नवलपरासी ग्राउण्ड जिरो : कांग्रेस आधा, मतदाता टाढा, अझै पनि जित्ने 'डलर अर्बपति'को आशा

ईश्वर अर्याल/बिजपाटी

ईश्वर अर्याल/बिजपाटी

Oct 28, 2022 | 05:29:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल र नवलपरासी १ मा कांग्रेसको तर्फबाट चुनाव लड्न लागेका विवादित अर्बपति व्यापारी विनोद चौधरीबीच यतिबेला बोलचाल बन्द छ ।

स्थानीय कार्यकर्ता र जनतासँग राम्रो सम्बन्ध रहेका खनालले आफूले टिकट नपाएकोमा दुखेसो पोख्ने नै भए, तर त्यो भन्दा बढी दुख उनलाई टिकट पाएर आएका चौधरीले पार्टीसँग समन्वय नगर्दा लागेको छ । आफूनिकट कार्यकर्तासँग उनले भन्ने गरेका छन्, 'पार्टी कमिटी परिचालन नगरी कसरी चुनाव जितिन्छ, म पनि हेरौंला ।'

लामो समय नवलपरासीमा कांग्रेसको राजनीति गरेका खनाललाई बाइपास गरेर चौधरीले सभापति शेरबहादुर देउवालाई प्रभावमा पारेर नवलपरासी क्षेत्र नम्बर १ को टिकट लिए । यद्यपि उनी २०७४ सालको निर्वाचनबाट समानुपातिक सांसद बनेका थिए ।

चौधरीले काठमाडौँबाट लिएर गएका आफ्ना कर्मचारीहरूलाई ताली बजाएर सम्पर्क कार्यालय खोल्दै हिँडेका छन् । उनलाई निर्वाचन अभियानका क्रममा स्थानीय कार्यकर्ताले यतिबेला साथ नदिएको कांग्रेसकै कार्यकर्ताहरू स्वीकार्छन् ।

आफूलाई तरुण दलको सदस्य बताउने रामहरि गौतमले बिजपाटीसँग भने, 'अस्ति उ त्यहीं विनोद चौधरीले सम्पर्क कार्यालय खोलेका छन् । जम्मा ६०/७० जना उपस्थित थिए अरे । ती सबै उनले काठमाडौँबाट ल्याएका आफ्ना कर्मचारी मात्र हुन् ।'

चुनावी अभियानमा स्थानीय नेता कार्यकर्तासँग समन्वय नगरेका चौधरीले गरेको घरदैलो कार्यक्रममा आफू अर्बपति भएको र जति पैसा खर्च गरेर भएपनि विकास गरिदिने आश्वासन दिँदै हिंडेका छन् । उनले कांग्रेसको भन्दा पनि स्वतन्त्र भोट तान्ने रणनीतिमा यस्तो गरिरहेको त्यहाँको स्थानीय नेता कार्यकर्ताको बुझाइ छ ।

कांग्रेसको एउटा तप्काले आफूमाथि अन्तर्घात गर्न सक्ने आंकलनका साथ चौधरीले पार्टीको भन्दा पनि आफ्नो 'सम्पत्ति'को दुहाइ दिने गरेका हुन् ।

'उहाँलाई कांग्रेसको भोटको आशै छैन,' महामन्त्री खनालनिकट एक कार्यकर्ताले बिजपाटीसँग भने, 'काँग्रेसको भोटको आश हुन्थ्यो भने पार्टीको स्थानीय संगठनलाई विश्वासमा लिएर चुनावी अभियान संचालन गर्नुपर्थ्यो । म अर्बपति हुँ र यहाँको विकासका लागि उद्योग स्थापना गर्दिन्छु भन्दै हिँडेर मतदाताले पत्याउने स्थिति पनि छैन ।'

त्यहाँका मतदातालाई के चाहिन्छ, त्यहींको स्थानीय पार्टी संगठनलाई थाहा हुने उनले बताए ।

चौधरी यसअघि २ पटक समानुपातिक सांसद भइसकेका छन् । त्यसैले नवलपरासी १ मा आफूले टिकट पाउनेमा ढुक्क थिए खनाल । प्रधानमन्त्री पत्नी आरजु देउवाको ठाडो आदेशमा चौधरीले टिकट लिएर आएपछि यतिबेला खनाल चुपचाप बसेका छन् ।

