जेठ ५ भित्रै मतगणना सक्न निर्वाचन आयोगको निर्देशन, विवाद नगर्न दलहरुलाई आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2022 | 03:27:36 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले मतगणना कार्य थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । धेरै मत गणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकाहरुका हकमा बढीभन्दा बढी मत गणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोगले पुनः स्मरण गराएको हो ।

साथै विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशिघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न—गराउन आयोगले निर्देशन दिएको छ।

आयोगले यही बैशाख ३० गते मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही मतदान केन्द्रमा अनपेक्षित अवस्था सिर्जना भई मतदान स्थगन भएकोमा त्यस उपरान्त विभिन्न मितिमा मतदान कार्य सम्पन्न हुँदै गइरहेको जनाएको छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भएका पालिकाहरुको मतगणना कार्य प्रारम्भ भई आज मध्यान्हसम्म चार सय ६० पालिकाहरुको अन्तिम परिणाम प्राप्त भइसकेको र अन्यको परिणाम धमाधम आइरहेको आयोगले जनाएको छ । परिणाम आउन बाँकी पालिकाहरुमा मतगणना कार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम् प्रयास भइरहेको समेत आयोगले उल्लेख गरेको छ । 

आयोगले मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद ननिकाल्न पनि आग्रह गरेको छ  ।  आयोगले  सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भइ मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्ने जस्ता समस्याहरु खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा शुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथासमयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न पनि आग्रह गरेको छ। 

आयोगल  भनेको छ 'नेपालको संविधानबमोजिम विभिन्न तहका निर्वाचनको सञ्चालन, रेखदेख, नियन्त्रण र निर्देशनको समग्र जिम्मेवारी निर्वाचन आयोगमा रहेको प्रति कुनै द्विविधा नरहेको सन्दर्भमा केही सञ्चारमाध्यममा आएका अन्यथा अर्थ लाग्न सक्ने आशयको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । निर्वाचन पद्धति र प्रक्रियामा भ्रम उत्पन्न हुने खालका समाचार सम्प्रेषण नगर्न नगराउन आयोग आग्रह गर्दछ । तोकिएको जिम्मेवारी समयमै सम्पन्न गर्नका लागि चालिएका कदमउपर अन्यथा टिकाटिप्पणी गरी आयोगको गरिमा र निर्वाचन प्रक्रियाप्रति नै अविश्वास हुने गरी समाचार सम्प्रेषण नगर्न, नगराउन हुन आयोग सबैमा हार्दिक अनुरोध गर्दछ । यथासमयमा मतगणना सम्पन्न होस् भन्ने सबैको चाहनालाई विभिन्न मतगणनास्थलमा रहेका राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि र कर्मचारी वर्गले यथार्थरुपमा ग्रहण गरी उक्त चाहनाबमोजिम छिटो कार्य सम्पादन गराउन आयोग अपिल गर्दछ ।' 

  विद्यमान कानूनी व्यवस्थाबमोजिम बहालवाला स्थानीय जनप्रतिनिधिहरुको पदावधि यही जेठ ५ गतेसम्म रहेको र तत्पश्चात स्थानीय सरकारमा जनप्रतिनिधिविहीनता हुने अवस्थालाई मध्यनजर गरी जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी यथाशिघ्र परिणाम प्रकाशन गरी निर्वाचित जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न सम्भव तुल्याउन आयोगले सबैमा आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved