
 2mb (1).gif)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा
ओलीसहित १९ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँ ५ बाट नेपाली
कांग्रेसका प्रदीप पौडेलसँग हार बेहोरेका छन् । अध्यक्ष ओली भने झापा ५ बाट भारि
मतान्तरका साथ कांग्रेसका खगेन्द्र अधिकारीमाथि जित हासिल गरेका छन् ।
उपाध्यक्षमध्ये अष्टलक्ष्मी शाक्यले यसपालि
निर्वाचन नलड्ने घोषणा नै गरेकी थिइन् । त्यस्तै अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे
चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालभन्दा निकै पछाडि छन्
। ढकालले उनलाई ८ हजार भन्दा बढी मतले पछाडि छोडेका छन् ।
अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ
इलाम २ मा झिनो मतले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर
खड्काले ७ हजार १२१ मत ल्याउँदा नेम्वाङले ७ हजार ५७९ मत ल्याएका हुन् । यहाँ कडा
प्रतिस्पर्धा हुने ठानिएको छ ।
एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेलले
रुपन्देही २ मा राष्ट्रिय स्वतन्त पार्टीका गणेश पौडेललाई ८ सय मतले पछाडि छोडेका
छन् । यहाँ पनि पौडेलद्वयबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
उपाध्यक्ष युवराज ज्ञवाली प्रत्यक्ष
चुनाव लडेका छैनन् भने पूर्व माओवादी नेता रामबहादुर थापा पनि निर्वाचनको लडाईमा
छैनन् । उनलाई चितवनबाट प्रत्यक्षमा लडाउने तयारी भएको भएपनि अन्तिम अवस्थामा उनले
चुनाव नलड्ने निर्णय लिएका थिए ।
महासचिव शंकर पोखरेलले दाङ २ मा पराजय भोगेका छन् । नेकपा माओवादी केन्द्रकी रेखा शर्माले उनलाई करीब २ सय मतको झिनो अन्तरले पराजित गरेकी हुन् ।
उपमहासचिवमध्ये प्रदीप ज्ञवाली
गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारीसँग प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा भण्डारीले
१ हजार मतले ज्ञवालीलाई पछि छोडेका छन् ।
त्यस्तै अर्का उपमहासचिव पृथ्वीसुब्बा
गुरुङ लमजुङबाट माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गरेका छन् भने
विष्णु रिमाल यसपालि प्रत्यक्ष चुनाव लडेनन् ।
एमालेका ७ सचिवमध्ये गोकर्ण बिष्टले
गुल्मी २ बाट बिजय हासिल गरे । उनले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई
हराएका हुन् । योगेश भट्टराई ताप्लेजुङबाट बिजयी भएका छन् । उनले माओवादी
केन्द्रका खेलप्रसाद बुढाथोकी २०८ मतले पराजित गरेका हुन् ।
त्यस्तै स्याङ्जा २ मा हालसम्म पनि
मतगणना हुन सकेको छैन । यहाँ एमालेकी सचिव पद्मा अर्याल र नेपाली कांग्रेसका
उपसभापति धनराज गुरुङको कडा प्रतिस्पर्धा हुने ठानिएको छ । तर चापाकोट नगरपालिकाका
४ वटा बुथ कांग्रेसले कब्जा गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेका कारण
मतगणनामा ढिलाई भएको हो ।
सचिवमध्ये छबिलाल विश्वकर्माले
रुपन्देही १ मा घनश्याम भुसाललाई पछि पारेका छन् । भुसाललाई एमालेले टिकट नदिएपछि
त्रिभुज चिह्न लिएर लडेका थिए । उनलाई गठबन्धनको समर्थन प्राप्त छ । बिश्वकर्माले
७ हजार १८० मत ल्याउँदा भुसालले जम्मा ५ हजार ८१९ मत प्राप्त गरेका छन् ।
माओवादीबाट एमालेमा गएका लेखराज
भट्टले कैलाली ४ मा हार बेहोरेका छन् । उनी नेपाली कांग्रेसका बीरबहादुर बलायरसँग
४ हजार भन्दा बढी मतले हारेका हुन् ।
अर्का सचिव टोपबहादुर रायमाझीले भने
अर्घाखाँचीबाट जित निकालेका छन् । उनले नेपाली कांग्रेसकी पुष्पा भुसाललाई करीब १८
सय मतले हराएका हुन् । एमालेमा गएका पूर्व माओवादी नेताहरूमध्ये रायमाझी एकमात्र
बिजयी उम्मेदवार हुन् ।
त्यस्तै सचिव रघुवीर महासेठले धनुषा
४ मा अग्रता गुमाएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवले २ सय मतले त्यहाँ
अग्रता लिइरहेका छन् ।