खनालनिकट स्रोतका अनुसार उनले चौधरी अर्कोपटक त्यहाँबाट उम्मेदवार नबन्ने प्रतिबद्धता खोजेका छन् । चौधरीले त्यो क्षेत्र आगामी निर्वाचनमा पनि हडप्ने हो भने आफ्नो ३ दशक भन्दा बढीको राजनीति चौपट हुने बुझेका खनालले अर्कोपटक आफूले टिकट पाउनुपर्ने अडान लिएका हुन् । यस अर्थमा चौधरीको हारले खनालको राजनीतिक जित हुन्छ ।

चौधरीको घमण्ड र खनालको असन्तुष्टिले नवलपरासी १ कांग्रेसले गुमाउने स्थिति बनेको कांग्रेसका शीर्ष नेताहरूलाई थाहा नहुने कुरै भएन ।

त्यसैले दीपकुमार उपाध्याय, बालकृष्ण खाँण लगायतका नेताहरू चौधरी र खनालबीच सौहार्दता कायम रहोस् भन्ने चाहन्छन् । यतिबेला खनाललाई शीर्ष नेताहरूले पटक-पटक फोन गरेर 'मिलाउँला' भन्दै आश्वासन दिने गरेका छन् ।

उपाध्यायले केही दिनअघि खनाललाई फोन गरेर 'म आउँछु र गफ गरौंला' भनेका थिए । खाँणसँग पनि दैनिक जसो खनालको कुराकानी भएकै हुन्छ । चौधरीले भने माथिल्ला नेताहरूलाई प्रभावमा लिएपछि खनाल जसरी पनि साइजमा आउने भन्दै खनालसँगको कुराकानीलाई कुनै भाउ दिएका छैनन् ।

मनोनयनको दिन चौधरीको प्रस्तावकसमेत बनेका खनालले त्यसपछि चौधरीलाई असहयोग गर्ने निष्कर्षमा पुगेका हुन् । चौधरीको प्रस्तावक बसेका खनालले चौधरीबाट मोटो रकम लिएको भनेर चौधरीकै सचिवालयका मान्छेहरूले हल्ला गर्दै हिँडेपछि खनाल चौधरीको समर्थनबाट ब्याक भएको स्रोतको दाबी छ ।

तर बिजपाटीसँगको कुराकानीमा खनाल चौधरीसँग कुनै आर्थिक या अन्य सहयोग नलिएको दाबी गर्छन् । 'मैले पैसा लिएको भन्दै एकातिर हल्ला चलाएर अर्कोतिर तीर हान्ने षड्यन्त्र भयो,' उनको गुनासो छ, 'मैले विनोद चौधरीको सौहार्दपूर्ण मनोनयन गराउँछु, कालो झन्डा देखाउनेहरूलाई पनि मनाउँछु भनेकै थिएँ ।' उनले चौधरी पार्टीकै सम्पर्कमा नरहेको दाबीसमेत गरे ।

यसबारे चौधरीसँग बुझ्न खोज्दा आफू आफ्नो निर्वाचन क्षेत्रमा नभएकाले कुरा नगर्ने बताए । 'म अहिले मेरो निर्वाचन क्षेत्रमा छैन, केही बुझ्नुपरे मधुसँग कुरा गर्नुस्,' उनले भने । मधु चौधरीको सचिवालयका सदस्य हुन् ।

खनालले चौधरीलाई सहयोग गर्न अर्को शर्त पनि राखेका छन् । उनले प्रदेश सभा (ख) मा गठबन्धनको आधिकारिक उम्मेदवार रामानन्द यादवलाई समर्थन गर्नुपर्ने, चौधरीले टिकट दिलाएका कांग्रेसका देवकरण कलवार सन्तुको उम्मेदवारी निष्क्रिय बनाउनुपर्ने माग राखेका हुन् ।

गठबन्धनको शीर्ष नेतृत्वले त्यहाँको प्रदेश (ख) माओवादीको भागमा पर्ने निर्णय गरेको थियो । तर चौधरीकै प्रभावले गर्दा सन्तुलाई पनि कांग्रेसले टिकट दियो । सन्तुले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर यादवलाई समर्थन गर्ने घोषणा नगर्ने हो भने माओवादीका मतदाताले चौधरीलाई भोट हाल्ने स्थिति नबन्ने अवस्था छ ।

उक्त क्षेत्रमा खनाल र सन्तु कांग्रेसभित्रकै प्रतिस्पर्धी नेता हुन् । प्रतिनिधिसभातर्फ चौधरीले टिकट नपाएको भए खनाल या सन्तुमध्ये एकले टिकट पाउने निश्चित थियो । लामो समयदेखि दुवै नेताको पार्टीको स्थानीय संगठनमा अन्तरसंघर्ष रहँदै आएको छ ।

आरजुलाई प्रभावमा लिएर नवलपरासी १ को टिकट चौधरीले हत्याएपछि खनाल र सन्तु दुवै जिल्ल परे । दुवै नेताबीच अन्तरसंघर्ष हुने गरेको थाहा पाएका चौधरीले सन्तुलाई च्याप्प समाते । प्रदेशको टिकट दिलाए । सन्तुको समर्थनमा चुनाव जित्ने र खनाललाई राजनीतिबाट नै पाखा लगाउने रणनीति अख्तियार गरेका चौधरीले माओवादी फ्याक्टर अझै बुझ्न सकेका छैनन् ।

यता हालसालै जनता प्रगतिशील पार्टी निर्माण गरेर 'कोदालो बोकेको किसान' चिह्नमा निर्वाचन लड्न लागेका हृदयेश त्रिपाठीलाई नेकपा एमालेले समर्थन गरेको छ ।

त्रिपाठी भने त्यो क्षेत्रको कांग्रेसभित्रको अन्तरसंघर्ष र माओवादी फ्याक्टर राम्रोसँग प्रयोग गर्ने दाउमा छन् । त्यहाँका करीब १५ प्रतिशत मुस्लिम मतदातामध्ये अधिकांश माओवादी केन्द्रमा आबद्ध छन् । सन्तुलाई ब्याक नगरे माओवादीले हृदयेश रोज्ने, सन्तुलाई ब्याक गरे सन्तुका मतदाताले आफूलाई नपत्याउने दोहोरो चेपुवामा चौधरी परेका छन् ।   

नवलपरासी क्षेत्र नम्बर १ मा बाटोघाटोको समस्या लगभग छैन । बिजुलीबत्ती र खानेपानी पनि त्यहाँको प्राथमिकता होइन । उद्योग कलकारखाना खोलिदिने र रोजगारी दिने प्रलोभन दिँदै हिंडेका चौधरीले त्यहाँका स्थानीय जनता सजिलै आफ्नो पक्षमा आउने आंकलन गरेका छन् ।

तर फिल्डमा गएर बुझ्दा मतदाताको प्राथमिकता उद्योगधन्दा र रोजगारीमा पनि छैन । उद्योग खोल्दा आफ्नो जमिन अधिग्रहणमा पर्ने, त्यसले प्रदुषण निम्त्याउने डर स्थानीयलाई छ । त्यसैले पनि चौधरीको यो ट्रिकले काम गर्ने देखिन्न ।

कतिपय मतदाताले चौधरीले बोरा-बोरामा पैसा ल्याएर दिने र खान पाइने आश राखेका छन्, जुन सम्भव छैन । त्यसकारण पनि चौधरीको पक्षमा माहोल बन्न कठिन देखिन्छ ।

तर काठमाडौँबाट बाहिर ननिस्कने सञ्चारमाध्यमहरूलाई प्रयोग गरेर चौधरीले त्यहाँ आफ्नो माहोल सिर्जना भएकाले सहजै चुनाव जित्ने आंकलनसहितका समाचारहरू लेख्न लगाउने गरेका छन् । स्थानीय अन्तरविरोध हल गर्ने भन्दा पनि सेलिब्रेटी उम्मेदवार बनेर पार्टीलाई भन्दा आफ्नो व्याक्तित्वलाई बढी प्रयोग गर्नु चौधरीका लागि घातकसिद्ध हुने स्थानीय नेताहरू बताउँछन् ।  

यद्यपी चौधरीको पक्षमा उभिनेहरूले चुनाव आउन अझै समय रहेको र त्यतिबेलासम्म चौधरीले चारैतिर व्यवस्थापन गरिसक्ने दाबी गर्छन् । चौधरीको सचिवालयका एक सदस्यले बिजपाटीसँग भने, 'त्यहाँको स्थानीय समस्या पनि हामीलाई थाहा छ, असन्तुष्टहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने पनि थाहा छ । सबै समयमै म्यानेज हुन्छ ।' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved