपय ठाउँहरुमा अपहरण गर्ने, सांघातिक रुपमा हमला गर्ने, यो निर्वाचन अवधिमा जतिपनि घाईतेहरु छन्, ती घाईतेहरु प्रतिपक्षका कार्यकर्ताहरु मात्रै छन् । मुठभेड हो भने दुवै पक्षका हुन्छन् नि । यसले के बताउँछ भने सत्ता पक्ष गुण्डागर्दीको सहारामा जनमतलाई प्रभावित गर्ने खालको काममा अग्रसर रह्यो भन्ने कुरा प्रमाणित हुन्छ । दुई ठाउँमा मृत्यु भएको छ । त्यो घटनाको निष्पक्ष छानबिन होस् र दोषीउपर कडा कारबाही होस् । म सरकारसँग आग्रह गर्दछु । यसपटकको मौन समयमा नयाँ प्रवृति देखा परेको थियो । त्यो अवधिमा नियोजित रुपमा उम्मेदवारहरुको घरमा आक्रमण भयो । उम्मेदवारलाई हतोत्साही गर्ने खालको श्रृंखला नै चलाइयो । चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्ता पक्षका कार्यकर्ताहरु पुगेर पैसा वितरण भयो । त्यस घटनाको हामीले प्रतिवाद गरेका थियौँ । अर्को कुरा जहाँ नेकपा एमालेका प्रभाव क्षेत्र छन्, त्यहाँ निर्वाचन बिथोल्न तनाव सिर्जना गर्ने र सहजै निर्वाचन स्थगित गर्ने प्रकारको प्रवृति रह्यो ।’

महासचिव पोखरेलले सत्ता गठबन्धनले नेकपा एमालेको प्रभाव रहेको स्थानमा निर्वाचन बिथोल्न लागिपरेको र सहजै निर्वाचन स्थगित गर्ने प्रकारको प्रवृति देखाएको बताए । उनले चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्ता पक्षका कार्यकर्ताहरु पुगेर पैसा वितरण गर्ने काम भएको र यसलाई सरकारी पक्षले चासो नदिएको बताए । उनले स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा पार्टीका कार्यकर्ताहरुमाथि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरे । 


हेर्नुस भिडियो : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved