यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि
र प्रदेश सभाको निर्वाचनमा देखिएको अनपेक्षित र मिश्रित परिणामले सत्तारूढ गठबन्धनको
अबको सहयात्रा जोखिममा पर्ने देखिन्छ ।
प्रारम्भिक मतपरिणामले यसअघिको सीट
संख्या जोगाउने उद्देश्यका साथ नेपाली कांग्रेससँग गठबन्धन गरेको माओवादी
केन्द्रको अपेक्षामा तुषारापात गरिदिएको छ । त्यस्तै एमालेबाट विभाजित भए बनेको नेकपा
एकीकृत समाजवादीले पनि गठबन्धनबाट अपेक्षित लाभ हासिल गर्न सकेको छैन । चुनावको
अन्तिम परिणाम अझै नआएको भएपनि नेकपा एस राष्ट्रिय पार्टी हुन गाह्रो छ ।
त्यस्तै गठबन्धनमा आबद्ध राष्ट्रिय
जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मात्र अग्रता लिएका छन् । जनता समाजवादी
पार्टी बाहिरिएपछि गठबन्धनमा भित्रिएको लोकतान्त्रिक समाजवादी पार्टीले पनि
राष्ट्रिय पार्टीको मान्यता नपाउने प्रारम्भिक मत परिणामले देखाएको छ ।
केही महिनाअघि मात्र गठित राष्ट्रिय
स्वतन्त्र पार्टीले संसदमा बलियो उपस्थिति देखाउने सम्भावना बढिरहेका बेला आगामी सत्ता
गठबन्धन क-कसको बीचमा हुन्छ भनेर भन्न गाह्रो छ । तर राजनीतिक दलहरूको यसअघिको
प्रवृत्ति हेर्दा कतिपय अनुमान भने लगाउन सकिन्छ ।
सम्भावना १ - पुनः वामगठबन्धन, प्रतिपक्षमा कांग्रेस
२०७४ सालको निर्वाचन भन्दा अगाडि
तिक्ततापूर्ण सम्बन्ध रहेका एमाले र माओवादीबीच रातारात चुनावी तालमेल भएको थियो ।
कांग्रेसलाई संसदमा रोक्ने रणनीतिस्वरूप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
'प्रचण्ड' र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच
भएको सहमतिका कारण दुवै पार्टी एक भएर तीन वर्ष भन्दा बढी मिलिजुली सत्ताको स्वाद चाखे
। तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि एकता टिक्न सकेन । माओवादी र
एमाले अलग भए भने एमाले थप विभाजित भयो ।
अब आउने परिणामले कांग्रेस या एमाले
दुवैको बहुमत पुग्ने नदिने निश्चित छ । यस्तो अवस्थामा ओली र प्रचण्डको पहलमा
उपेन्द्र यादव नेतृत्वको जसपासमेतलाई सहभागी गराउने गरी सत्ता गठबन्धनको खाका बन्न
सक्छ । वाम एकताको पक्षमा नरहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार र
महासचिव शंकर पोखरेलको कमजोर पर्फर्मेन्सले यसको संकेत पनि गरिसकेको छ ।
रुपन्देहीबाट विष्णु पौडेल निर्वाचित
भए भने पुनः वाम गठबन्धनको आधार अझ बलियो हुन्छ । पौडेल तत्कालीन नेकपाका महासचिव
थिए भने ओली र प्रचण्ड दुवैसँग निकट सम्बन्ध रहेका नेता हुन् । वाम गठबन्धन भएको
अवस्थामा पहिलो पार्टी भएर पनि कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने हुनसक्छ । अनि
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो तर निर्णायक
शक्तिको रूपमा संसदमा उपस्थित हुनेछन् ।
सम्भावना २ : कांग्रेस नेतृत्वको
गठबन्धन
कांग्रेस पहिलो पार्टी बन्ने निश्चित
जस्तै छ तर अपेक्षित सीट भने आउने देखिन्न । बहुमत पुर्याउनका लागि राप्रपा, रास्वपा र अन्य दलहरूको साथ कांग्रेसलाई चाहिन
सक्छ । माओवादी केन्द्रसँग मात्र मिलेर पनि कांग्रेसले सरकार बनाउन नसक्ने स्थिति
प्रारम्भिक मतपरिणामले देखाएको छ ।
कांग्रेसले गठबन्धनमा घात गरेको आरोप
माओवादी केन्द्र र नेकपा एसका कतिपय नेताहरूले लगाइसकेका छन् । त्यसैले देउवा र
प्रचण्डको सहयात्रामा ब्रेक लाग्ने देखिन्छ । कांग्रेसले दुई कम्युनिस्ट शक्तिहरूबेगर
पनि रास्वपा र राप्रपासँग मिलेर सरकार बनाउन कठीन छ तर असम्भव भने छैन । यसो हुँदा
एमाले प्रमुख प्रतिपक्षी दल बन्नेछ ।
सम्भावना ३ : प्रचण्ड प्रधानमन्त्री
चुनावी अभियानका क्रममा प्रचण्डले
आफू प्रधानमन्त्री बन्ने भन्दै धेरै ठाउँमा सम्बोधन गरेका थिए । माओवादीको कमजोर
पर्फर्मेन्सले त्यो सम्भावनालाई क्षीण बनाएको छ भने असम्भव पनि देखिन्न ।
कांग्रेसले प्रचण्डलाई नै
प्रधानमन्त्री मानेको खण्डमा पनि अन्य दलहरूको पोजिसन के हुन्छ भन्ने अहिले नै
भन्नु हतार हुन्छ । तर कांग्रेसभित्र गगन थापा र विश्वप्रकाशको उदय हुनु, माओवादीप्रति रास्वपाका रवि लामिछाने अनुदार
हुनु, गठबन्धनका दलहरूबीच विश्वासको संकट
आउनु, राप्रपासँग माओवादीको सैद्धान्तिक मतभेद जस्ता विषयहरूले प्रचण्डको
प्रधानमन्त्री बन्ने चाहनालाई कमजोर बनाएका छन् ।
यद्यपी ओलीसँग समझदारी बनेमा प्रचण्ड
एमालेको सहयोगबाट पनि प्रधानमन्त्री बन्न सक्छन् । पुनः वामगठबन्धनको सम्भावना
रहेपनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार हुनुपर्छ । निर्वाचनको अन्तिम
परिणाम आएपछि मात्र सत्ता रणनीति बनाउने पर्खाइमा एमाले देखिन्छ ।
सम्भावना ४ : रवि र गगनको गठबन्धन
बलियो मतान्तरले काठमाडौँ ४ बाट
निर्वाचन जितेका गगन थापाले यसअघि नै आफू कांग्रेसको संसदीय दलमा भिड्ने र
प्रधानमन्त्री बन्न प्रयास गर्ने बताइसकेका छन् । कांग्रेसभित्र विश्वप्रकाश, प्रदीप पौडेल जस्ता नेताहरूको उदयले गगनको यो
चाहनालाई बलियो गरी कार्यान्वयन गर्न सहयोग पुर्याउछ ।
तर पार्टीभित्र सभापति शेरबहादुर
देउवाको प्रभाव कम छैन । गगनले यो अवस्थामा बाहिरी दलको समर्थन आफूलाई भएको
देखाउनु पर्नेछ र संसदीय दलको निर्वाचनलाई प्रभावित पार्ने रणनीति लिनुपर्ने
हुनसक्छ । नयाँ युवापुस्ताले प्रधानमन्त्री देख्न चाहेका गगन थापाले राष्ट्रिय
स्वतन्त्र पार्टी र अन्य दललाई आफ्नो पक्षमा लिए मात्र उनको प्रधानमन्त्री बन्ने
चाहना साकार हुन सक्छ ।
रास्वपासँग मिल्दा पनि बहुमत आउने
परिस्थिति नभएको अवस्थामा गगनले अन्य दलहरूलाई पनि सँगै लिएर हिंड्न सक्ने खुबी
देखाउनुपर्नेछ ।
सम्भावना ५ : सरकार नै बन्न नसक्ने
स्थिति र संसद विघटन
संविधानको धारा ७६ मा सरकार बन्ने प्रावधानहरूको
बारेमा चर्चा गरिएको छ । उपधारा १ मा बहुमत प्राप्त दलको संसदीय दलको नेता
प्रधानमन्त्री बन्न सक्ने उल्लेख गरिएको छ, प्रारम्भिक
मतपरिणामले देखाएको नतिजा त्यस्तो हुनेछैन ।
अब सरकार निर्माणको प्रकृया स्वतः
दोस्रो उपधारामा प्रवेश गर्छ । दुई वा दुईभन्दा बढी दलको समर्थनका बहुमत प्राप्त
गर्न सक्ने व्यक्तिलाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउन सक्ने प्रावधान दोस्रो
उपधारामा छ । संसदमा रहेका दलहरू मिल्न नसकेको अवस्थामा राष्ट्रपतिले सबैभन्दा
ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाएर एक महिनाभित विश्वासको मत लिन संसद पठाउन
सक्नेछिन् ।
तर दलहरूबीच आउन सक्ने सम्भावित किचलोका
कारण उपधारा ५ अन्तर्गत बहुमत प्राप्त गर्न सक्ने पर्याप्त आधारसहित कुनै एक संसद
सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने प्रावधान कार्यान्वयन हुन सक्छ । सो संसद
सदस्यले पनि एक महिनाभित्र विश्वासको मत लिन नसकेमा संसद विघटन हुन सक्ने प्रावधान
संविधानमा छ ।